विद्यार्थीको आवाज कहाँ छ ?

बर्दिया/८ भदौ-नेपालको शिक्षा प्रणालीलाई आगामी पुस्ताको भविष्यसँग जोडेर हेर्ने हो भने अहिले भइरहेको शिक्षा बहसलाई केवल शिक्षकका सेवा–सर्त, सुविधा र पेशागत समस्यामा सीमित गरेर पुग्दैन। शिक्षकका समस्या वास्तविक छन्, गम्भीर छन् र तिनको समाधान आवश्यक छ । तर शिक्षा शिक्षकको मात्र विषय होइन । शिक्षा विद्यार्थीको जीवन, परिवारको भविष्य, समाजको चरित्र र अन्ततः राष्ट्रको दिशासँग जोडिएको विषय हो ।


त्यसैले शिक्षा विधेयकमाथिको बहसमा शिक्षकसँगै विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय सरकार, शिक्षा विज्ञ र अन्य सरोकारवालाको आवाज पनि उत्तिकै महत्त्वका साथ सुनिन आवश्यक छ ।


केही शिक्षक अगुवाहरू शिक्षकका गुनासा, समस्या र वास्तविक अवस्था बुझ्ने उद्देश्यले देशका विभिन्न ठाउँमा पुगिरहनु भएको छ । शिक्षा क्षेत्रका समस्या काठमाडौँका बैठक, गोष्ठी र कागजी प्रतिवेदनबाट मात्र बुझिँदैनन् विद्यालयमै पुग्नुपर्छ । शिक्षकसँग कुरा गर्नुपर्छ, अभिभावकको अनुभव सुन्नुपर्छ र सबैभन्दा महत्वपूर्ण—कक्षाकोठामा बसेका विद्यार्थीको आवाज सुन्नुपर्छ ।


यही क्रममा सुदूरपश्चिममा आयोजित एक छलफलमा माननीय शिक्षा मन्त्रीज्यूले उठाउनु भएको एउटा विषयले मेरो ध्यान विशेष रूपमा तान्यो—शिक्षकहरूले आफ्ना समस्या र मागहरू राखे, तर “विद्यार्थीको कुरा कसैले पनि उठाएन ।”


यो सामान्य टिप्पणी होइन, यो अहिलेको शिक्षा बहसकै केन्द्रमा राखिनुपर्ने प्रश्न हो । आखिर हामीले बनाउन खोजिरहेको शिक्षा प्रणाली कसका लागि हो ?
शिक्षकका लागि मात्र ?
प्रशासनका लागि ?
परीक्षाका लागि ?
कि आज कक्षाकोठामा बसेर भोलिको नेपाल निर्माण गर्ने विद्यार्थीका लागि ?


यही प्रश्नले मलाई पनि आफ्नै शिक्षण अनुभवतर्फ फर्केर हेर्न बाध्य बनायो । मैले विभिन्न विद्यालयमा अध्यापन गर्ने क्रममा विद्यार्थीका सिकाइ समस्या, उनीहरूको मनोविज्ञान, जिज्ञासा, क्षमता, कमजोरी र विद्यालयप्रतिको अपेक्षालाई नजिकबाट देख्ने अवसर पाएको छु । त्यसैले आज मैले मेरो मनले छोएको एउटा कुरा भन्न चाहन्छु ।


यदि हामीले वास्तवमै नेपालको सार्वजनिक विद्यालय सुधार गर्ने हो भने, शिक्षा सुधारको केन्द्रमा विद्यार्थीलाई राख्नुपर्छ । र त्यो सुधारको सबैभन्दा बलियो सुरुवात इसिडी देखि कक्षा ५ सम्मको जगलाई असाधारण रूपमा मजबुत बनाएर गर्नुपर्छ ।


शिक्षा सुधारको वास्तविक सुरुवात कहाँबाट गर्ने ?


