काठमाडौँ /१८ पुष – यस लेख विद्यालय शिक्षाको वर्तमान अवस्था, चुनौति र समस्या सामाधानका विषयमा केन्द्रीत रहेको छ । यसका अघिल्ला दुई भाग प्रकाशन गरि सकिएको छ ।
१०. मध्यम स्तरीय प्राविधिक शिक्षा र क्षमता
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गत बृहद आकारका बहु –प्राविधिक महाविद्यालय, सामान्य प्राविधिक विद्यालय आङ्गिक–६६, सम्बन्धन प्राप्त साझेदार –५२, सामुदायिक टेक्स विद्यालय– ६३६ तथा निजी टेक्स विद्यालय –४२२ गरी जम्मा १,१७६ कलेजहरू क्रियाशील छन् । समग्र परिषद व्यवस्थापन तथा सञ्चालन गर्न स्थायी जनशक्ति दरवन्दी ९३२ व्यवस्था गरिएको छ ।
१०.१. प्राविधिक तथा व्यावसायिक शिक्षा पहुँच सुविधा र भर्ना क्षमता
जनशक्तिको विद्यमान ९३२ दरवन्दीको अपर्याप्त ताको समस्या आन्तरिक रूपमा सामना गर्दै, सिटिइभिटी मार्फत नै प्राविधिक धार तर्फ योग्यता मुलक तथा प्रशिक्षण सिप दिने–२,३६३ वटा शैक्षिक कार्यक्रम सञ्चालन हुन्छन् । कुनै प्राविधिक महाविद्यालयमा –५/५ ,कुनैमा –३/३, कुनैमा –२/२ र कुनैमा एउटा मात्र प्राविधिक विषय धार अध्यापनको सुविधा छ ।
इन्जिनियरिङ्ग विषयमा विद्यार्थी तथा कक्षा अनुपात –४८ जना तोकिएको छ। प्रायः अन्य सबै विषयमा विद्यार्थी तथा कक्षा अनुपात –४०जना निर्धारण छ ।
प्रि–डिप्लोमा १८ महिना र डिप्लोमा ३ वर्षको शैक्षिक उपाधि हुने व्यवस्था छ । परिषदको मापदण्ड बमोजिम ८४ हजार विद्यार्थीले प्रत्येक वर्ष नयाँ भर्ना भई विविध प्राविधिक तथा व्यावसायिक विषय अध्ययन गर्न अवसर र सुविधा छ ।
प्राविधिक धारको प्रत्येक कक्षामा कम्तिमा ४० र अधिकतम ४८ विद्यार्थी भर्ना कोटा तोकिएको छ । यसरी (कक्षा ९–१२) चलेका प्रत्येक विद्यालय मा निम्नतम १६० र अधिकतम १९२ जना विद्यार्थी भर्ना हुने क्षमता देखिन्छ ।
१०.१.क) पठनपाठनका विषय तथा क्षेत्रहरू
मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने विषयहरू जस्तै– स्वास्थ्य, कृषि, सिभिल, मेकानिकल, इलेक्ट्रोनिक इन्जिनियरिङ्ग, ड्राइभिङ, प्लम्बिङ, इलेक्ट्रीसियन, फुड टेक्नोलोजी, टेक्सटाइल एण्ड सेरीकल्चर,लाइभ स्टक प्रोडक्सन एण्ड एनिमल साइन्स, कम्युनिटी आम्ची तथा अकुपञ्चर, अकुप्रेसर र मुक्जिवेशन, होटल म्यानेजमेन्ट, वाटर सप्लाइ एण्ड सेनिटरी,बायो मेडिकल इक्युपमेन्ट, होमियोप्याथी, इन्टरप्रेन सिप डेभलपमेन्ट, फिजियो थेरापी आदि जस्ता दर्जनौं प्रकृतिका जनशक्ति उत्पादन गर्ने पठन पाठन देशमा सञ्चालन भइरहेछ ।
साथै, शिक्षा मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत ५३७ वटा सामुदायिक माध्यमिक विद्यालयमा ५ विषयका (सिभिल,मेकानिकल,इलेक्ट्रोनिक इन्जिनि यरिङ्ग, पशु तथा बाली विज्ञान र कम्प्युटर इन्जिनियरिङ्ग) प्राविधिक धार सञ्चालित छ ।
