काठमाडौँ /११ माघ – राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा। महाश्रम शर्माले नेपालमा शिक्षाका नीति बनाउँदा केन्द्रीय दृष्टिले मात्र बनाईदा समस्या हुने गरेको बताएका छन् । धरातलसम्म गएर, स्थानीय तहको समस्या, आवश्यकतालाई नहेर्ने, केन्द्रीय तहमा बनाएको नीति सबैतिर कार्यान्वयन गर्नुपर्छ भनेर लाद्ने प्रवृत्तिले राम्रा नीतिहरूले पनि सहि नतिजा नआउने समस्या रहेको उनको भनाई छ ।
खबर एजुकेशनले आयोजना गरेको विद्यालय शिक्षा रूपान्तरणमा नीतिगत सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै हामीले खोजेको सबै बालबालिकाको सिकाईमा रूपान्तरण हुन पाठ्यक्रम , सिकाई, आन्तरिक र बाह्य दुवै परीक्षामा समस्या देखिएको बताए ।
शर्माले सिकाई पद्धतिमा सुधारका लागि पूर्वीय र आधुनिक शिक्षा सिकाई प्रणालीको समन्वय आवश्यक रहेको विचार व्यक्त गरे । यसैगरी निःशुल्क शिक्षाको सन्दर्भमा बोल्दै संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेपनि सरकारले बजेटको व्यवस्था नगर्दा निःशुल्क शिक्षाको नारा पुरा हुन नसक्ने अवस्थामा रहेको बताए । उनले यस्तै अवस्था रहने भए संविधानको उक्त बुँदा संशोधन गर्नुपर्ने देखिएको बताए । उनले भने “विश्वले निःशुल्क शिक्षा दिइरहेको अवस्थामा नेपालले नसक्ने भन्ने त होइन तर योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।”
यसैगरी विद्यार्थीको परीक्षा लिँदा सानो कक्षादेखि नै सुधार्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै परीक्षा नै हटाउनुपर्ने आवश्यकता नरहेको तर परीक्षा प्रणालीमा सुधार गर्न। आवश्यक रहेको औँल्याए । एकै पटक ठूला कक्षामा पुगेपछि मात्र परीक्षामा कडाई गर्दा राम्रो नतिजा नआएको उनको भनाई छ । शिक्षा क्षेत्रको सुधारका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गर्दै शिक्षकलाई तालिम, अवसर र क्षमता अभिवृद्धिका लागि लगानी गर्नुपर्ने सुझाब दिएका छन् ।



