काठमाडौँ /१५ फागुन – काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल बिकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आवद्ध गराइएको छ ।
गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले, विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरेका थिए ।
यसपछि महानगरपालिकाका आन्तरिक जनशक्तिबाट प्रणाली विकास गरिएको थियो । विद्यालयको लेखा र प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई प्रणाली सञ्चालन गर्ने तालिम समेत प्रदान गरिएको थियो । डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने क्षमता विकास गरिएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइएको हो ।
विभागले २०८२ चैत्र १ देखि विद्यालयहरुमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आवद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा मात्र पठाउने निर्णय गरेको विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।
फागुन १३ र १४ गते विभागले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग आयोजना गरेको वैठकमा प्रणालीलाई प्रभावकारी कार्यान्वयन नगरे अनुदान रकम पठाउन नसकिने भएकोले बाँकी इहाजिरीको काम तत्काल सक्न आग्रह गरका थिए ।
शिक्षक, कर्मचारी र विद्यार्थी गरी कक्षा १० सम्म करिब ४५ हजार संख्या रहेको शिक्षा विभागले जनाएको छ ।



