झापा /११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिने बताएका छन् । उनले बाचा पत्र सार्वजनिक गर्दै शिक्षामा काम गर्ने उनको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
काठमाडौं महानगरमा लागू भएजस्तै शिक्षामा सीप कार्यक्रम कार्यान्वयन गरी विद्यार्थीहरुको विदेश जान पर्ने बाध्यतालाई न्यूनीकरण गरिने बाचा पत्रमा उल्लेख छ ।
झापामा समेत शिक्षाको क्षेत्रमा काम गर्ने उनले बताएका छन् । ‘गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन अनुसन्धान केन्द्रका रुपमा सञ्चालन गरिनेछ, कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गरी प्रादेशिक आयुर्वेद अस्पताल, कमल (लखनपुर) लाई सो मातहत संचालन गरिनेछ,’ उनले भनेका छन् ।
यसैगरी दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला (ल्याब) र पुस्तकालय स्थापना तथा उच्च शिक्षाको स्तरोन्नति गर्ने बालेनको प्रतिबद्धता छ ।
विद्यालय छाड्ने दर शून्यमा झार्ने उनको संकल्प छ । फरक क्षमता भएका बालबालिकाकालागि शैक्षिक कार्यक्रम कार्यन्वयन गर्न आवश्यक नीतिगत सुधार गर्ने नीति लिने बाचा गरेका छन् ।
‘विद्यालयको पाठ्यक्रममा स्थानीय भाषा र लिपीलाइ प्रारम्भिक शिक्षा देखि नै समावेश गर्न पहल गरिनेछ,’ उनले भनेका छन्, ‘दमक १० स्थित साइन्स पार्कलाई थप व्यवस्थित गरी सञ्चालनमा ल्याइनेछ ।’



