काठमाडौँ /११ फागुन – विद्यालयमा सिकाएको कुरा भन्दा नसिकाएको कुरा बालबालिकाले धेरै छिटो सिक्ने शिक्षाविद् डा. हरि लम्सालले बताएका छन् । पछिल्लो समय बालबालिकाले किताब पढ्दैनन् भनेको सुनिने गरेको बताउँदै सिकाईका लागि पढाउने तरिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरे ।
पछिल्लो समय समाजमा मोबाइल, साथी, घर परिवार लगायत शिक्षक धेरै भएको र त्यसमा विद्यार्थी एक्स्पोज भईरहेकोले अब पढ्ने पढाउने तरिका बदल्न पर्ने उनको भनाई छ ।
उनले भने “अहिलेको समाजमा शिक्षकहरू धेरै छन् । मोबाइल आफैमा शिक्षक हो, घर परिवार,साथीसँग विद्यार्थी एक्सपोज भईरहेकोले अब पढ्ने पढाउने तरिका बदल्न पर्छ । सबैको मुखबाट विद्यार्थीले किताब पढ्दैन भनेको सुनिन्छ । पढेको पनि छैन, तर पढाउने तरिका बदलेनौ भने विद्यार्थी धेरै अगाडी हामी धेरै पछाडी पर्ने अवस्था हुन्छ ।”
त्यसैगरी विद्यार्थीले घरमा गरेका विभिन्न कार्यलाई विद्यालयको कक्षाकोठासँग शिक्षकले जोड्न सके विद्यार्थीको सिकाईमा फरक पर्ने लम्सालले बताए । विद्यार्थीको घरमा अर्कै माहोल हुने गरेको र विद्यालयले मात्रै सिकाएर नपुग्ने उल्लेख गर्दै घरमा काम गरेकोलाई विद्यालयमा भ्यालु गरिदिन सकियो भने फरक पर्ने बताए ।
“विद्यालयले पनि कक्षाकोठामा एउटा चेकलिस्ट बनाएर जसले घरमा काम गरेर आउँछ त्यो काम विद्यार्थीलाई लेख्न लगाउने र राम्रो काम गर्ने विद्यार्थीलाई विद्यालयमा पनि धन्यवाद दिने गर्नु पर्यो । ७ कक्षा वा ८ कक्षा माथिको बालबालिकालाई बिहान उठेर चिया पकाउन घरैमा अभिभावकले सिकाउनु पर्यो । त्यसलाई विद्यालयले वा शिक्षकले परियोजना कार्य दिनु पर्यो । किन भने हामी कहाँ यस्तो संस्कारै बनेन । घरमा काम गरेकोलाई विद्यालयमा भ्यालु गरिदिन सकियो भने फरक पर्छ । विद्यार्थी सोध्दा घरमा अर्के माहोल हुने गरेको र विद्यालयले मात्रै सिकाएरमात्रै पुग्दैन । त्यसकारण विद्यालयले केही क्रियाकलापहरू घरसँग जोडेर कक्षा शिक्षकले चेकलिष्टमा विद्यार्थीलाई सोधेर आज कसले काम गर्यो, घरमा के के काम गर्यो, सोधेर घरमा काम गरेर विद्यालयमा आउँदा राम्रो गरेछ भन्ने भाष्य बनाउने हो भने यसले फरक पर्छ” उनले भने ।



