काठमाडौं महानगरका विद्यालयमा बाढी प्रभावितलाई स्थानान्तरण

काठमाडौं/१९ असोज – काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित स्कुलहरूमा सारेको जनाएको छ ।


जोखिममा रहेका परिवारलाई महानगरपालिका क्षेत्रभित्र रहेका करिव ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलको रूपमा प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको र अहिलेसम्म ४ वटा विद्यालयमा जोखिमपूर्ण अवस्थाका परिवारलाई स्थानान्तरण गरेर राखिएको छ ।

जसमध्ये अहिलेसम्म विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय कुलेश्वरमा ५२ परिवार २५१ ज्ना, महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जनालाई राखिएको महानगरले जनाएको छ ।


साथै महानगरपालिकाले खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका कुन–कुन विद्यालयहरूमा स्थानान्तरण गर्ने भनेर लिस्टिङ नै गरेर सूचना प्रवाह गरेको छ ।


यसैगरी विद्यालयमा आश्रयसहित खाने, शौचालय, पानी लगायतका आधारभूत सुविधाहरू महानगरपालिकाले उपलब्ध गराइरहेको र महानगरपालिकाका अधिकारीहरुलाई नियमित रुपमा जोखिमयुक्त क्षेत्रहरूमा खटाइएको महानगरको भनाई छ ।


महानगरपालिकाले गत वर्ष जोखिममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको छ ।


हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ । सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन हुनेछ ।