काठमाडौँ /९ भदौ – आजकल फेसबुकको कुनै पनि पोस्ट, प्रोपोजल, सूचना, वा सामान्य म्यासेज हेर्दा पनि एउटा आकर्षक परिवर्तन देखिन्छ । सबै जना एकाएक ठूला लेखक वा साहित्यकार भइसकेका छन् । यस्ता चिटिक्क परेका लेखाइहरू अब व्यावसायिक कार्यालयमा मात्र र व्यावसायिक लेखक माझ मात्र सीमित छैनन् । यी सिधै हाम्रा नानीबाबुहरु झोला र गृहकार्यसम्मै आइपुगेका छन् ।
काठमाडौँ वा नेपालको जुनसुकै शहर या कुनामा बस्ने अभिभावकले पनि यो आधुनिक सीपको प्रयोग देखिसक्नु भएको होला । विद्यार्थीले कुनै निबन्ध यति राम्रोसँग लेखिएको हुन्छ कि मानौँ त्यसलाई कुनै ठूलो लेखकले लेखेको हो जस्तो, तर त्यो ५ मिनेटमै तयार भइसकेको हुन्छ । त्यो पनि २० मिनेट अघिसम्म कलम हरायो भनेर जिद्दी गरिरहेको बच्चाले । तपाईँ त्यो कपी पल्टाएर हेर्नुहुन्छ, शिक्षकले सारै राम्रो लेखेको पनि देख्नुहुन्छ । त्यसपछि जब तपाईँ आफ्नो नानीलाई त्यसबारे एउटा सामान्य प्रश्न सोध्नु हुन्छ, उनीहरू टुलुटुलु हेरि मात्र रहन्छन्, केही बताउन सक्दैनन् । उनीहरूले त्यो आफैँ लेखेका हुँदैनन्, बरु एआईबाट छानेर निकालेका मात्र हुन्छन् ।
त्यसोभए, के हामीले आत्तिएर आफ्नो वाइफाइ राउटरलाई नै फ्याँक्नुपर्ने हो त ? यस प्रश्नमा गम्भीर बनौँ, यो सिधै “एआईलाई प्रतिबन्ध लगाउने कि नानीबाबुहरूलाई पूरै छाडिदिने“ भन्ने मात्रै सवाल होइन । यो त “एआईले कुन बेला सिकाइमा मद्दत गर्छ“ भन्ने कुरा बुझ्ने पाटो हो ।
कक्षा कोठाको यथार्थ
नेपालका कक्षा ६–७ देखी माथिका कक्षाकोठामा भइरहेको एउटा रमाइलो कुरा हेरौँ । एक जना लगनशील शिक्षक कक्षाकोठामा उभिएर विद्यार्थीहरूबिच राम्रो बहस होस् वा गहिरो सोचाइको विकास होस् भनेर केही रोचक प्रश्न सोध्नुहुन्छ । उहाँले एउटा विचारोत्तेजक कुरा राख्नुहुन्छ । तर उहाँले के पाउनुहुन्छ कक्षामा ? पूर्ण रूपमा सन्नाटा ! यदि कोही साहसी विद्यार्थीले मुख खोलेर उत्तर दिहाले पनि, त्यो एकदमै छोटो र सजिलो उपाय खोज्ने पाराको हुन्छ । “सर÷म्याडम, हामीलाई लामो कुरा चाहिँदैन, सिधै छोटो उत्तर भनिदिनुहोस् न वा बुँदागत रूपमा उत्तर दिनुहोस्, कुनै सजिलो तरिका सिकाइदिनुहोस्, अनि छुट्टी दिनुहोस् न त” उनीहरूको मुहारको भाकाले यस्तै कुरा बोली रहेको हुन्छ । जब एउटा मेसिनले ०.४ सेकेन्डमै सबै कुरा छोटकरीमा निकालेर दिन्छ भने, दिमाग खियाएर गहिरो कुराको पछाडि किन लाग्ने ?
हाम्रो अगाडि यस्तो पुस्ता तयार भएको छ जो छिटोभन्दा छिटो काम सक्न खोज्छ । तर के यसमा उनीहरूको मात्रै दोष छ त ? जब आजको डिजिटल संसारले मिहिनेतभन्दा छिटो नतिजालाई मात्र तारिफ गर्छ, तब गहिरिएर सोच्ने बानी कसैलाई मन नपर्ने खेलजस्तो बन्न पुग्छ । भएको यही हो ।
औजारभन्दा पनि यसलाई प्रयोग गर्ने तरिका मुख्य हैन र ?