१०.१.ख) जनशक्ति विकास अवस्था
सिटिइभिटी स्थापना काल २०४५ देखि २०८१ सालसम्मको अवधिमा प्रि– डिप्लोमा तर्फ २,७२,८५७ तथा डिप्लोमा तर्फ १,६३,५७५ जना प्राविधिक तथा व्यावसायिक निम्न मध्यम र मध्यम स्तरको शिक्षा सिप बाट ४,३६,४३२ जना लाभान्वित भएको देखिन्छ ।
त्यस्तै व्यावसायिक तथा प्राविधिक सिप प्रतिष्ठानको चार वटा तहको सिप परीक्षण अनुसार ४,९७,९४६ जना जनशक्तिले आफ्नो सिप परीक्षण योग्यताको प्रमाणपत्र लिएर बजारमा गएको परिषदको अभिलेख देखिन्छ ।
मुलुकलाई आवश्यक पर्ने निम्न, मध्यम स्तरका विभिन्न विधा र विषयका जनशक्ति तयार पार्न प्रत्येक वर्ष कुल क्षमताको आधा ४०/४५ हजार मात्र भर्ना हुने गरेका छन् । विद्यार्थीहरूको सिकाइ अध्ययन, मूल्याङ्कन विधि, सिप र योग्यता क्षमता मापन जस्ता औपचारिक परीक्षामा कुल सहभागी हुने मध्ये ६८.३३ को हाराहारीमा विद्यार्थी उत्तीर्ण भई श्रम बजारमा पुग्छन् ।
सामुदायिक विद्यालय प्राविधिक धारमा वर्षेनि ३०/३५ हजार प्रति कक्षा अनुपात १४/१५ जना विद्यार्थी भर्ना भई निःशुल्क पढाइबाट लाभ लिई श्रम बजारमा पुग्छन् ।
१०.२. मध्यम स्तरीय प्राविधिक शिक्षा व्यवस्था समस्या र चुनौति
मुलुकमा बहु– प्राविधिक विद्यालय, महाविद्यालय र निजी कलेजहरू जनताको माग अनुसार धमाधम स्थापना र विस्तार हुँदै जाने क्रम उच्च छ । तर परिषदमा स्थायी जनशक्तिको पर्याप्त व्यवस्था र दरवन्दी नहुनाले करार, अस्थायी र ज्याला दारी तथा निजी स्रोतका जनशक्तिको भरमा शैक्षिक संस्था चल्न पर्दा व्यवस्थापन र शैक्षिक गुणस्तरमा समेत प्रशस्त चुनौति बढेको निष्कर्ष छ ।
साथै, नेतृत्वदायी भूमिकामा रह्नेहरूबाट कानुन सम्मत नियमन, नियन्त्रण र सुशासनमा समस्या पनि बढ्दै गएको सुनिन्छ, तथ्यका आधारमा यस वास्तविकतालाई नजर अन्दाज गर्न पनि सकिंदैन । अतः मुलुकको निम्न र मध्यम स्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन, व्यवस्थापन देशको समृद्धिका लागि देहायका व्यस्थापकीय समस्या र चुनौती देखिएका छन् ।
१०.२. क) प्राविधिक शिक्षा समस्या र चुनौती
१) सरकारी तहबाट निम्न र मध्यम स्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा व्यवस्थापनमा आवश्यक आर्थिक लगानी बढाउन नसक्दा शैक्षिक सुविधा विस्तार भएपनि सिप युक्त जनशक्ति उत्पादन कमजोर छ ।
२) राजनीतिक दवावमा मुलुकभर आङ्गिक र सम्बन्धन कलेजको विस्तार गरिए पनि शैक्षिक संस्थामा दक्ष प्रशिक्षकको अभाव(स्थायी दरबन्दी आवश्यकता अनुसार नहुँदा)ले प्रशिक्षार्थीलाई दिइएको शिक्षामा पर्याप्त गुणस्तर हासिल हुन सकेको छैन ।
