सिद्धार्थ विद्यापीठ स्कुलको शैक्षिक प्रदर्शनी सम्पन्न

काठमाडौँ/१० फागुन – मध्यपुर थिमि नगरपालिकाको गट्ठाघरमा रहेको सिद्धार्थ विद्यापीठ स्कुलले शैक्षिक प्रदर्शनी-२०८२ शनिबार सम्पन्न गरेको छ । विद्यार्थीहरूले निर्माण गरेका परियोजना तथा विभिन्न प्रविधिको प्रदर्शनी गरिएको थियो ।


विद्यार्थीलाई नर्सरी देखि कक्षा १० सम्म गुणस्तरीय प्रविधियुक्त शिक्षा दिँदै आएको स्कुलले विद्यार्थीको शिक्षा, स्वास्थ्य, संस्कार र वातावरणको स्तर बढाउन विभिन्न कार्यक्रमको आयोजन गर्दै आइरहेको र त्यसै अन्तर्गत विद्यार्थीहरूले निर्माण गरेका परियोजनाहरूको प्रदर्शनी गरिएको संस्थापक प्रिन्सिपल दिपीका रिमाल थापाले बताइन ।

साथै परियोजनाहरूले उनीहरूमा लुकेको नवप्रवर्तनशील सोच र आविष्कार गर्ने क्षमता प्रस्ट रूपमा देखाएको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सचिव डा. हरि लम्सालले विद्यालयहरूले आयोजना गर्ने यस्ता खालका प्रदर्शनीले विद्यार्थीको क्षमता, सिर्जना, आविष्कार र नवप्रवर्तनशील सोचको विकास गर्न सहयोगी भूमिका खेल्ने बताए । उनले विद्यार्थीलाई पाठ्यक्रमसँगै घरमा गरेका कार्यहरूलाई पनि कक्षाकोठासम्म जोड्नु पर्नेमा जोड् दिए ।

प्रदर्शनीमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूले रोबोट प्रविधि, वातावरण संरक्षण, ऊर्जा स्रोतहरूको उपयोग र आधुनिक घर निर्माण प्रविधिसँगै आधुनिक शहरका नमुना परियोजना, सामाजिक संस्कार, मूल्य मान्यता र विभिन्न खेलहरूको प्रदर्शन गरेका थिए ।