दलित छात्राका लागि ‘जुठे दमाई र टिकाराम पार्की ‘ छात्रवृत्ति

कैलाली/२७ पुष – धनगढी उपमहानगरपालिकाले ४० सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्मका ५७६ जना र उच्च शिक्षाका लागि अध्ययनरत ४ जना गरी ५८० जना दलित छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा घोषणा गरे बमोजिम छात्रवृत्ति प्रदान गरेको हो ।


दलित अभियन्ताहरूका नामबाट कक्षा ८ देखि १० कक्षासम्म अध्ययनरत दलित छात्राका लागि ‘जुठे दमाई छात्रवृत्ति कार्यक्रम’ र उच्च शिक्षा अथवा १२ कक्षादेखि स्नातकसम्म अध्ययनरत दलित छात्राका लागि ‘टिकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ नीति तथा कार्यक्रम मार्फत घोषणा गरिएको थियो ।


उपमहानगरभित्र दलित छात्राहरुको विद्यालय भर्नादर कम रहेको र एसईईसम्म थोरै मात्र छात्राहरुले पढ्ने गरेकोले छात्रवृत्ति कार्यक्रम ल्याइएको पालिकाको भनाई छ । साथै उच्च शिक्षाका लागि नगन्य दलित छात्राहरु अध्ययनरत छन् । दलित समुदायका विद्यार्थी त्यसमा पनि महिलाहरु अझ सशक्त हुन भन्ने उदेश्यले छात्रवृत्ति कार्यक्रम ल्याइएको उपमहानगर जनाएको छ ।
उपमहानगरपालिकाले प्रति छात्रा एउटा झोला, एक दर्जन कापी र एक दर्जन डट्पेन गरी वार्षिक ढाई हजार भन्दा बढीको अध्ययन सामाग्री वितरण गर्नेछ ।

यसैगरी उच्चशिक्षा तर्फ छात्रवृत्ति योजनाअन्तर्गत शारदा माध्यमिक विद्यालयमा कृषि विषयमा डिप्लोमा गरिरहेकी छात्रा आशिकाकुमारी पार्कीलाई एक वर्षको शुल्क वापतको ६२ हजार पाँच सय, फूलबारी बहुमुखी क्याम्पसमा अध्ययनरत सीमा विकलाई पहिलो वर्षको शुल्कका लागि २३ हजार ५० रुपैयाँ, चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीमा कक्षा ११ मा अध्ययनरत विसिका सुनारलाई एक वर्षको शुल्क ७ हजार ५७५ तथा कैलाली बहुमुखी क्याम्पस मनिषा कुमारी सार्कीलाई पहिलो र दोस्रो सेमेस्टरको शुल्क ७ हजार २५० रुपैयाँ प्रदान गरिएको छ ।