नेपालको विद्यालय शिक्षा आधारभूत र माध्यमिक तहमा संरचित छ । आधारभूत तह कक्षा इसिडीदेखि ८ र माध्यमिक तह कक्षा ९ देखि १२ सम्म भए पनि बालबालिकाको सिकाइको जग निर्माण हुने प्रारम्भिक चरणलाई हामीले विशेष संवेदनशीलताका साथ हेर्नुपर्छ । इसिडीदेखि कक्षा ५ सम्मको समय बालबालिकाको जीवनको अत्यन्त महत्वपूर्ण चरण हो । यही उमेरमा भाषा विकास, संज्ञानात्मक क्षमता, सामाजिक व्यवहार, आत्मविश्वास, जिज्ञासा, सिर्जनशीलता र सिक्ने बानीको आधार तयार हुन्छ ।


बालबालिकाले यही उमेरमा “म सक्छु” भन्ने आत्मविश्वास सिक्छन् वा “म सक्दिनँ” भन्ने मनोविज्ञान बोकेर अघि बढ्छन् । त्यसैले कक्षा १० वा कक्षा १२ को नतिजा मात्र हेरेर सार्वजनिक शिक्षाको अवस्था मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन । प्रश्न त्यसभन्दा धेरै अगाडिबाट सुरु हुन्छ । बालबालिका विद्यालय प्रवेश गर्दा उसले कस्तो वातावरण पाउँछ ? उसले पर्याप्त पोषण पाएको छ कि छैन ? उसले खेल्दै, प्रयोग गर्दै, प्रश्न गर्दै र आफ्नै अनुभवबाट सिक्न पाएको छ कि छैन ? कक्षाकोठामा आवश्यक पुस्तक तथा शैक्षिक सामग्री छन् कि छैनन ? शिक्षकसँग प्रत्येक बालबालिकालाई बुझेर सिकाउने पर्याप्त समय, सीप र स्रोत छ कि छैन ? यी प्रश्नको उत्तर नखोजी हामी कक्षा १० को नतिजा सुधार्ने प्रयास मात्र गरिरह्यौँ भने त्यो समस्याको जरा छाडेर हाँगा काट्ने प्रयास हुनेछ ।


दिवा खाजा छ, अब त्यसलाई पोषण कार्यक्रम बनाऔँ । नेपाल सरकारले विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसलाई नकार्नु होइन, अझ प्रभावकारी बनाउनु आवश्यक छ ।


तर व्यवहारमा एउटा प्रश्न उठ्छ । हामीले बालबालिकालाई खाजा दिइरहेका छौँ कि पोषणयुक्त भोजन ? यी दुई कुरा एउटै होइनन् । बालबालिकाको पेट भर्नु र उसको पोषण आवश्यकता पूरा गर्नु फरक विषय हो । विद्यालय दिवा खाजाले बालबालिकाको उमेर र आवश्यकता अनुसार ऊर्जा, प्रोटिन तथा आवश्यक सूक्ष्म पोषक तत्त्वको कमी पूर्ति गर्ने दिशामा काम गर्नुपर्छ । स्थानीय उत्पादन, स्थानीय खाद्य संस्कृति र विद्यालयको वास्तविक अवस्थालाई जोडेर पोषणको स्पष्ट मापदण्ड बनाउन सकिन्छ ।


राज्यले बजेट छुट्याउनु मात्र पर्याप्त हुँदैन । खाजाको गुणस्तर, मात्रा, विविधता र प्रभावको नियमित अनुगमन पनि आवश्यक छ । हामीले विद्यालयमा उपस्थित विद्यार्थीको संख्या मात्र बढाउने होइन, स्वस्थ, सक्रिय र सिक्न तयार विद्यार्थीको संख्या बढाउने लक्ष्य राख्नुपर्छ ।


परीक्षा हटाउनु राम्रो, तर मूल्याङ्कन हटाउनु हुँदैन


शिक्षा सुधारको बहसमा अर्को महत्वपूर्ण विषय हाम्रो परीक्षा प्रणाली हो । प्रारम्भिक कक्षाका बालबालिकालाई परम्परागत, कर्मकाण्डी र डरमा आधारित परीक्षाको बोझबाट मुक्त गर्ने सोच सकारात्मक छ । एकीकृत पाठ्यक्रमले पनि बालबालिकालाई विषयलाई अलग–अलग टुक्रामा कण्ठ गराउने भन्दा अनुभव, गतिविधि र समग्र सिकाइसँग जोड्ने उद्देश्य बोकेको छ ।


