ज्योतिर्गमयः सपना, जागरण र परिवर्तन

काठमाडौँ/५ जेठ – उपनिषदमा एउटा मन्त्र छः असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय ।। अर्थात् असत्यबाट सत्यतर्फ लैजाउ । अन्धकारबाट प्रकाशतर्फ लैजाउ । मृत्युबाट अमरतर्फ लैजाउ । यसैको मूल आशयबाट शीर्षक जुरेको छ सुदाम प्रसाद गौतमको भर्खरै प्रकाशित पुस्तक ज्योतिर्गमयः सपना, जागरण र परिवर्तन । सारमा भन्नुपर्दा ज्योतिर्गमयः अर्थात मलाई अन्धकारबाट प्रकाशतर्फ लैजाउ भन्ने नै छ ।


ज्योतिर्गमयः सपना, जागरण र परिवर्तन वास्तवमै एक विचारोत्तेजक कृति हो । यस पुस्तकले नेपालको शिक्षा प्रणालीको वर्तमान अवस्था, ऐतिहासिक विकासक्रम र भविष्यको रूपान्तरणका लागि मार्गचित्र कोरेको छ । कूल छ खण्डमा विभाजित यस पुस्तकमा विद्यालय तहका आधारभूत विषयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासहरूलाई समावेश गरिएको छ ।


यस पुस्तकमा विषयवस्तुहरूलाई छ वटा अध्याय र कुल १४२ वटा शीर्षकहरूमा संगठित गरिएको छ । यसको संरचना अनुसार, पहिलो अध्याय नेपाली समाज र शिक्षाको विकासक्रममा १२ वटा र दोस्रो अध्याय नेपालको वर्तमान शिक्षा प्रणालीस् समीक्षा मा २६ वटा शीर्षकहरू रहेका छन्। त्यस्तै, सबैभन्दा विस्तृत तेस्रो अध्याय अन्तर्राष्ट्रिय अनुभव र पाठमा ४७ वटा शीर्षक समावेश छन् भने चौथो अध्याय शैक्षिक रूपान्तरणको नयाँ मार्गचित्र मा ११ वटा शीर्षक समेटिएका छन् । पुस्तकको पाँचौँ अध्याय मार्गचित्रको व्यावहारिक कार्ययोजनामा ३३ वटा र अन्तिम छैटौँ अध्याय उपसंहार र सिफारिसहरूमा १३ वटा शीर्षकहरू मार्फत विषयवस्तुलाई तार्किक रूपमा प्रस्तुत गरिएको छ ।


पुस्तकको पहिलो अध्याय नेपाली समाज र शिक्षाको विकासक्रमले नेपालको शैक्षिक इतिहासलाई प्राचीन कालदेखि वर्तमानसम्म उल्लेख गरेको छ । प्राचीन समयमा नेपाल ज्ञान र दर्शनको तपोभूमि रहेको चर्चा गर्दै लेखकले तत्कालीन शिक्षा प्रकृति र अध्यात्ममा आधारित भएको उल्लेख गरेका छन्, जहाँ गुरुकुल, कुटी र विहारहरू ज्ञानका मुख्य केन्द्र थिए। मल्लकाललाई कला र सीपमूलक शिक्षाको स्वर्णयुग मानिएको छ भने शाहकालिन समयलाई शास्त्र र शस्त्रको सङ्क्रमणकालीन अवस्थाका रूपमा चित्रण गरिएको छ। लेखकका अनुसार नेपालमा औपचारिक शिक्षाको संस्थागत सुरुवात राणाकालमा दरबार हाइस्कुलको स्थापना र वि.सं. १९९० मा एसएलसी बोर्डको गठनसँगै भएको हो, जसले विद्यालय शिक्षालाई व्यवस्थित बनाउने आधार तयार ग¥यो ।


यसैगरी, उच्च शिक्षाको विकासक्रमलाई नीतिगत अस्थिरताको रूपमा विश्लेषण गर्दै लेखकले राज्यको प्राथमिकतालाई बजेटको तथ्याङ्कमार्फत प्रस्तुत गरेका छन् । वि.सं. २००८ मा कुल बजेटको ५.५२ प्रतिशत शिक्षामा विनियोजन गरिएकोमा आर्थिक वर्ष २०७०/७१ मा यो हिस्सा बढेर १५.६६ प्रतिशतसम्म पुगेको थियो । तर, हाल (२०८१/८२) शिक्षा बजेट १०.९५ प्रतिशतमा खुम्चिनुले राज्यको प्राथमिकता घट्दै गएको देखिन्छ । अध्यायको अन्त्यमा लेखकले वर्तमान शैक्षिक अवस्थामाथि मर्मान्तक टिप्पणी गर्दै विश्वविद्यालयहरूले केवल भौतिक संरचना बनाएको तर चेतनाको ज्योति दिन नसकेको तर्क गरेका छन् । शिक्षा बजारको वस्तु बनेर धनी र गरिबबिचको खाडल बढेको र हाम्रा शिक्षण संस्थाहरू बेरोजगार र पलायनमुखी जनशक्ति उत्पादन गर्ने कारखानामा परिणत भएको गम्भीर निष्कर्ष उनले निकालेका छन् ।


