कठमाडौँ /१९ मंसिर – कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आव्दन दिन आग्रह गरेका छन् । उपकुलपति पदका लागि दुईपटक सम्म विज्ञापन गर्दा कसैको आवेदन नपरेको बताउँदै योग्य व्यक्तिलाई आवेदन दिन आग्रह गरेका हुन् ।
‘सुदूरपश्चिम प्रदेश धनगढीनजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई १० वर्ष काम गरेको कोही नेपाल आमाको देशभक्त सन्तान हुनुहुन्छ भने निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस समितिले १५ कात्तिकमा १५ दिनको अवधि राख्दै आवेदन माग गरेको थियो । तर, उपकुलपतिका लागि आवेदन नपरेपछि ५ मंसिरसम्म म्याद थप गरिएको थियो । तर, थप गरिएको म्यादमा पनि आवेदन परेन । विश्वविद्यालयको रजिस्ट्रारका लागि भने १० जनाको आवेदन स्वीकृत भइसकेको छ ।