३) सरकारी आर्थिक लगानी र उपलब्ध छात्रवृत्ति वा सहुलियत सुविधाबाट तयार जनशक्तिको उपयोग नीति तथा श्रम बजार स्पष्ट छैन ।
४) राज्यको साधन स्रोतको सही सदुपयोग गरी उत्पादित जनशक्तिलाई सार्वजनिक क्षेत्र(स्वदेश तथा विदेश) को बजारमा रोजगारका अवसर दिने तथा पहुँच बढाउने राज्यसंग कुनै नीति छैन ।
५) स्थानीय तह, प्रदेश तह र संघ सरकारले समेत आ–आफ्नो अधिकार क्षेत्रमा यो यो विषयका यस्तो योग्यता भएका यति जनशक्ति उत्पादन गर्ने र प्रयोग गरिने भन्ने कुनै विकासका योजनाहरु प्रस्ताव र आर्थिक सहायता माग गर्ने गरेको देखिदैंन ।
६) जनशक्ति उत्पादन,विकास र प्रयोग हुने र गर्ने आर्थिक लगानीको अंश भार छुट्टिने मापदण्ड तयार गरी ससर्त जनशक्ति उत्पादन गर्ने नीतिको अभाव छ ।
७) मध्यमस्तरीय जनशक्ति विकास नीति नहुँदा, लहडमा चलाइने शैक्षिक कार्यक्रममा राज्यको अरबौं अरब लगानीको प्रतिफल अपेक्षाकृत निराशाजनक देखिन्छ र देशले प्रशस्त लाभ लिन सकेको छैन ।
८) जस्तै–ः विगत तीन चार वर्षदेखि साझेदार प्राविधिक विद्यालय, सामुदायिक टेक्स विद्यालय र निजी टेक्स विद्यालयहरूमा सञ्चालित निम्न मध्यम स्तरका स्वास्थ्य जनशक्ति उत्पादन राज्य नीतिका कारण अन्यौलमा छन् र विद्यार्थी भर्नामा समस्या छ र लगानी खेर गएको छ ।
९) त्यस्तै भौतिक पूर्वाधार, दक्ष मानवीय शक्तिको अभावमा अन्य प्राविधिक तथा व्यावसायिक विषयमा पनि सामुदायिक र निजी टेक्स विद्यालयतर्फ विद्यार्थी आकर्षण घट्दो छ ।
१०) प्राविधिक तथा व्यावसायिक जनशक्तिको श्रम बजार सुनिश्चित नहुँदा परिषदको कुल भर्ना क्षमता ८४ हजारको आधा पचास प्रतिशत ४४/४५ हजारको हाराहारीमा मात्र प्राविधिक विषयमा विद्यार्थी पढ्ने गरेको अवस्था छ। यसले ठुलो आर्थिक लगानी खेर गएको छ ।
११) आङ्गिक बहु– प्राविधिक महाविद्यालय र प्राविधिक विद्यालयमा भर्ना अवसर मिलेसम्म टेक्स विद्यालयमा अध्ययन गर्न विद्यार्थी नजाने स्थितिले टेक्स विद्यालयहरूमा भौतिक पूर्वाधार, मानवीय संसाधन र शुल्क आदिमा धेरै समस्या छ भन्ने देखिन्छ ।
१२) ५३७ सामुदायिक विद्यालयको प्राविधिक धारमा प्रति कक्षा –४८ (कक्षा–९–१२) को जम्मा प्रति विद्यालय–१९२ जनाले जोड्दा–१,०३,१०४ भर्ना हुन सक्छन्। त्यस्तै प्रति कक्षा –४० जनाले जोड्दा पनि –८५,९२०विद्यार्थीले लाभ लिन सक्छन्। अझ प्रति विद्यालय झण्डै पचास प्रतिशतले कम गरी– २५ जना बराबर एक कक्षाको गणना गर्दा पनि–५३,७००जना विद्यार्थीले अवसर पाउन सक्छन् । तर वास्तविकता नितान्त फरक प्रति कक्षा अनुपात १४÷१५ जना विद्यार्थी मात्र भर्ना हुने गरेको देखिन्छ ।