यसको कुनै डरलाग्दो वा अतिवादी उत्तर फेसबुकका जान्नेसुन्नेहरूले होइन, एउटा वैज्ञानिक प्रयोगशालाको प्रयोगले दिएको छ । सन् २०२५ मा Massachusettes Institute of Technology (MIT) को मिडिया ल्याब का अनुसन्धानकर्ताहरूले ५४ जना विद्यार्थीमाथि महिनौं लगाएर एउटा परीक्षण गरे जसको शिक्षा वृत्तमा व्यापक छलफल भयो । उनीहरूलाई तीनवटा तरिकाबाट निबन्ध लेख्न लगाइयो । च्याटजीपीटी चलाएर, सर्च इन्जिन चलाएर र कुनै पनि प्रविधि प्रयोग गर्न नदिई आफ्नै दिमाग लगाएर । यो सबै प्रक्रियाका क्रममा उनीहरूको मस्तिष्कको गतिविधि कैयौँ महिनासम्म जाँच गरिएको थियो । च्याटजीपीटी चलाउनेको उत्तर उत्कृष्ट आएपनि दिमागी मापनमा हेर्दा
१) आफैँ लेख्नेहरूको दिमाग : जसले पूर्ण रूपमा आफ्नै दिमाग लगाएर लेखे, उनीहरूको स्मरण शक्ति र नयाँ विचार निकाल्ने क्षमतासँग जोडिएको मस्तिष्कको भाग सबैभन्दा सक्रिय र बलियो देखियो। दूरगामी फाईदा ।
२) सुरुदेखि नै एआईको सहारा लिनेहरूको दिमाग : जसले सुरुदेखि नै च्याटजीपीटीको भर परे, उनीहरूमा मानसिक सक्रियता निकै कम देखियो। पछि आफ्नै निबन्धबारे सोध्दा उनीहरूले के लेखेको थिएँ भनी सम्झन वा बुझाउन सकेनन् । बाहिरबाट हेर्दा उनीहरूले लेखेको निबन्ध एकदमै चिटिक्क र राम्रो देखिए पनि, उनीहरूलाई त्यसप्रति आफ्नोपनको कुनै महसुस भएन ।
३) दुवैको मिसावट : जसले पहिले आफैँले कच्चा रूपमा भए पनि प्रयास गरेर लेखे र त्यसपछि मात्र एआईलाई सच्याउन वा मिलाउन प्रयोग गरे, उनीहरूको दिमागको सक्रियता अध्ययनमा सामेल सबैभन्दा बढी बलियो पाइयो ।
कुरा प्रस्ट छ : काम गर्ने क्रम (क्भत्रगभलअभ) नै ठूलो कुरा हो । नानीबाबुले पहिले आफैँले सङ्घर्ष गरेर तयार पारेको कुरालाई चेक गर्न वा अझ राम्रो बनाउन एआई प्रयोग गर्नु र सुरुमै ठाडै एआईमा टाइप गरेर तयार पारिएको पहिलो मस्यौदा निकाल्नु दुई बिलकुलै भिन्न मानसिक क्रियाकलाप हुन् ।
विदेशका अनुभव प्रविधिमा अगाडि बढेका देशहरूले किन पछाडि फर्केर हेर्दैछन् ?
प्रविधिको प्रयोगमा सबभन्दा अगाडि रहेका देशहरूले नै आज स्क्रिन र प्रविधिलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्। नेपालले अन्धाधुन्ध रूपमा विद्यालयहरूमा सोसल मिडिया, एआईलाई बिना नियम र न्यूनतम एकरूपता ल्याउनु÷भित्र्याउनु अघि यो कुरा विचार गर्नु बुद्धिमानी हुन्छ ।
१) स्वीडेन : स्वीडेनले करिब दुई दशकसम्म आफ्ना विद्यालयहरूलाई पूर्ण डिजिटल बनायो । प्रत्येक विद्यार्थीलाई ट्याब्लेट वा ल्यापटप दियो, किताबहरू विस्थापित गरियो । तर यसले गर्दा नानीबाबुहरूको पढाइको स्तर खस्किएको पाईयो । त्यसपछि स्वीडेन सरकारले कडा निर्णय गर्दै किताब कापिमा फर्कियो ।
२) विश्वव्यापी लहर : अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन पूर्ण प्रतिबन्ध लगाउने कानुन लागु ग¥यो । फ्रान्सले १५ वर्ष मुनिका लागि सामाजिक सञ्जाल चलाउन रोक लगायो र उच्च माध्यमिक विद्यालयहरूमा फोन निषेध ग¥यो ।
प्रख्यात बाल मनोवैज्ञानिक जोनाथन हाइट का अनुसार, समाजले सामाजिक सञ्जालले नानीबाबुहरूको मानसिक स्वास्थ्यमा पारेको नकारात्मक असर बुझ्न १५ वर्ष लगायो, तर आर्टिफिसियल इन्टेलिजेन्सले बालबालिकाको दिमागमा पार्ने असर त्योभन्दा धेरै छिटो देखिँदैछ भनेर एआई र सामाजिक सञ्जाल प्रयोगको बारेमा निरन्तर सचेत गराई रहनु हुन्छ ।