पुस्तकको दोस्रो अध्याय मुख्य रूपमा हाम्रो शैक्षिक संरचनामा रहेका नीतिगत त्रुटि, व्यावहारिक कमजोरी र सुधारका क्षेत्रहरूमा केन्द्रित छ। लेखकले नेपालको शिक्षा नीति कागजमा उत्कृष्ट भए पनि कार्यान्वयनको तहमा निकै फितलो रहेको औँल्याएका छन् । सबैका लागि शिक्षा र गुणस्तरीय शिक्षा जस्ता नाराहरू सरकारी दस्ताबेजमा सीमित हुनु र भौतिक पूर्वाधार बढे पनि शैक्षिक गुणस्तर खस्कनुलाई यहाँ मुख्य समस्याका रूपमा केलाइएको छ । वर्तमान शिक्षण विधिमाथि कडा आलोचना गर्दै लेखकले हाम्रो शिक्षा प्रणाली परीक्षा केन्द्रित भएको र यसले विद्यार्थीलाई ज्ञान हासिल गर्नभन्दा पनि पाठ घोक्न (Rote Learning) बाध्य पारेको तर्क गरेका छन् । विद्यालयहरू सिकाउने थलो भन्दा पनि सूचना भण्डारण गर्ने केन्द्र जस्ता बन्दा विद्यार्थीको मौलिक सोच र सिर्जनशीलता मर्दै गएको प्रति लेखकले चिन्ता व्यक्त गरेका छन् ।


नेपाली समाजमा विद्यमान शैक्षिक विभेदको चर्चा गर्दै यस अध्यायमा लेखकले निजी र सामुदायिक विद्यालयका कारण दुई खाले नागरिक उत्पादन भइरहेको तीतो यथार्थ प्रस्तुत गरेको छ । उनका अनुसार स्रोत साधन सम्पन्न निजी विद्यालय र राजनीतिक हस्तक्षेपले थलिएका सामुदायिक विद्यालयबिचको खाडलले समाजमा आर्थिक र मानसिक वर्गीकरण निम्त्याएको छ । त्यस्तै, उच्च शिक्षाको समीक्षा गर्दै लेखकले हाम्रा विश्वविद्यालयहरूले डिग्री त दिने तर बजारमा बिक्ने सीप नदिने भएकाले हरेक वर्ष हजारौँ स्नातकहरू विदेशमा सस्तो श्रम बेच्न बाध्य भएको स्थितिलाई शैक्षिक दुर्घटना को रूपमा व्याख्या गरेका छन् । शिक्षकहरूको भूमिकामाथि प्रश्न उठाउँदै उनले शिक्षकहरू केवल पाठ्यक्रम सिध्याउने कर्मचारी मात्र नभएर समाजका इन्जिनियर हुनुपर्नेमा जोड दिएका छन् । तर, राज्यको उदासीनता र शिक्षकहरूको राजनीतिक आबद्धताले शिक्षा क्षेत्र धमिलिएको निष्कर्ष निकालिएको छ ।


अध्यायको अन्त्यमा लेखकले सुधारका मार्गहरू पहिल्याउँदै शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने, स्थानीय आवश्यकता अनुसारको पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने र शिक्षालाई श्रम एवं उत्पादनसँग जोडेर आत्मनिर्भर नागरिक तयार पार्ने गरी पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका छन् । समग्रमा, यो अध्यायमा लेखकले हामी कहाँ चुक्यौँ ? भन्ने प्रश्नको उत्तर खोज्दै पाठकलाई शैक्षिक रूपान्तरणको गम्भीर आवश्यकता बोध गराउन पहल गरेका छन् ।