१३) यसले प्राविधिक तथा व्यावसायिक शिक्षा मुलुक व्यापी पहुँच विस्तार र अवसर उपलब्ध हुँदा पनि विद्यार्थी भर्ना आकर्षण अभावले सामाजिक स्वीकार्यता र विश्वास कमजोर रहेको तथा उत्पादित जनशक्तिले आकर्षण वृद्धि गर्न नसकेको र राज्यको लगानीले अपेक्षित सार्थक नतिजा नदिएको स्पष्ट हुन्छ ।
१४) समग्रमा राज्यको मुख्य नीतिगत उदासिनता र अन्यौलता तथा नेतृत्वको कार्य द्विविधा र आर्थिक लगानी नै प्राविधिक तथा व्यावसायिक शिक्षामा देखिएका मुख्य समस्याहरू हुन् भन्ने निचोड निस्कन्छ ।
१०.२.ख) मध्यमस्तरीय प्राविधिक शिक्षा भावी मार्ग
कुनै पनि विषय क्षेत्रगत जनशक्ति उत्पादन र श्रम बजारमा गुणात्मक प्रतिस्पर्धाका पक्षमा सहभागिता र सफलता प्राप्त गर्न आम जनताको विश्वास प्राप्त गर्न राज्य,सरकार र वुद्धिजीवि वर्गको अहम् भूमिका रहन्छ । अतः प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्धनका लागि समस्याहरू हल गर्न दीर्घकालिन रूपमा देहायका नीति र उपायहरू आवश्यक छ ।
१) मुलुकको प्राविधिक तथा व्यावसायिक शिक्षाको एकीकृत अधिकार र जवाफदेहिता परिषदमा सुनिश्चित गरी एक द्वारबाट सञ्चालन गर्ने ।
२) बहु– प्राविधिक महाविद्यालय (पुराना–१२ वटा) लाई अझ क्षमता विस्तार गरी पूर्ण आवासीय सुविधा युक्त बनाउने र पूर्ण क्षमतामा एक वा दुई चरणमा समेत सञ्चालन गरी सबै विषय क्षेत्र वा कम्तिमा पाँच विषयको प्रशिक्षण केन्द्र बनाउने र हजारौं विद्यार्थीलाई पहुँच अवसर दिने ।
३) आङ्गिक प्राविधिक विद्यालय नयाँ ५४ वटा लाई पनि परिषदको स्थायी दरवन्दी अनुसार एक वा दुई विषय चलाउने वा सबै सामुदायिक टेक्स विद्यालय– ६३६ र सामुदायिक प्राविधिक धार सञ्चालित –५३७ विद्यालयहरूमा नै समायोजन गर्ने ।
४) प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि संघ,प्रदेश,जिल्ला, स्थानीय तह समेत स्पष्ट तोकेर बहु– प्राविधिक,प्राविधिक र सामुदायिक प्राविधिक टेक्स र धार दुवै समेतको विद्यालय नक्साङ्कन र विषय क्षेत्रगत सेवा क्षेत्र निर्धारण गर्ने ।
५) सामुदायिक टेक्स तथा सामुदायिक प्राविधिक धारका विद्यालयको भौतिक पूर्वाधार, मानवीय स्रोत र जग्गाजमिनको सुविधा वैज्ञानिक किसिमले अध्ययन गरी त्यहाँ प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्न औचित्यपूर्ण देखिएमा ती संस्थालाई परिषदको मातहत ल्याउने ।
६) सामुदायिक टेक्स तथा सामुदायिक प्राविधिक धारका विद्यालयको भौतिक पूर्वाधार, मानवीय स्रोत र जग्गा जमिन उपयोग अवस्था कमजोर भएमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षा बन्द गर्ने ।