नेपाली परिवारहरूले सोच्नुपर्ने समानता र पहुँचको पाटो
काठमाडौँका केही सुविधासम्पन्न ठाउँहरूमा ८ वर्षको बालकसँग च्याटजीपीटी प्रयोग गर्ने विषयलाई लिएर बहस हुनुलाई ठूलै बौद्धिक बहसको विषय बनाइन्छ । तर यथार्थमा फर्किऔंः यो नेपालको धेरैजसो ठाउँका लागि एउटा सुखी मानिसको समस्या मात्र हो ।
एकातिर सरकारले दश हजार सामुदायिक विद्यालयहरूमा उच्च गतिसहितको इन्टरनेट र एआई प्रविधि पु¥याउने कुरा गरिरहेको छ, जुन भर्खर सुरु हुँदैछ । अर्कोतिर सहरका बालबालिका बिना कुनै नियमन एआई प्रविधि चलाइरहेका छन्, तर ग्रामीण भेगका धेरै सामुदायिक विद्यालयहरूमा बिजुली, राम्रो इन्टरनेट वा कम्प्युटर नै छैन । नेपालमा यो प्रविधिको खाडल मन्त्रालयको कागजातमा होइन, हामीले यस बारेमा कस्तो ध्यान दिएका छौँ भन्ने कुरामा देखिन्छ ।
तपाईँ आफ्नो नानीले एआई धेरै चलायो भनेर चिन्तित हुनुहुन्छ भने, यो चिन्ता धेरै नेपाली परिवारले अझै भोग्न पाएका छैनन् । तर, अहिले घरमै नानीबाबुहरूले जुन बानी बसाल्छन्, त्यसैले उनीहरूको भविष्यको सोचाइ तय गर्नेछ ।
नेपाली अभिभावकहरूका लागि केही मार्गदर्शन
यसका लागि तपाईँले कम्प्युटर इन्जिनियर बन्नुपर्दैन । यी केही सरल नियमहरू दिमागमा राख्नुहोस् :
१. पहिले आफैँ सोच्नुहोस्, एआईलाई पछि सोध्नुहोस् : घरमा कडा नियम बनाउनुहोस् । तपाईँको बच्चाले पहिले खाली पानामा आफैँले प्रयास गर्नुपर्छ, गल्ती गर्नुपर्छ, नराम्रै भए पनि पहिलो प्रयास आफैँले लेख्नुपर्छ । त्यसपछि मात्र एआईको मद्दत लिएर त्यसलाई सच्याउन वा परिमार्जन गर्न पाइनेछ ।
२. गृहकार्यमा गरिने मिहेनत हेर्नुहोस् : कुनै होमवर्क जुन गर्न एक घण्टा लाग्थ्यो, त्यो १० मिनेटमै जादूझैँ सकिन्छ र बच्चाले त्यसमा लेखेको एउटा वाक्य पनि आफ्नै शब्दमा बुझाउन सक्दैन भने, बुझ्नुपर्छ कि काम बच्चाले होइन मेसिनले गरेको हो । यसलाई अदालतले जस्तो कडा सजाय दिने विषय नबनाई, मायालु ढंगले सम्झाउने मौका बनाउनुहोस् ।
३. उमेर अनुसार छुट्याउनुहोस् : साना नानीबाबुहरूलाई (विशेष गरी आधारभूत तहसम्म) किताब समाउने, हातले लेख्ने र आधारभूत हिसाब आफैँ गर्ने बानी बसाल्नुपर्छ । छिटो सानै उमेरमा ग्याजेट समाउँदैमा केही ठुलै कुरा हासिल हुन्छ भन्ने छैन ।
४. आफैँ पनि राम्रो बानी बसाल्नुहोस् : नानीबाबुहरूले अभिभावकको बानी छिटो टिपोट गर्छन् । हामी ठूला मान्छेहरू नै कुनै गाह्रो काम वा इमेल पर्ने बित्तिकै सजिलोका लागि सधैँ एआईको सहारा लिन्छौँ भने, उनीहरूले हाम्रा कुरा होइन, हाम्रै कामको नक्कल गर्नेछन् ।
निष्कर्ष
नानीबाबुको होमवर्कमा एआई आउनु कुनै प्रलयकारी संकट होइन यो समयले दिएको उपहार तथा यथार्थ हो, तर यो बेवास्ता गर्न मिल्ने किसिमको सामान्य कुरा मात्र पनि होइन । स्विडेन वा अस्ट्रेलियाभन्दा हामी अलि पछि एआई युगमा प्रवेश गरेका हौंला, जुन हाम्रो लागि एउटा ठूलो फाइदा होः अरू देशहरूले गल्ती गरेर जुन कुरा सिके, हामीले ती गल्ती आफैँ दोहो¥याउनु पर्छ भन्ने होइन, उनीहरूको अनुभवबाटै सिकेर अघि बढ्न सक्छौँ । नानीबाबुहरूलाई आफैँ सोच्ने मीठो र सिर्जनात्मक मिहिनेत गर्न उन्मुख गराऔँ । आखिर, कसैको लेखाइलाई कपी–पेस्ट गरेर बलियो दिमाग कहिल्यै बन्दैन; दिमाग त गल्ती गर्दै, आफैँ सङ्घर्ष गर्दै सिक्ने क्रममा मात्र बलियो हुन्छ ।
(लेखक कुमार थापा शिक्षक तथा प्रशिक्षक हुन)



