भविष्यको योजना बनाउँदै गरेका विद्यार्थीका लागि महत्वपूर्ण गन्तव्य आयरल्यान्ड

काठमाडौँ /२९ फागुन – हालका वर्षहरूमा विदेशमा अध्ययन गर्ने विद्यार्थीको प्राथमिकता प्रायः केही निश्चित देशहरूमा केन्द्रित हुँदै आएको देखिन्छ । अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र युनाइटेड किङडम जस्ता देशहरू लामो समयदेखि अन्तर्राष्ट्रिय शिक्षाको प्रमुख गन्तव्यका रूपमा परिचित रहँदै आएका छन् । त्यसैले धेरै विद्यार्थी र अभिभावकका लागि सबैभन्दा लोकप्रिय देश नै सबैभन्दा उपयुक्त विकल्प हो भन्ने धारणा बन्ने गरेको छ ।


तर, विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय शिक्षा केवल लोकप्रियतामा आधारित निर्णय होइन । सही समय, सही रणनीति र दीर्घकालीन अवसरलाई ध्यानमा राखेर गरिएको निर्णय नै सबैभन्दा प्रभावकारी हुने उनीहरुको मत छ ।
यही सन्दर्भमा पछिल्ला वर्षहरूमा युरोपेली देश आयरल्यान्डप्रति अन्तर्राष्ट्रिय विद्यार्थीको चासो उल्लेखनीय रूपमा बढ्दै गएको छ । यसका कारणहरु के–के हुन् ? यसलाई केलाउने प्रयास गरिएको छ ।


गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय मान्यता


आयरल्यान्डले पछिल्ला दशकहरूमा आफ्नो उच्च शिक्षा प्रणालीलाई विश्व स्तरमा स्थापित गर्न उल्लेखनीय प्रगति गरेको छ । यहाँका विश्वविद्यालय र कलेजहरूले अङ्ग्रेजी माध्यममा पढाइ रहेका छन्, र यहाँबाट प्राप्त डिग्रीहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मानिन्छन् ।


आयरल्यान्डको आधिकारिक अन्तर्राष्ट्रिय शिक्षा प्लेटफर्म एजुकेशन इन आयरल्याण्डले देशलाई युरोपेली संघभित्रको एकमात्र अङ्ग्रेजी भाषी राष्ट्रका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विशेष अवसर रहेको उल्लेख गरेको छ ।


विशेषज्ञहरूका अनुसार यो विशेषताले आयरल्यान्डलाई अन्य युरोपेली देशहरूभन्दा फरक बनाएको छ, किनकि यहाँ विद्यार्थीले अङ्ग्रेजी भाषामा अध्ययन गर्दै युरोपको स्तरिय शैक्षिक र आर्थिक वातावरणसँग जोडिने अवसर पाउँछन् ।


युरोपेली वातावरणसँग परिचित हुने अवसर


आयरल्यान्ड युरोपेली संघको सदस्य राष्ट्र भएको कारण विद्यार्थीलाई युरोपेली वातावरणसँग परिचित हुने अवसर प्रदान गर्छ । अध्ययनका क्रममा विद्यार्थीले अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्न, नयाँ अनुभव हासिल गर्न र भविष्यका व्यावसायिक अवसरहरू खोज्न सक्ने वातावरण यहाँ उपलब्ध छ ।


शिक्षा क्षेत्रका विश्लेषकहरूका अनुसार आयरल्यान्डबाट प्राप्त डिग्री केवल एउटा शैक्षिक प्रमाणपत्र मात्र नभई अन्तर्राष्ट्रिय करियरको सम्भावना विस्तार गर्ने माध्यम पनि बन्न सक्छ ।


बहुराष्ट्रिय कम्पनीहरूको बलियो उपस्थितिको फाइदा


आयरल्यान्डको अर्थतन्त्रमा बहुराष्ट्रिय कम्पनीहरूको बलियो उपस्थिति रहेको तथ्य पनि विद्यार्थीका लागि महत्त्वपूर्ण मानिन्छ । आयरल्यान्डको लगानी प्रवद्र्धन गर्ने सरकारी संस्था (आइडिए आयरल्यान्ड)का अनुसार विश्वका शीर्ष २० प्रविधि बहुराष्ट्रिय कम्पनीहरूमध्ये १६ वटा आयरल्यान्डमा सञ्चालनमा रहेका छन् ।
यसका कारण देशमा प्रविधि, औषधि उद्योग, वित्त, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा तीव्र विकास भइरहेको देखिन्छ ।