७) परिषद संग साझेदार गरी सञ्चालित–५२ तथा निजी टेक्स –४२२ विद्यालय सञ्चालन कानुनी विधि र प्रक्रियाको मापदण्ड बनाएर निरन्तरता दिने वा बन्द नै गर्ने परिषद स्पष्ट हुनुपर्ने ।
८) अन्य अन्य मन्त्रालय र निकाय मातहतका प्राविधिक तथा व्यावसायिक तालिम, प्रशिक्षण तथा सिप विकास केन्द्रहरू सबैलाई कानुन बनाएर मध्यम स्तरको एकीकृत जनशक्ति विकासको जिम्मा परिषद मातहत ल्याउने ।
९) प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ प्रि– डिप्लोमा र डिप्लोमा तथा विशिष्टीकृत प्राविधिक विषयहरूको शैक्षिक योग्यता हासिल गर्ने विद्यार्थीका लागि ससर्त छात्रवृत्ति दिने वा सहुलियत दरमा शैक्षिक ऋण दिने विशेष नीति लिने ।
१०) स्वदेश तथा विदेशको श्रम बजार तोकेर निजी क्षेत्रको बजार मूल्य अनुरूप प्राविधिक विषय क्षेत्रमा सरकारी छात्रवृत्ति दिने वा सहुलियत दरमा शैक्षिक ऋण राज्यले नै दिने स्पष्ट नीति कार्यान्वयन गर्ने ।
११) उत्पादित जनशक्तिले सर्त बमोजिम सरकारी सेवामा तोकिएको समयसम्म समर्पित हुने वा उत्पादित जनशक्तिले स्वेच्छिक (स्वदेश,विदेश) रोजगारीको अवसर रोज्ने छुट दिने तर आयार्जन गरी क्रमशः शैक्षिक ऋण तिर्ने व्यवस्था गर्ने ।
१२) स्थानीय तह र प्रदेशले प्रत्येक वर्ष आफूलाई चाहिएको विषयगत जनशक्तिको सूची र छात्रवृत्ति वा सहुलियतको घोषणा सहित, शैक्षिक ऋणको कोष खडा र कार्यान्वयन गर्ने ।
१३) संघ,प्रदेश र स्थानीय तहको समन्वयमा आर्थिक लगानीमा तह बमोजिमको अंश भार व्यहोरेर विद्यालय क्षेत्रको स्थानीय माग बमोजिम तिन र छ महिने अल्पकालीन विविध विषयको व्यावसायिक सिप तालिम सिटिइभिटीले अनिवार्य दिने व्यवस्था गर्ने ।
१४) साधारण माध्यमिक विद्यालय अध्ययन पुरा गरी कक्षा १० को एसइइ तथा कक्षा १२ को एसएलसी परीक्षा दिएर नतिजामा नन ग्रेड हुने सबै विद्यार्थीलाई कम्तिमा छ महिना प्राविधिक तथा व्यावसायिक स्थानीय बजार माग बमोजिम विभिन्न विषयमा तालिम दिएर जनशक्ति तयार पार्ने ।
अन्तमा दुरगामी सोच र सही नीतिको निर्माण र कार्यान्वयनले मात्र मुलुक दोहनको पिडा दायी कथा अन्त्य हुने तथा विकास र समृद्धिको मार्गमा अपेक्षित नतिजा दिने छ भन्ने यथार्थ इतिहास देखि अहिलेसम्म मुलुकले पाएको प्रतिफलको अनुभवमा भन्न सकिन्छ । यस किसिमको नीति निर्माण र कार्यान्वयनमा सरकार आर्थिक लगानी गर्न भाग्न हुँदैन अध्ययनको निचोड छ ।
(लेखक ईश्वरीप्रसाद पोखरेल नेपाल सरकारका पूर्व उपसचिव हुन् । पोखरेल लामो समय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेर जिम्मेवारी समालेका थिए । साथै यस लेखलाई ४ भागमा विभाजन गरिएको छ । यो तेस्रो भाग हो ।)



