काठमाडौँ /२४ मंसिर – ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सो कुरा बताएकी हुन् ।
उनले भनिन,‘लगानी वृद्धिसँगै उच्च शिक्षाको गैर राजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हामीले केही ठोस कदमहरू चालेका छौँ । पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । शिक्षामन्त्री महावीर पुनज्यूले शिक्षाविद्, विश्वविद्यालयका उपकुलपति लगायतका उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ । ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।’
प्रधानमन्त्री कार्कीले विश्वभर उच्च शिक्षामा अफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी तथा भूराजनीतिक परिवर्तनले नयाँ चुनौती र अवसर सिर्जना गरिरहेको बताउँदै नेपालले पनि उच्च शिक्षामा ठूलो मात्रामा लगानी बढाउनुपर्ने आवश्यकता दोहो¥याइन् ।
उनले काठमाडौं विश्वविद्यालयले नवप्रवर्तन र प्राज्ञिक उत्कृष्टतामा स्थापित गरेको मोडेल अन्य विश्वविद्यालयले पनि अवलम्बन गर्नुपर्नेमा जोड् दिइन ।