तर यहाँ एउटा गम्भीर भ्रम हटाउन आवश्यक छ । परीक्षा नलिनु भनेको मूल्याङ्कन नगर्नु होइन । बरु परम्परागत परीक्षा कमजोर हुँदै जाँदा विद्यार्थीको सिकाइ मूल्याङ्कन अझ वैज्ञानिक र गम्भीर हुनुपर्छ । बालबालिकाले के सिक्यो ? कुन सीप हासिल ग¥यो ? कहाँ कमजोरी छ ? कुन विद्यार्थीलाई थप सहयोग आवश्यक छ ? कुन शिक्षण विधिले अपेक्षित परिणाम दिएको छैन ? यी प्रश्नको उत्तर निरन्तर मूल्याङ्कनबाट खोजिनुपर्छ ।


कक्षा २ को पढाइ र गणितको आधार कमजोर छ भने कक्षा ३ मा नयाँ विषय थपिन्छ । कक्षा ३ को आधार कमजोर छ भने कक्षा ४ मा समस्या अझ गहिरिन्छ । यसरी विद्यार्थी कक्षा ८, १० वा १२ सम्म पुग्दा पुराना कमजोरीहरू ठूलो सिकाइ खाडलका रूपमा देखा पर्न सक्छन् । त्यसैले एउटा कुरा हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ । कक्षा बढ्नु र विद्यार्थीको सिकाइ बढ्नु एउटै कुरा होइन । हामीलाई परीक्षा केन्द्रित शिक्षा होइन, सिकाई केन्द्रीत मूल्यांकन आवश्यक छ । विद्यार्थी कमजोर भयो भनेर दोष लगाउने होइन, उसको कमजोरी पहिचान गरेर समयमै सहयोग गर्ने प्रणाली आवश्यक छ ।


इसिडीदेखि कक्षा ५ राज्यको विशेष प्राथमिकता


मेरो विचारमा सरकारले इसिडीदेखि कक्षा ५ सम्मका विद्यालयका लागि न्यूनतम राष्ट्रिय गुणस्तर मापदण्ड निर्माण गर्नुपर्छ । त्यसमा विद्यार्थीको पोषणदेखि कक्षाकोठाको वातावरणसम्म स्पष्ट मापदण्ड हुनुपर्छ । बालमैत्री फर्निचर, पर्याप्त पुस्तक, खेल सामग्री, गणितीय सामग्री, विज्ञानका प्रयोगात्मक सामग्री, कला तथा सिर्जनात्मक सामग्री, पुस्तकालय, स्वच्छ खानेपानी, सुरक्षित शौचालय, खेल्ने ठाउँ र आवश्यक डिजिटल स्रोतसम्मको व्यवस्था सुनिश्चित गरिनुपर्छ । तर पूर्वाधार र सामग्री मात्र पर्याप्त छैनन् । उत्कृष्ट विद्यालयको केन्द्रमा उत्कृष्ट शिक्षक हुन्छन् ।


त्यसैले शिक्षकलाई पनि त्यही प्राथमिकताका साथ उत्कृष्ट तालिम, निरन्तर पेशागत विकास, सामाजिक सम्मान र मर्यादित पारिश्रमिक दिनुपर्छ । शिक्षकलाई अनावश्यक प्रशासनिक तथा गैरशैक्षिक बोझबाट मुक्त गर्नुपर्छ, ताकि उसको मुख्य समय विद्यार्थीको सिकाइमा केन्द्रित होस् ।


तर यहाँ एउटा अर्को प्रश्न पनि उठ्छ—विद्यालयले मात्र बच्चा बनाउँछ त ?


मेरो अनुभवले भन्छ, बच्चा विद्यालयमा जति सिक्छ, त्यसको ठूलो हिस्सा उसको घरको वातावरण, अभिभावकको व्यवहार र समुदायको चेतनासँग पनि जोडिएको हुन्छ । र यही ठाउँमा हाम्रो शिक्षा बहसमा एउटा महत्वपूर्ण पक्ष छुटिरहेको छ । युरोपको शिक्षा प्रणाली कपी गरेर मात्र नेपाल बदलिन्छ ?


