आन्दोलनका क्रममा भाटभटेनीबाट सामान चोर्ने शिक्षकलाई विद्यालयबाट हटाइयो

रूपन्देही/२८ भदौ – जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपर मार्केटबाट सामान चोर्ने शिक्षकलाई हटाइएको छ । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शक्लालाई शिक्षकबाट हटाइएको हो ।


भदौ २४ गते भएको जेनजीको प्रदर्शनमा विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागी भई बुटवलको सुख्खानगर स्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले, विद्यालयको आचरण सहिँता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई विद्यालयबाट हटाइएको प्रधानाध्यापक दिनेश थापाले बताएका छन् ।


शुक्लाले आन्दोलनको दिन भाटभटेनीबाट आईसक्रिम लिएर हिँडेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई विद्यालयको आचारसंहिता विपरीत ठहर गरिएकोले कारबाही गरिएको विद्यालयको भनाई छ । उनी कालिका मानवज्ञान माध्यमिक विद्यालयमा निमावि तहका कम्प्युटर शिक्षक हुन् ।


“मिति २०८२ साल भदौ २४ गते भएको जेनजीको प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागी भई बुटवलको सुख्खानगर स्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले, विद्यालयको आचरण सहिँता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागु हुने गरी विद्यालयबाट हटाइएको ब्यहोरा जानकारी गरिन्छ” निर्णयमा भनिएको छ ।