आगामी चुनावमा निजी विद्यालयको समस्या बुझ्ने नेतृत्व चयन गर्न पुरीको आग्रह

विराटनगर/२८ पुष – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार टीकाराम पुरीले विद्यालय तथा विश्वविद्यालयहरुले देशमै उत्पादन गर्ने जनशक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।


विराटनगरमा आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद् भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।


अहिलेको नयाँ पुस्तालाई शिक्षा र पेशा छोडेर झोला बोक्न उक्साउने प्रवृत्तिले देशलाई झन् कङ्गाल बनाउने तर्क गर्दै उनिहरुलाई उत्पादन गर्न सक्ने सिपसहितको शिक्षामा जोड् दिनुपर्ने बताए ।


शिक्षक र विद्यालय सञ्चालकहरूले विद्यार्थीलाई पहिला पढ्न, एउटा पेशा अंगाल्न र त्यसपछि मात्रै राजनीतिमा चासो राख्न सिकाउनुपर्ने उनको भनाई थियो । उनले ३२ वर्ष स्कुल चलाएँ पनि ५०–६० लाखको गाडी ऋणमै चढेको बताउँदै कुनै निश्चित आयस्रोत नभएका नेताहरू साढे तीन–चार करोडको गाडी चढ्ने गरेको र निजी शैक्षिक सञ्चालकहरुलाई ‘शिक्षाका माफिया, शोषक र व्यापारी’ भन्दै गाली गर्ने गरेको बताए ।


आसन्न निर्वाचन र नयाँ बन्ने सरकारको सन्दर्भमा बोल्दै पुरीले भावनामा आएर वा सामाजिक सञ्जालको भरमा निर्णय नगर्न र निजी विद्यालयका समस्या बुझेर नीति–नियम बनाउँदा सहयोग गर्ने नेतृत्व चयन गर्न आग्रह गरे ।