ग्लोबल ह्याकाथन नासा इन्टरनेशनल स्पेस एप्स च्यालेन्ज असोज १८–१९ गते हुँदै

रुपन्देही/१४ असोज – ग्लोबल ह्याकाथन नासा इन्टरनेशनल स्पेस एप्स च्यालेन्ज बुटवल यस वर्ष असोज १८–१९ गते (अक्टूबर ४ र ५) रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित लुम्बिनी वल्र्ड स्कूल, मधवलिया–१३ आयोजना हुँदैछ ।


विश्वका १ सय ८० भन्दा बढी देशका हजारौँ युवाहरूले एउटै मितिमा सहभागिता जनाउने उक्त कार्यक्रममा बुटवलका विद्यार्थी तथा युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने अभूतपूर्व अवसर मिल्ने आयोजकले जनाएको छ । ६० वटा मात्र सिट उपलब्ध रहेको कार्यक्रममा दर्ता शुल्क लाग्ने छैन ।


नासा र अन्तर्राष्ट्रिय विज्ञहरूले तय गरेका पृथ्वी, जलवायु परिवर्तन, अन्तरिक्ष, चन्द्रमा, ताराहरू, मानव जीवन र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी १८ वटा चुनौतीहरू उपलब्ध छन् । सहभागीहरूले यी मध्ये आफूलाई रुचि लागेको विषय छनोट गरी टोली बनाएर समाधानमा काम गर्न सक्नेछन् ।


यसरी तयार गरिएको परियोजना स्थानीय स्तरमा प्रस्तुत गरिन्छ र उत्कृष्ट टोलीलाई अन्तर्राष्ट्रिय स्तरसम्म मान्यता प्राप्त हुने अवसर मिल्ने आयोजकको भनाई छ । यसैगरी कार्यक्रममा सहभागी हुनका लागि कुनै विशेष प्राविधिक पृष्ठभूमि आवश्यक नरहेको तर जिज्ञासा र केही नयाँ सिक्ने इच्छाशक्ति भएका व्यक्तिले सहभागी हुन सक्नेछन् । सहभागीहरूले नासा र साझेदार एजेन्सीहरूको खुला डाटा प्रयोग गरी नयाँ विचार तयार गर्ने मौका पाउनेछन् । यसले विद्यार्थीलाई ग्लोबल स्तरमा काम गर्ने वातावरण, अन्तर्राष्ट्रिय परियोजनाहरू र सहकार्यमा सामेल हुने सम्भावना प्रदान गर्ने जनाइएको छ ।


सहभागीहरूले नासा स्पेस एप्स ग्लोबल टिम बाट आधिकारिक प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिनेछ । यस कार्यक्रमद्वारा उनीहरूले सिर्जनात्मक सोच, समस्या समाधान गर्ने क्षमता र विश्वव्यापी टोलीमा काम गर्ने सीप सिक्नेछन् ।

दर्ता तथा थप जानकारीका लागि :
www.spaceappschallenge.org