झापा/१५ भदौ – नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको निर्देशन बमोजिम विभिन्न समयमा सरकार समक्ष शिक्षक महासङ्घसँग भएका सहमति पूर्ण कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराउने भन्दै शिक्षा विकास तथा समन्वय इकाइहरूमा शिक्षक महासङ्घले धर्ना दिएको छ ।
कार्यक्रम अनुरूप सि वि स इकाइ प्रमुख कुमार बस्नेतलाई महासङ्घ झापा अध्यक्ष नेत्र खरेल, शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं, विद्यालय कर्मचारी परिषद् केन्द्रीय उपाध्यक्ष बालकृष्ण न्यौपाने, प्रगतिशील राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, शिक्षक संघ झापा अध्यक्ष टिएन दाहाल , एकीकृत अखिल नेपाल शिक्षक संगठन झापा अध्यक्ष रविन मैनाली, इष्टु केन्द्रीय सदस्य राजु बराल लगायतले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।
यसैगरी नेपाल शिक्षक महासङ्घले आइतवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । नेपाल शिक्षक महासङ्घ नेतृत्वको टोलीले आफूहरूको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
यसअघि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय धर्ना दिएका थिए । धर्नामा पुगेका उनीहरूले आफूहरूको माग सम्बोधन नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका छन् ।



