काठमाडौँ /१९ फागुन – राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाका निवर्तमान अध्यक्ष सन्तोष प्याकुरेलले विदेश अध्ययनमा गएका विद्यार्थीलाई समस्या आउने बित्तिकै त्यसको सम्पूर्ण जिम्मेवारी शैक्षिक परामर्श व्यवसायी नै हो भन्ने सामाजिक चेतना र सरकारको ठहर पुरै गलत भएको बताएका छन् ।
सरकारले सूचीकृत गरेका विश्वविद्यालय, देश वा ५० वटा देशमा मात्रै पठाउन भनेको अवस्थामा पनि परामर्श व्यवसायीहरू त्यसमा तयार रहेको उल्लेख गर्दै विद्यार्थी विदेश अध्ययनमा गईसकेपछि समस्या परे परामर्श व्यवसायीलाई नै दोष दिन नमिल्ने उनको भनाई छ ।
“हामीलाई सरकारले सूचीकृत गरेका विश्वविद्यालयमा पठाउन भने पनि, विश्वका उत्कृष्ट विश्वविद्यालयमा पठाउन मात्रै भनिन्छ की वा ५० वटा देशमा मात्रै पठाउन भनिन्छ त्यसमा सरकारले भनेका देश र विश्वविद्यालयमा विद्यार्थी पठाउन हामी तयार छौँ । तर विद्यार्थी पठाई सकेपछि ती देशमा समस्या आउने बित्तिकै त्यसको सम्पूर्ण जिम्मेवारी परामर्श व्यवसायी नै हो भन्ने सामाजिक चेतना र सरकारको ठहर हुने गर्छ, त्यो पुरै गलत छ र यस्ता समस्या व्यवसायीले भोग्नु परेको अवस्था छ” उनले भने ।
यसैगरी शैक्षिक परामर्श संस्थालाई नेपाल सरकारले निर्दिष्ट गरेको नियम कानुनको अधिनमा बसेर काम गर्न चाहेको बताउँदै प्रदेशमा राख्ने की केन्द्रमा राख्ने ? जहाँ राखेपनि दर्ता गर्न तयार रहेको बताए । तर कामै गर्न अप्ठ्यारो हुने दर्ता प्रक्रिया र कामै गर्न अप्ठ्यारो गर्ने नियमन गर्ने नीति नबनाउन माग गरेका छन् ।
इमान्दार भएर काम गर्ने शैक्षिक परामर्श संस्थाहरूले पनि त्यस्ता समस्या भोग्नु परेको उल्लेख गर्दै अब बन्ने सरकारले राम्रालाई पुरस्कार र गलत गर्नेलाई दण्डित गर्ने नीति बनाउनु पर्ने उनको सुझाब छ ।
नेकाका नव निर्वाचित अध्यक्ष निरज सिटौलाले शैक्षिक परामर्श क्षेत्र जटिल अवस्थामा गुज्रीरहेको बताउँदै अनावश्यक रूपमा शैक्षिक परामर्श संस्थालाई कसिँदै लगिएको बताए । उनले दर्ता नभएका शैक्षिक परामर्श संस्थाहरू ५ देखि ७ हजारको हाराहारीमा रहेको र विकृति मौलाएकोले दर्तामा लैजानुपर्नेमा जोड् दिए ।
देश मै रहेका शैक्षिक परामर्श संस्थालाई व्यवसाय गर्न वञ्चित गरिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा त्यसविरुद्ध राज्यसँग लडाई लड्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि आफ्ना सदस्य संस्थाहरूलाई तयारी रहन समेत निर्देशन दिएका छन् ।
उनले भने “आफ्नै मातृभूमिमै रहेका कम्पनीहरूलाई व्यवसाय गर्न वञ्चित गराइएको छ, हेपिएको छ । जसले राम्रो काम गरेका छन् ती शैक्षिक परामर्श संस्थाहरूलाई नेकाको साथ रहने छ । सरकारसँग लड्न वा भिड्न पनि तयार छ । यसका लागि सबै सदस्य संस्थाहरूलाई तयार रहन आग्रह गर्दछु ।”



