काठमाडौँ /१० मंसिर – अख्तियार अनुसन्धान आयोगले नक्कली पिएचडीको शैक्षिक योग्यता देखाएर नियुक्ति लिने चार जान विरुद्ध मुद्दा दायर गरेको छ । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरको सह–परीक्षा नियन्त्रकका लागि डिल्लिराम प्रसाईले आफूसँग नभएको पिएचडी (विद्यावारिधि) पाएको भनी विवरण पेस गरेको पाइएपछि उनि सहित चार जाना विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले सह–परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेलले त्रिभुवन विश्वविद्यालयमा परीक्षाको परिणाम गणना गरी नियुक्तिको सिफारिस गर्नुपर्नेमा सह–परीक्षा नियन्त्रक पदका आवेदक डिल्लीराम प्रसाईसँगको मिलेमतो तथा योजनामा बदनियत राखी परीक्षाको परिणाम फेरबदल गरी नियुक्ति गरेको पाइएपछि मुद्दा दायर गरेको जनाएको छ ।
प्रसाईले २०८१ भदौ २६ गते सह–परीक्षा नियन्त्रक पदमा आवेदन दिई विद्यावारिधि वापतको अंकसमेत प्राप्त गरी अन्तिम नामावलीको १(एक) नम्बरमा सिफारिस भई त्रि.वि. रजिस्ट्रारबाट २०८१ मंसिर १८ गते क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको लागि सह–परीक्षा नियन्त्रक पदमा २०८१ म्ंसिर १९ गतेदेखि लागु हुने गरी नियुक्ति लिन सफल भएको देखिएको छ ।
उनको विद्यावारिधि सम्पन्न नभएको तथ्य थाहा हुँदाहुँदै विद्यावारिधिको प्रोभिजनल प्रमाणपत्र प्राप्त नगरी विद्यावारिधि वापत ८(आठ) अंक पाउन विद्यावारिधि प्राप्त भन्दा अघिदेखि विद्यावारिधि गरेको भनी डा. लेखेर आवेदन दिएको आयोगको भनाई छ ।