पुस्तकको तेस्रो अध्याय अन्तर्राष्ट्रिय अनुभव र पाठमा विश्वका सफल शैक्षिक प्रणाली भएका मुलुकहरू—जर्मनी, बेलायत, फिनल्यान्ड, अमेरिका र सिङ्गापुरको अनुभवलाई नेपालको सन्दर्भसँग तुलना गर्दै प्रस्तुत गरिएको छ । लेखकले विशेष गरी फिनल्यान्डको शिक्षा प्रणालीलाई विश्वकै उत्कृष्ट मान्नुका १० मुख्य आधारस्तम्भहरू उल्लेख गरेका छन् । जसमा शिक्षामा समानता र समावेशिता, शिक्षकका लागि अनिवार्य स्नातकोत्तर (मास्टर्स) डिग्री र उनीहरूको स्वायत्तता, खेलमा आधारित सिकाइ, तथा न्यून गृहकार्य जस्ता पक्षहरू समेटिएका छन् । फिनल्यान्डमा शिक्षकलाई राज्यको राष्ट्रिय बौद्धिक सम्पत्ति मानिने र उनीहरूमाथि अभिभावक तथा सरकारको उच्च विश्वास रहने पद्धतिलाई लेखकले नेपालका लागि एक आदर्श सपनाको रूपमा चित्रण गरेका छन् ।


अर्कोतर्फ, लेखकले अमेरिकी शिक्षा प्रणालीलाई यथार्थ र चुनौतीको मोडेलका रूपमा प्रस्तुत गरेका छन् । अमेरिकामा विद्यालय शिक्षा (K-12) राज्यको अनिवार्य जिम्मेवारी भए तापनि उच्च शिक्षामा निजी क्षेत्रको ठूलो लगानी र विद्यार्थी ऋण (Qmudent Loan) को भारी बोझले निम्त्याएका चुनौतीहरूबारे चर्चा गरिएको छ। नेपालको वर्तमान शिक्षा प्रणाली विस्तारै अमेरिकी मोडेल (निजीकरण) तर्फ जाँदै गरेकोमा लेखकले सचेत गराएका छन् । त्यस्तै, जर्मनीको डुअल एजुकेशन मोडेलबाट शिक्षालाई श्रम र सीपसँग जोड्ने कला र बेलायती शिक्षा प्रणालीको ऐतिहासिक प्रभावलाई पनि यस अध्यायमा केलाइएको छ । अन्तर्राष्ट्रिय प्रिन्सिपलहरूको संस्था (आईसिपी) मा काम गर्दाका अनुभवहरूलाई जोड्दै लेखकले विकसित मुलुकहरूको सफलताको साझा कडी नै व्यावहारिक शिक्षा रहेको पुष्टि गरेका छन् ।


अन्तर्राष्ट्रिय अभ्यासहरूको विश्लेषण गर्दै लेखकले नेपालका लागि केही महत्वपूर्ण सुझावहरू दिएका छन् । उनले विद्यालय सुधारको सुरुवात बजेटबाट नभई शिक्षकको मनोविज्ञान, सोच र सम्मानबाट हुनुपर्नेमा जोड दिएका छन्। सिद्धान्तको रटानभन्दा माटो छुने र जीवन बदल्नु व्यावहारिक ज्ञान आजको आवश्यकता रहेको उनको तर्क छ । निष्कर्षमा, लेखकले फिनल्यान्ड वा अमेरिकाको हुबहु नक्कल गर्नुभन्दा उनीहरूको दर्शन—जर्मनीको सीप, फिनल्यान्डको विश्वास र अमेरिकाको अनुसन्धान संस्कृति—लाई नेपाली माटो र संस्कृति अनुसार ढाल्नुपर्ने प्रस्ताव गरेका छन्। शिक्षाले घर छोड्न मात्र होइन, घर बनाउन सिकाउनुपर्छ भन्ने लेखकको मूल मर्मले नै यो अध्यायको सारलाई प्रस्ट पारेको छ ।


यस पुस्तकको चौथो अध्याय शैक्षिक रूपान्तरणको मार्गचित्रमा लेखकले केवल समस्याहरू मात्र नऔँल्याई नेपालको शिक्षा प्रणालीलाई सुधार्ने व्यावहारिक एक्सन प्लान वा मार्गचित्र प्रस्तुत गरेका छन् । लेखकले शिक्षा, श्रम र उत्पादनबिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिँदै विद्यार्थीलाई श्रमसँग जोड्न ुसिक्दै कमाउँदै ९ीभबचल बलम भ्बचल० मोडेल लागू गर्न प्रस्ताव गरेका छन्। उनका अनुसार कक्षाकोठाको सिकाइलाई खेतबारी, कारखाना वा प्रयोगशालासँग जोड्दै भूगोल सुहाउँदो उत्पादनमुखी शिक्षा प्रदान गरिनुपर्छ । यस रूपान्तरणका मुख्य संवाहक शिक्षकलाई मान्दै लेखकले उनीहरू राजनीतिक दलका कार्यकर्ता हुनुको सट्टा राष्ट्रिय बौद्धिक सम्पत्तिका रूपमा सम्मानित हुनुपर्ने र शिक्षकको नियुक्तिमा फिनल्यान्डमा जस्तै मेधावी एवं इमानदार व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् ।


