काठमाडौँ/५ जेठ- अनुमतिबिना सञ्चालनमा रहेका २७ शैक्षिक परामर्श संस्थालाई प्रहरीले मुद्दा चलाएको छ । शिक्षा ऐनबमोजिम उनीहरूमाथि मुद्दा चलाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।
दर्ता नै नगरी शैक्षिक परामर्श संस्था सञ्चालन गर्ने २७ जनालाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जनाइएको छ । यसैगरी ३६ शैक्षिक परामर्श संस्थाका सञ्चालकहरूलाई हाजिरी जवानीमा छोडिएको र उनिहरूको दर्ता प्रक्रियाका बारेमा अनुसन्धानका लागि शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखासँग समन्वय गरिएको कार्कीले बताए । उनले सबै डिभाइस प्रहरीसँग रहेकोले त्यसबारे छानबिन भईरहेको जानकारी दिए ।
उनिहरू माथि अनुमतिबिना संस्था सञ्चालन, अनुमति लिएकै संस्थाहरूले विद्यार्थीका कीर्ते लगत खडा गर्ने, त्यसक्रममा सहीछापसम्बन्धी कानुनको उल्लंघनजस्ता कसुरमा अनुसन्धान भइरहेको कार्कीले बताए । साथै ५ शैक्षिक परामर्श संस्थाहरूका सञ्चालकलाई अदालतको आदेश अनुसार छोडिएको जानकारी दिए ।
मुद्दा चलाइएका २७ कन्सल्टेन्सीले दर्ता वा अनुमतिबिना शैक्षिक परामर्श सञ्चालन गर्नुका साथै प्रचलित कानुनको उल्लङ्घन हुने अन्य कसुर पनि गरेको देखिएको प्रहरीको भनाई छ ।
कार्कीले शैक्षिक परामर्श संस्थाहरूमा छापा मार्ने अभियान जारी रहेको बताउँदै अन्य शैक्षिक परामर्श संस्थाहरूमा जुनसुकै बेला छापा मारिने जानकारी दिए ।
यससम्बन्धी अघिल्ला समाचार पढ्नुहोस
९५ शैक्षिक परामर्श संस्थामा प्रहरीको छापा, ६९ जना सञ्चालक नियन्त्रणमा