हामी प्रायः भन्छौँ युरोपमा यस्तो हुन्छ, फिनल्यान्डमा यस्तो हुन्छ, जर्मनीमा यस्तो हुन्छ, नर्वेमा यस्तो हुन्छ । त्यहाँ परीक्षा कम हुन्छ, बालबालिकालाई खेल्न दिइन्छ, परियोजनाबाट सिकाइन्छ, शिक्षकलाई बढी स्वतन्त्रता हुन्छ, विद्यार्थीलाई प्रश्न गर्न प्रोत्साहित गरिन्छ । यी अभ्यासबाट हामीले अवश्य सिक्नुपर्छ ।


तर एउटा प्रश्न मैले बारम्बार सोच्ने गरेको छु । के हामीले विद्यालयको प्रणाली मात्र हेरेका छौँ, कि त्यो प्रणालीलाई सम्भव बनाउने समाज पनि हेरेका छौँ ? हामीले युरोपेली विद्यालयको कक्षाकोठा त देख्यौँ, तर त्यहाँको परिवार कस्तो छ ? त्यहाँ अभिभावकले बच्चासँग कसरी कुरा गर्छन् ? बच्चाको असफलतालाई कसरी हेर्छन् ? घरमा पढाइको वातावरण कस्तो हुन्छ ? बच्चालाई निर्णय गर्न कति स्वतन्त्रता दिइन्छ ? शिक्षक र अभिभावकबीचको सम्बन्ध कस्तो हुन्छ ? बच्चाको खेल, रुचि र मानसिक स्वास्थ्यलाई परिवारले कति महत्व दिन्छ ?


यी प्रश्नको उत्तर नबुझी हामीले त्यहाँको शैक्षिक गतिविधि र मूल्याङ्कन प्रणालीलाई मात्र जस्ताको तस्तै नेपालमा ल्यायौँ भने त्यसले अपेक्षित परिणाम नदिन सक्छ । किनकि शिक्षा प्रणाली विद्यालयभित्र मात्र हुँदैन । शिक्षा घर, विद्यालय र समाजको साझा उत्पादन हो । हामीले विदेशी शिक्षा प्रणालीको संरचना त कपी गर्न खोज्यौँ, तर त्यसलाई समर्थन गर्ने सामाजिक चेतना, अभिभावकीय अभ्यास र घरको वातावरण परिवर्तन गर्न सकेनौँ भने सुधार अधुरै रहन्छ । हाम्रो समस्या अभिभावक पनि हुन् कि अभिभावक शिक्षा नपाएको समाज ?
यहाँ मैले अभिभावकलाई दोष दिन खोजेको होइन । बरु प्रश्न अझ गहिरो छ । के हामीले अभिभावकलाई राम्रो अभिभावक बन्न आवश्यक शिक्षा दिएका छौँ ? नेपालमा धेरै अभिभावकले आफूले बाल्यकालमा जे देखे, जे भोगे र जे सिके, त्यही आफ्नो बच्चामा दोहो¥याइरहेका हुन्छन् ।

“हामीलाई पनि यसरी नै हुर्काइएको हो ।”
“बच्चालाई धेरै स्वतन्त्रता दिनु हुँदैन ।”
“अंक नल्याए भविष्य बिग्रन्छ ।”
“अरूको बच्चाले यति ल्यायो, तिमीले किन ल्याएनौ ?”
“शिक्षकले भनेको कुरा मान्नुपर्छ, प्रश्न गर्नु हुँदैन ।”


यस्ता सोचहरू हाम्रो समाजमा अझै असामान्य छैनन् । तर आधुनिक शिक्षा बालबालिकालाई केवल आज्ञाकारी बनाउने शिक्षा होइन । उसलाई सोच्न, प्रश्न गर्न, असफल हुन, फेरि प्रयास गर्न, आफ्नो क्षमता चिन्न र जिम्मेवार निर्णय गर्न सक्ने बनाउने शिक्षा हो । त्यसैले हामीले विद्यालय सुधारसँगै अभिभावक शिक्षालाई पनि शिक्षा सुधारको अभिन्न अंग बनाउनुपर्छ ।


नेपालमा यसतर्फ काम सुरु भइसकेको तथ्य पनि महत्वपूर्ण छ । नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले युनिसेफको सहयोगमा अभिभावक शिक्षा राष्ट्रिय प्याकेज विकास गरेको छ । यसको उद्देश्य अभिभावकलाई बालबालिकाको विकास, सकारात्मक संवाद र हुर्काउन र विकास गर्न अनुकूल वातावरण निर्माणमा आवश्यक ज्ञान तथा सीप प्रदान गर्नु हो ।


यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ । समस्या केवल विद्यालयमा छैन; बालबालिकाको सिकाइ र विकासका लागि घर र विद्यालय दुवैको क्षमता विकास गर्नुपर्ने आवश्यकता राज्यले पनि स्वीकार गरिरहेको छ ।


अनुसन्धानले पनि अभिभावकको भूमिका देखाउँछ


नेपाल सम्बन्धी उपलब्ध तथ्यले पनि अभिभावकीय संलग्नतालाई सामान्य पारिवारिक विषय मात्र मान्न नहुने देखाउँछ । नेपालको आईसिएफ सम्बन्धी विश्लेषणमा घरमा पढ्ने गतिविधि, अभिभावकको विद्यालयसँगको सहभागिता र बालबालिकाको शिक्षासँग जोडिएको अभिभावकीय संलग्नताको सकारात्मक प्रभावबारे अन्तर्राष्ट्रिय अनुसन्धानहरूलाई समेटिएको छ । प्राथमिक तहका बालबालिकामा विद्यालयसँग सम्बन्धित अभिभावकीय सहभागिताको प्रभाव विद्यालयको गुणस्तरबीचका केही भिन्नताभन्दा पनि महत्वपूर्ण हुन सक्ने अनुसन्धान प्रमाणहरू उल्लेख गरिएको छ ।


अझ रोचक कुरा के छ भने नेपालमै गरिएको अभिभावक शिक्षा सम्बन्धी अभ्यासले पनि अभिभावकको सोचमा परिवर्तन सम्भव भएको देखाएको छ । केही कार्यक्रममा अभिभावकले बच्चालाई केवल पढाइ र अनुशासनको दृष्टिले हेर्नेभन्दा संवाद, खेल, भावनात्मक आवश्यकता र सकारात्मक सम्बन्धलाई महत्व दिन थालेका उदाहरणहरू भेटिन्छन् । त्यसैले हामीले अभिभावकलाई “समस्या” भनेर हेर्नुभन्दा शिक्षा सुधारका साझेदारका रूपमा हेर्नुपर्छ ।


नेपाललाई युरोप बनाउन होइन, नेपालको समाजलाई शिक्षित बनाउनुपर्छ


मेरो विचारमा हाम्रो शिक्षा सुधारको लक्ष्य “नेपाललाई युरोपजस्तो बनाउने” हुनु हुँदैन । हाम्रो लक्ष्य हुनुपर्छ । नेपालको समाजलाई अझ चेतनशील, वैज्ञानिक, मानवीय, जिम्मेवार र बालमैत्री बनाउने । हामीले युरोपबाट खेलमा आधारित सिकाइ सिक्न सक्छौँ । विद्यार्थीलाई प्रश्न गर्न सिक्न सक्छौँ । शिक्षकको पेशागत विकासबाट सिक्न सक्छौँ । निरन्तर मूल्याङ्कन, परियोजना कार्य र विद्यार्थीको रुचिमा आधारित सिकाइबाट सिक्न सक्छौँ । तर त्यसलाई नेपालको माटोमा रोप्नुपर्छ ।


हामीसँग बहुभाषिक समाज छ । भौगोलिक विविधता छ । आर्थिक असमानता छ । ग्रामीण र सहरी जीवनबीच ठूलो अन्तर छ । अभिभावकको शैक्षिक पृष्ठभूमि फरक छ । कतिपय परिवारमा रोजगारीका लागि अभिभावक नै घरमा नहुने अवस्था छ । त्यसैले एउटै शिक्षा नीतिले सबै ठाउँलाई एउटै ढाँचामा बाँध्नेभन्दा न्यूनतम राष्ट्रिय गुणस्तर र स्थानीय अनुकूलनको सन्तुलन आवश्यक छ ।