पाठ्यक्रममा आमूल सुधारको खाका प्रस्तुत गर्दै लेखकले वर्तमान शिक्षालाई ज्ञानको भारिबाट मुक्त गरी जीवनको सीप बनाउनुपर्ने धारणा राखेका छन् । यसका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल साक्षरता जस्ता प्रविधिमैत्री शिक्षाका साथै नेपाली मौलिकता, नैतिकता र संस्कारलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उनको सुझाव छ। परीक्षा प्रणालीलाई अंकमा मात्र सीमित नगरी विद्यार्थीको सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमताका आधारमा मूल्याङ्कन गरिनुपर्नेमा लेखकको जोड छ । त्यस्तै, शिक्षामा राज्यको लगानी कुल बजेटको कम्तीमा २० प्रतिशत पु¥याउनुपर्ने र आधारभूत शिक्षालाई पूर्णतः निःशुल्क र गुणस्तरीय बनाउँदै धनी र गरिबका छोराछोरी एउटै डेस्कमा बसेर पढ्ने वातावरण निर्माण गर्नुपर्ने मार्गचित्रमा उल्लेख छ ।


लेखकले नेपालका सातै प्रदेशका लागि छुट्टाछुट्टै शैक्षिक प्राथमिकताहरू समेत प्रस्ताव गरेका छन् । कोशी प्रदेशमा कृषि प्रशोधन, लुम्बिनीमा बुद्ध दर्शन र बागमतीमा आइटी जस्ता क्षेत्रलाई शैक्षिक प्राथमिकतामा राखेर प्रादेशिक विशेषता अनुसारको शिक्षा दिनुपर्ने उनको तर्क छ । समग्रमा यस अध्यायको सार भनेको शिक्षा केवल सर्टिफिकेट वितरण गर्ने कारखाना नभई मानिसलाई आत्मनिर्भर बनाउने र नागरिकलाई ुज्योतिर्गय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लैजाने माध्यम हुनुपर्छ भन्ने हो । लेखकका अनुसार यो मार्गचित्रलाई सही रूपमा पछ्याउन सके नेपाललाई सपनाको मुलुक बनाउन धेरै समय लाग्ने छैन ।


यस पुस्तकको पाँचौँ अध्याय मार्गचित्रको व्यवहारिक कार्ययोजनाले अघिल्ला अध्यायहरूमा उठाएका शैक्षिक समस्याहरूको समाधानका लागि कार्ययोजना प्रस्तुत गरेको छ । लेखकले नेपालको भौगोलिक विविधता अनुसारको छुट्टै व्यावहारिक शिक्षाको प्रस्ताव गर्दै कुन क्षेत्रमा कस्तो शिक्षा दिने भन्ने खाका कोरेका छन् । यसअन्तर्गत हिमाली र पहाडी क्षेत्रमा जडीबुटीको पहिचान र प्रशोधन गरी विद्यालयमै साना उद्योग सञ्चालन गर्ने, सहरी क्षेत्रमा ग्रिन प्रोजेक्ट मार्फत फोहोर व्यवस्थापन र कौसी खेती सिकाउने तथा कोशी प्रदेशका चिया बगानमा विद्यार्थीलाई स्थलगत भ्रमण र ब्रान्डिङको प्रयोगात्मक सीप दिने जस्ता नवीन सोचहरू अघि सारिएका छन्। त्यस्तै, लुम्बिनी प्रदेशमा बुद्ध दर्शन र हस्तकलामा आधारित सीपमूलक शिक्षालाई प्राथमिकता दिइएको छ । यो कार्ययोजनाले वर्तमानको रट्ने शिक्षा लाई विस्थापित गरी विद्यार्थीलाई प्रश्न सोध्न र समस्या समाधान गर्न सक्षम बनाउने सिक्ने शिक्षामा जोड दिएको छ ।