शिक्षा क्षेत्रका जानकारहरूका अनुसार यस्तो आर्थिक वातावरणले विद्यार्थीलाई अध्ययनका क्रममा नै उद्योगसँग सम्बन्धित अवसरहरू बुझ्ने र भविष्यका करियर मार्गहरु पहिचान गर्ने सम्भावना बढाउँछ ।


अध्ययनपछि काम गर्ने अवसर


अन्तर्राष्ट्रिय विद्यार्थीको निर्णयमा अध्ययनपछिको अवसर महत्त्वपूर्ण पक्षका रूपमा हेरिन्छ । यस विषयमा पनि आयरल्यान्डले स्पष्ट नीति अवलम्बन गरेको छ । आयरल्यान्डको ‘थर्ड लेभल ग्राजुएट प्रोग्राम’ अन्तर्गत योग्य गैर–ईईए विद्यार्थीले अध्ययन पूरा गरेपछि निश्चित समयसम्म देशमै बस्न पाउने व्यवस्था रहेको छ ।

आधिकारिक जानकारीअनुसार स्नातक तह (लेभल ८) पूरा गरेका विद्यार्थी १२ महिनासम्म बस्न सक्छन् भने स्नातकोत्तर तहका योग्य विद्यार्थीलाई २४ महिनासम्म बस्ने अनुमति प्रदान गरिन्छ ।


विश्लेषकहरूका अनुसार यसले विद्यार्थीलाई अध्ययनपछि रोजगारी खोज्न र स्थानीय अनुभव हासिल गर्न पर्याप्त समय उपलब्ध गराउँछ ।


सीपमा आधारित रोजगारी प्रणाली


आयरल्यान्डको रोजगार नीति पनि श्रम बजारको आवश्यकतासँग मिलाएर निर्माण गरिएको छ । यहाँको ‘क्रिटिकल स्किल्स एम्प्लोयमेन्ट परमिट’ प्रणाली विशेषगरी श्रम बजारमा अभाव रहेका वा रणनीतिक रूपमा महत्त्वपूर्ण पेसाहरूका लागि डिजाइन गरिएको छ । यसका लागि सरकारले नियमित रूपमा आवश्यक पेसाहरूको सूची पनि सार्वजनिक गर्ने गरेको छ ।


विशेषज्ञहरूका अनुसार यदि विद्यार्थीले श्रम बजारको मागअनुसार विषय छनोट गरे भने अध्ययनपछि करियरको सम्भावना अझ यथार्थपरक बन्न सक्छ ।


लागत र मूल्यको सन्तुलन


आयरल्यान्डलाई विश्वकै सबैभन्दा सस्तो अध्ययन गन्तव्य मानिँदैन । यहाँ अध्ययन गर्न चाहने विद्यार्थीले शिक्षण शुल्क, आवास र दैनिक खर्चबारे स्पष्ट योजना बनाउन आवश्यक रहेको बताइन्छ ।


तर, शिक्षा क्षेत्रका विश्लेषकहरूका अनुसार आयरल्यान्डको आकर्षण यसको सन्तुलित प्रणालीमा रहेको छ । गुणस्तरीय शिक्षा, बलियो उद्योगको उपस्थिति, अध्ययनपछिको अवसर र युरोपेली वातावरणको संयोजनले यसलाई दीर्घकालीन रूपमा लाभदायक गन्तव्य बनाउने विश्वास गरिएको छ ।


पछिल्ला वर्षहरूमा आयरल्यान्ड अन्तर्राष्ट्रिय विद्यार्थीका लागि रणनीतिक अध्ययन गन्तव्यका रूपमा उभिँदै गएको देखिन्छ । अङ्ग्रेजी माध्यममा शिक्षा, विश्व स्तरीय विश्वविद्यालय, बलियो आर्थिक वातावरण र स्पष्ट अध्ययनपछिको अवसरका कारण आयरल्यान्डप्रति विद्यार्थीको आकर्षण क्रमशः बढिरहेको शिक्षा क्षेत्रका विज्ञहरूको भनाइ छ ।


विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय शिक्षाको भविष्य केवल सबैभन्दा चर्चित देशहरूमा सीमित रहने छैन । विश्वसनीय शिक्षा प्रणाली, स्पष्ट नीति र दीर्घकालीन अवसर प्रदान गर्न सक्ने देशहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अझ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।


यस सन्दर्भमा आयरल्यान्डले आफूलाई एक सशक्त अध्ययन गन्तव्यका रूपमा स्थापित गर्ने दिशा लिइरहेको बुझ्न सकिन्छ ।


लेखक उद्धवबहादुर खड्का, (पिएचडी) आयरिश शिक्षा विशेषज्ञ हुन् ।