शिक्षकले दिने दण्ड वा सजायले विद्यार्थीलाई विद्रोही बनाउन सक्छ

काठमाडौँ /२३ मंसिर – विद्यालय विद्यार्थीको सिकाइ विकास र व्यक्तित्व निर्माणको महत्वपूर्ण केन्द्र हो । तर कतिपय अवस्थामा शिक्षकले शिक्षण प्रक्रियामा अनुशासन कायम गर्ने नाममा दिइने दण्ड वा सजायले विद्यार्थीको मनोवैज्ञानिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । दण्डले तत्काल अनुशासन देखाए जस्तो लागे पनि दीर्घकालीन रूपमा यसले विद्यार्थीको आत्मविश्वास, भावनात्मक स्थिरता र शैक्षिक प्रदर्शनमा नकारात्मक प्रभाव पार्छ ।


सबैभन्दा पहिला, सजायले विद्यार्थीमा डर र तनाव बढाउँछ । जब शिक्षकले चर्को आवाजमा बोल्ने, कक्षाबाट निकाल्ने, बेइज्जत गर्ने वा शारीरिक दण्ड दिने जस्ता व्यवहार गर्छन्, विद्यार्थीको मस्तिष्क त्रासले भरिन्छ । यस्तो अवस्थामा विद्यार्थीहरू सिकाइभन्दा बढी सजायबाट कसरी बच्ने भन्ने डरमा केन्द्रित हुन्छन् । उनीहरू कक्षामा बोल्न डराउँछन्, प्रश्न गर्न झनै हिचकिचाउँछन्, जसका कारणले विद्यार्थीको सिकाइ गुणस्तर डामाडोल हुन्छ ।


दण्डको अर्को गम्भीर प्रभाव आत्मसम्मान कमजोर हुनु हो । सार्वजनिक रूपमा गाली गर्नु वा अरू साथीहरूको अगाडि अपमानजनक रूपमा व्यवहार गर्नुले बालबालिकामा “म कमजोर छु”, “मले केही गर्न सक्दीन” भन्ने नकारात्मक सोच हाबी हुन्छ । यस्तो सोचले उनीहरूको आत्मविश्वास घटाउँदै लग्छ, अन्तर्मुखी बनाउँछ र सामाजिक गतिविधिमा भाग लिनबाट टाढा भाग्छन् ।


यस्तै, निरन्तर सजाय पाउने विद्यार्थीमा आक्रामकता वा विद्रोही व्यवहार देखिन सक्छ । बच्चाहरू धेरैजसो व्यवहार अनुकृत गर्छन् । यदि शिक्षकबाट कठोरता, चर्कोपन र आक्रामकता अनुभव गर्छन् भने उनीहरू पनि यस्तै व्यवहार अरूसँग गर्न पुग्छन् । कहिलेकाहीँ सजायले दबेको क्रोधलाई बाहिर ल्याउँछ, जसले झगडा गर्ने, नियम तोड्ने वा घरमा समेत आक्रामक बन्ने जस्ता समस्या जन्माउँछ ।


सजायको प्रभाव केवल व्यवहारमा मात्र सीमित हुँदैन, यसले शैक्षिक उपलब्धिमा पनि गिरावट ल्याउँछ । मनोवैज्ञानिक त्रासले ध्यान केन्द्रित गर्न कठिन बनाउँछ, पढाइमा रुचि हराउँछ र सिकाइप्रति नकारात्मक दृष्टिकोण विकास हुन्छ । धेरै विद्यार्थीहरूले कक्षालाई नै डराउने ठाउँको रूपमा बुझ्छन्, जसले उनीहरूको बौद्धिक विकास अवरुद्ध गर्न सक्छ ।


अन्ततः लगातार दण्डले शिक्षक–विद्यार्थी सम्बन्ध बिग्रन्छ । विश्वास, सम्मान र आत्मीयता विकास हुनुपर्ने स्थानमा डर, दूरी र कुण्ठा बस्छ । विद्यार्थीले शिक्षकलाई सहयोगी मार्गदर्शक नभई नियन्त्रणकारी व्यक्ति रूपमा हेर्न थाल्छन् । यस्तो सम्बन्धले सकारात्मक सिकाइ वातावरण निर्माण हुन दिँदैन ।


यसकारण, अनुशासन शिक्षणको आवश्यक पक्ष भए पनि यसको सकारात्मक र शैक्षिक रूप प्रयोग गर्नुपर्छ । संवाद, परामर्श, सकारात्मक प्रोत्साहन, समस्याको कारण पहिचान र सहयोगी वातावरण निर्माण जस्ता तरिकाहरू दण्डभन्दा धेरै प्रभावकारी हुन्छन् ।बालबालिकाको मनोवैज्ञानिक विकासलाई ध्यानमा राख्दै शिक्षकले संवेदनशील, धैर्यशील र सहानुभूतिपूर्ण व्यवहार अपनाउनु पर्छ ।


यसरी, शिक्षकले दिने सजायले विद्यार्थीमा गहिरो मनोवैज्ञानिक त्रास सिर्जना गर्ने भएकाले अनुशासन लाद्ने भन्दा सम्झाउने, मार्गदर्शन गर्ने र प्रेरित गर्ने अभ्यास गर्नु उत्कृष्ट हुन्छ । साथै शिक्षकको नरम व्यवहार, संवाद र मार्गदर्शनले विद्यार्थीलाई सुरक्षित, आत्मविश्वासी र सृजनशील बनाउँछ । जसले उनिहरूको भविष्य मात्रै होइन, समाजको भविष्य पनि उज्यालो बन्छ ।