शिक्षालाई देशको अर्थतन्त्रसँग जोड्न लेखकले कृषि, पर्यटन, जलविद्युत् र डिजिटल अर्थतन्त्र (आईटी) को सम्भाव्यतालाई तथ्याङ्कसहित प्रस्तुत गरेका छन् । आधुनिक प्रविधि र व्यावसायिककरण मार्फत कृषि क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ३५–४० प्रतिशतसम्म पुरÞ्याउन सकिने र दक्ष जनशक्ति उत्पादन गरी सेवा निर्यात र स्टार्टअपमा वृद्धि ल्याउन सकिने उनको तर्क छ । कार्ययोजनाको सफलताका लागि शिक्षकलाई केवल जागिरेका रूपमा नभई राष्ट्रिय बौद्धिक सम्पत्ति का रूपमा विकास गर्ने र प्रधानाध्यापकहरूलाई थप जवाफदेही बनाउँदै विद्यालयलाई वित्तीय रूपमा स्वायत्त बनाउनुपर्नेमा जोड दिइएको छ । यसका साथै, शिक्षामा हुने खर्चलाई अनुत्पादक नभई दीर्घकालीन पुँजी लगानी का रूपमा व्याख्या गर्दै लेखकले सुधारका लागि एक नमुना बजेटको खाका समेत प्रस्ताव गरेका छन् । निष्कर्षमा, यो अध्यायले शिक्षालाई घर छोड्न सिकाउने माध्यमबाट बदलेर देश बनाउन सिकाउने व्यवहारिक पद्धतिमा रूपान्तरण गर्ने मार्गचित्र कोरेको छ ।


यस पुस्तकको अन्तिम अध्याय उपसंहार र सिफारिसहरूले सम्पूर्ण विषयवस्तुको निचोड प्रस्तुत गर्दै राज्यले तत्काल चाल्नुपर्ने कदमहरूलाई समेटेको छ । लेखकका अनुसार नेपालको शिक्षा प्रणालीमा अब केवल संरचनात्मक सुधार मात्र पर्याप्त छैन, बरु दार्शनिक र व्यावहारिक रूपान्तरण अपरिहार्य भइसकेको छ । उनले वर्तमान शिक्षालाई घर छोड्न सिकाउने शिक्षा (Passport Education) को संज्ञा दिँदै यसलाई घर बनाउन सिकाउने शिक्षा मा बदल्नुपर्ने निष्कर्ष निकालेका छन् । शिक्षाले मानिसलाई आफ्नो माटो र संस्कृतिबाट विमुख गराउनु हुँदैन भन्ने उनको मूल सन्देश छ ।


प्रमुख सिफारिसहरूका रूपमा लेखकले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेप र भ्रातृ संगठनहरूबाट पूर्णतः मुक्त गरी मेरिटोक्रेसीका आधारमा शिक्षक नियुक्तिको प्रस्ताव गरेका छन्। राज्यले कुल बजेटको कम्तीमा २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने, निजी क्षेत्रको व्यापारीकरण नियन्त्रण गर्नुपर्ने र सामुदायिक विद्यालयलाई नमुना बनाउनुपर्नेमा उनको जोड छ । साथै, बर्सौँदेखि व्यवहारमा सीप सिकेका तर प्रमाणपत्र नभएका जनशक्तिलाई सीप परीक्षणमार्फत प्रमाणीकरण गर्नुपर्ने र विद्यालयमा आधुनिक प्रविधिसँगै पूर्वीय दर्शन एवं नैतिकताको फ्युजन हुनुपर्ने सुझाव उनले दिएका छन् ।


अन्त्यमा, लेखकले यस पुस्तकलाई केवल सूचनाको संग्रह नभई एउटा जागरणको दस्ताबेजका रूपमा प्रस्तुत गरेका छन् । अन्धकारबाट प्रकाशतर्फ जाने बाटो नै चेतनायुक्त र श्रमशील शिक्षा हो भन्दै उनले जब शिक्षाले युवाको सपनालाई देशको समृद्धिसँग जोड्छ, तब मात्र वास्तविक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन् । समग्रमा, यो पुस्तकले हाम्रो शैक्षिक इतिहासको पुनरावलोकन, वर्तमानका विकृतिहरूको चित्रण र अन्तर्राष्ट्रिय सफल अभ्यासहरूको आधारमा समृद्ध नेपालका लागि एउटा मार्गचित्र देखाएको छ ।
(डा. हरि प्रसाद लम्साल नेपाल सरकारका पूर्व सचिव हुन् । २०८३ जेष्ठ ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सुदामप्रसाद गौतम द्धारा लेखिएको ज्योतिर्गमयः पुस्तक लोकार्पण कार्यक्रममा व्यक्त गरिएको पुस्तक समीक्षाको अंश ।)