काठमाडौँ /१७ मंसिर – नेपालको उच्च शिक्षामा सार्वजनिक शिक्षालाई राम्रो नबनाई उच्च शिक्षा राम्रो बनाउन नसकिने काठमाडौँ मोडेल कलेजका कलेज चिफ सुरेन्द्र सुवेदीले बताएका छन् ।
उच्च शिक्षाको जिम्मेवारी र नेतृत्वको सवालमा उच्च शिक्षा ऐनमा व्यवस्था हुनुपर्ने विचार व्यक्त गर्दै विश्वविद्यालयका आंगिक क्याम्पसले ओगटेको भागलाई मात्रै हेरेर नीति बनाउन नहुने उनको तर्क छ ।
उनले भने “नेपालको उच्च शिक्षामा सार्वजनिक शिक्षालाई राम्रो नबनाई उच्च शिक्षा राम्रो बनाउन सकिदैन भन्दै गर्दा अहिले उच्च शिक्षामा योगदान दिने वा यो परिवेशमा को कोले कसरी योगदान दिएका छन् भन्ने कुरालाई बिर्सन हुदैन । उच्च शिक्षामा विश्वविद्यालयका क्याम्पसहरूको २५ देखि ३० प्रतिशत योगदान छ । ३० प्रतिशत योगदान कम्पनी अन्तर्गत सञ्चालित निजि कलेजहरूको रहेको छ । ४० प्रतिशत सामुदायिक स्तरमा सञ्चालनमा रहेका कलेजले उच्च शिक्षामा योगदान दिएका छन् ।”
उनले ३० प्रतिशत भाग ओगटेका आंगिक क्याम्पसहरूलाई मात्रै हेरेर उच्च शिक्षाको नीति बनायौँ भने ठुलो कुराबाट चुक्ने सुवेदीले दाबी गरे ।
त्रिविको मात्रै हेर्ने हो भनेपनि सबै कलेजका विद्यार्थीको सङ्ख्या गन्ने तर शिक्षकहरूको सङ्ख्या त्रिविको मात्रै गन्ने गरेको उदाहरण दिँदै विद्यार्थी शिक्षकको रेसियो नमिल्लने देखिएकोले साना सानामा कुरामा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।
१० वर्षको अन्तरालमा धेरै विश्वविद्यालय थपिएपनि उनिहरूले सञ्चालन गर्ने कार्यक्रम एउटै प्रकृतिका रहेको बताउँदै नयाँ नयाँ तरिकाबाट सोच्न र इनोभेटिभ, इनिसियटिभ लिने प्राइभेट विश्वविद्यालयका लागि बाटो खोल्नु पर्ने विचार व्यक्त गरे ।
“१० वर्षको अन्तरालमा कति विश्वविद्यालय थपियो र कुन विश्वविद्यालयले नयाँ आयाम शिक्षा दिए भनेर हेर्ने हो भने सबै एउटै ढंगबाट गएको देखिन्छ । यदी त्यो कुरा सार्वजनिक विश्वविद्यालयबाट सम्भव छैन भने अलिकति प्रतिस्पर्धाको भावना राख्दै इनोभेटिभ र इनिसियटिभ लिनका लागि प्राइभेट स्तरमा कसैले विश्वविद्यालय सञ्चालन गर्छ भने त्यो बाटो खोल्न सक्ने वातावरण बनाउनु पर्छ” उनले भने ।
साथै निजि स्तरमा सञ्चालित शैक्षिक संस्थाहरूलाई थप उत्तरदायी र थप बलियो बनाउँदै जानुपर्ने बताए ।