शिक्षा विधेयकले विद्यालय मात्र होइन, परिवारलाई पनि हेर्नुपर्छ


यदि नयाँ शिक्षा विधेयक साँच्चिकै परिवर्तनकारी बन्ने हो भने त्यसले केवल शिक्षकको सेवा–सर्त र विद्यालयको प्रशासनिक संरचनालाई मात्र सम्बोधन गरेर पुग्दैन । यसले कम्तीमा चारवटा सम्बन्धलाई बलियो बनाउनुपर्छ ।
विद्यार्थी–शिक्षक सम्बन्ध,
विद्यार्थी–अभिभावक सम्बन्ध,
अभिभावक–विद्यालय सम्बन्ध,
विद्यालय–समुदाय सम्बन्ध ।


इसिडीदेखि कक्षा ५ सम्म प्रत्येक विद्यालयमा अभिभावक शिक्षा, बाल विकास, पोषण, सकारात्मक अनुशासन, डिजिटल व्यवहार, पढ्ने संस्कार र बालबालिकासँग संवाद गर्ने तरिकाजस्ता विषयमा नियमित अभिमुखीकरणको व्यवस्था गर्न सकिन्छ । अभिभावकलाई विद्यालयमा बोलाएर केवल “बच्चाले होमवर्क गरेन” वा “अंक कम आयो” भन्ने सूचना दिने होइन, बालबालिकाको विकास कसरी हुन्छ भन्ने विषयमा अभिभावकलाई पनि सिकाउने संस्कृति विकास गर्नुपर्छ । त्यसपछि मात्र विद्यालय र घर एउटै दिशामा हिँड्न सक्छन् ।


विद्यार्थीको आवाजलाई संस्थागत गरौँ


अब मूल प्रश्नमा फर्कौँ । शिक्षा विधेयकमा विद्यार्थीको आवाज कहाँ छ ? यदि शिक्षा विद्यार्थीका लागि हो भने विद्यार्थीको अनुभव नीति निर्माणको आधार बन्नुपर्छ । कक्षाकोठामा विद्यार्थीले भोगेको समस्या के हो ? उनीहरूलाई विद्यालयमा सबैभन्दा बढी के चाहिएको छ ? उनीहरूलाई कुन शिक्षण विधि प्रभावकारी लाग्छ ? कुन वातावरणले उनीहरूलाई प्रश्न गर्न रोक्छ ? विद्यालयमा उनीहरूलाई के कुराले असुरक्षित वा असहज बनाउँछ ? यी प्रश्नको उत्तर विद्यार्थीबाटै सुन्ने प्रणाली आवश्यक छ ।


विद्यार्थीलाई नीति निर्माणको अन्तिम निर्णयकर्ता बनाउने कुरा होइन । तर जसको भविष्यका लागि नीति बनाइँदैछ, उसको आवाज नसुन्ने शिक्षा नीति कति विद्यार्थीकेन्द्रित हुन सक्छ ? अब शिक्षा सुधारको दिशा बदल्ने बेला भयो । हामीले शिक्षा सुधारलाई केवल भवन, दरबन्दी, पाठ्यपुस्तक, परीक्षा र नतिजाको बहसमा सीमित गर्नु हुँदैन । शिक्षाको वास्तविक सफलता विद्यार्थीको अंकमा मात्र होइन; उसको आत्मविश्वास, जिज्ञासा, सिर्जनशीलता, व्यवहार, सामाजिक चेतना र भविष्य निर्माण गर्ने क्षमतामा देखिनुपर्छ ।


त्यसैले नयाँ शिक्षा विधेयकले केही आधारभूत प्रश्नको जवाफ दिन सक्नुपर्छ । के इसिडीदेखि कक्षा ५ सम्मको सिकाइको जगलाई राष्ट्रिय प्राथमिकता दिइनेछ ? के प्रत्येक बालबालिकाले गुणस्तरीय प्रारम्भिक शिक्षा पाउनेछ ? के दिवा खाजा केवल खाजा वितरण कार्यक्रम नभई पोषण सुनिश्चित गर्ने कार्यक्रम बन्नेछ ? के परीक्षा हटाउँदा निरन्तर र वैज्ञानिक मूल्याङ्कनको व्यवस्था सुनिश्चित गरिनेछ ? के विद्यार्थीको सिकाइ कमजोर देखिएपछि समयमै सहयोग गर्ने प्रणाली बन्नेछ ? के शिक्षकलाई विद्यार्थीको सिकाइमा केन्द्रित हुन आवश्यक समय, स्रोत र पेशागत विकास दिइनेछ ? के अभिभावकलाई पनि शिक्षा प्रणालीको सक्रिय साझेदार बनाउन उबचभलतष्लन भमगअबतष्यल लाई संस्थागत गरिनेछ ? र सबैभन्दा महत्वपूर्ण, के शिक्षा विधेयकले नेपालको आफ्नै सामाजिक वास्तविकता, अभिभावकीय चेतना र सांस्कृतिक परिवेशलाई आधार मानेर शिक्षा प्रणाली निर्माण गर्नेछ ?


