विद्यार्थीलाई कानुन सिकाउँदै विद्यार्थी

तुल्सीपुर/१९ मंसिर – तुल्सीपुर मेट्रो कलेज कानून संकायमा अध्ययन गर्ने नविन केसी यतिबेला गाउँ गाउँका विद्यालयमा पुगेर विद्यार्थीहरूलाई कानुनी ज्ञान बाँडिरहेका छन् । विद्यार्थीहरूका लागि आवश्यक पर्ने बालविवाह, बालअधिकार, लैङ्गिक हिँसा लगायतका विविध विषयमा उनीहरूले विद्यार्थीहरूसँग ज्ञान बाँडिरहेका छन् । दंगिशरण गाउँपालिकाको माध्यमिक विद्यालय मधुपुरमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई कानुनी ज्ञान बाँडेका केसीले विद्यार्थीहरू कानूनका विभिन्न विषयमा जानकारी पाउँदा खुसी भएको बताए ।


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेलामा विद्यार्थीहरूले यसरी कानुनी ज्ञान बाँडेका हुन । “कतिपय साना साना कुरा पनि थाहा नहुँदा विद्यार्थीहरू आफ्नो अधिकारबाट बन्चित भएको पाईयो” कानून संकायमै अध्ययनरत विद्यार्थी सविना रानाले बताइन् । उनले बालविवाहका बारेमा कानुनी साक्षरता फैलाउन सकिए न्यूनीकरण गर्न सकिने पनि बताइन् ।


विद्यार्थीहरूले गाउँ गाउँमा कानुनी ज्ञान बाँडेर आम समुदायलाई सचेत बनाएको भन्दै दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले प्रशंसा गरे । उनले कानून जानेको छैन भनेर कसैलाई पनि क्षमा नहुने भन्दै यसको ज्ञान अपरिहार्य रहेको कुरामा जोड दिए ।


तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर २ मा रहेको माध्यमिक विद्यालय बालापुरमा पनि विद्यार्थीहरूले यसैगरी कानुनी ज्ञान बाँडेको विद्यार्थी सविन बस्नेतले बताए । उनले विद्यार्थीहरूमा कानुनी ज्ञानप्रति चासो समेत बढेको उनको भनाई थियो । “कानूनले कसैलाई काखा र कसैलाई पाखा नगर्ने भएको हुँदा यसको कार्यान्वयनमा सबै जागरुक हुनुपर्दछ भनेर हामीले कानुनी ज्ञान बाँड्दै हिडेका हौ” विद्यार्थी आयुष उप्रेती बताए ।


कलेजले विगतदेखि नै विकट गाउँ ठाउँमा कानुनी ज्ञान बाँड्नका लागि विद्यार्थी परिचालन गरिरहेको कलेज प्रमुख वसन्त आचार्यले बताए । उनले विद्यार्थीहरूले करिब १ दर्जन विद्यालयहरूमा यस्तो कार्यक्रम सञ्चालन गरिएको पनि जानकारी दिए ।