हामीले संसारबाट सिक्नुपर्छ । तर संसारको नक्कल गर्नुपर्दैन । हामीले युरोपको विद्यालय देख्नुपर्छ, तर युरोपको समाजलाई पनि बुझ्नुपर्छ । हामीले फिनल्यान्डको परीक्षा प्रणाली हेर्नुपर्छ, तर त्यहाँको शिक्षक–अभिभावक सम्बन्ध पनि बुझ्नुपर्छ । हामीले बालमैत्री कक्षाकोठा बनाउनुपर्छ, तर घरमा बालबालिकालाई कसरी सम्बोधन गरिन्छ भन्ने प्रश्न पनि गर्नुपर्छ । किनकि विद्यालयमा बालमैत्री वातावरण बनाएर मात्र पुग्दैन; घर पनि बालमैत्री बन्नुपर्छ । शिक्षकलाई तालिम दिएर मात्र पुग्दैन; अभिभावकलाई पनि सिकाइको साझेदार बन्न सिकाउनुपर्छ ।


पाठ्यक्रम परिवर्तन गरेर मात्र पुग्दैन; समाजको बालबालिकाप्रतिको दृष्टिकोण पनि परिवर्तन गर्नुपर्छ । त्यसैले नेपालको शिक्षा सुधारको वास्तविक यात्रा पाठ्यक्रमबाट मात्र होइन, कक्षाकोठा हुँदै घर र समाजसम्म पुग्नुपर्छ । शिक्षक बलियो नभई शिक्षा बलियो हुँदैन । तर विद्यार्थीको सिकाइ बलियो नभई शिक्षक र शिक्षा प्रणाली दुवै सफल भएको मान्न सकिँदैन ।


अभिभावक चेतनशील नभई विद्यार्थीकेन्द्रित शिक्षा पनि पूर्ण हुन सक्दैन । समाज शिक्षित, वैज्ञानिक र बालमैत्री नभई विद्यालयले मात्र नयाँ नेपाल निर्माण गर्न सक्दैन । हामीले आज बनाउने शिक्षा प्रणालीले भोलिको नेपाल निर्माण गर्नेछ । त्यसैले शिक्षा सुधारको प्रश्न केवल आजको समस्या समाधान गर्ने प्रश्न होइन; यो कस्तो समाज र कस्तो राष्ट्र निर्माण गर्ने भन्ने प्रश्न हो । यदि हामी बलियो सार्वजनिक शिक्षा चाहन्छौँ भने त्यसको जग बलियो बनाउनुपर्छ ।


त्यो जग इसिडीदेखि कक्षा ५ सम्म निर्माण हुन्छ । तर त्यो जग विद्यालयभित्र मात्र निर्माण हुँदैन । त्यो जग घर, विद्यालय र समाजको त्रिकोणबाट निर्माण हुन्छ । त्यसैले अब शिक्षा विधेयकको बहसमा एउटा प्रश्न स्पष्ट रूपमा सुनिनुपर्छ । “शिक्षा कसका लागि?” उत्तर त्यत्तिकै स्पष्ट हुनुपर्छ । “विद्यार्थीका लागि।” तर विद्यार्थीका लागि राम्रो शिक्षा बनाउन अर्को प्रश्न पनि सोध्नुपर्छ । “विद्यार्थीलाई हुर्काउने हाम्रो समाज र अभिभावकत्व कस्तो छ ?” सायद नेपालको शिक्षा सुधारको अर्को ठूलो बहस यहीँबाट सुरु हुनुपर्छ ।


(लेखक विश्वास कुमार बानियाँ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुर बाँगढी ४ बर्दियाका विज्ञान शिक्षक हुन् ।)