मेयर पदलाई दाउमा राखेर भएपनि शिक्षामा राजनीति गर्दीन : कृष्ण खाँण

स्याङ्जा/१० भदौ वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले मेयर पदलाई दाउमा राखेर भएपनि शिक्षामा राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरूसँगको छलफलमा सो कुरा व्यक्त गरेका हुन् ।


खाँणले विद्यालय शिक्षा सुधार गर्नका लागि आगामी दिनमा कुनै कसुर बाँकी नराख्ने उल्लेख गर्दै आफूले पनि शिक्षामा राजनीति नगर्ने र प्रधानाध्यापक तथा शिक्षकहरूलाई पनि शिक्षामा राजनीति नगर्न आग्रह गरे ।


उनले भने ‘नगरपालिकाको तर्फबाट शिक्षामा राजनीतिको गन्द जाँदैन र नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु । प्रधानाध्यापक र शिक्षकहरूले पनि विद्यालयमा राजनीति नगरिदिनु होला । वालिङ नगरपालिकालाई शैक्षिक हब बनाउन हामी सबै लागौँ । गुणस्तरीय शिक्षाको खोजिमा बसाईसराई पनि बढीरहेको छ । त्यसैले यसलाई पनि ध्यान दिएर विद्यार्थीहरू गुणस्तरीय शिक्षाको खोजीमा पालिका भन्दा बाहिर जान नपरोस भन्ने मेरो उदेश्य रहेको छ ।’


यसैगरी संस्थागत विद्यालयको विरोध गर्न पनि आवश्यक नरहेको बताए । उनले संस्थागत विद्यालयको विकल्प नदेखिएको बताउँदै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबिच ज्ञानको साझेदारी गर्न आवश्यक रहेको र पालिकाले आगामी दिनमा साझेदारी गरेर अगाडी बढ्ने योजनामा रहेको प्रस्ट पारे । सामुदायिक विद्यालय पनि कमजोर हुँदै जाने र संस्थागत विद्यालयको पनि विरोध गर्दा शिक्षा झन पूर्ण धराशायी हुँदै जाने बताउँदै बरु नियमन गरेर अगाडी जानुपर्ने धारणा व्यक्त गरे ।


पछिल्लो समय एसईईको नतिजामा नगारपालिका जिल्लामै उत्कृष्ट हुन सफल भएपनि त्यसमा तत्काल खुसी हुने अवस्था नरहेको र उक्त नतिजालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन सकिए मात्रै सार्थकता मिल्लने खाँणको भनाई थियो ।


सहभागी प्रधानाध्यापकहरूले शिक्षण सिकाई वातावरणको निर्माण गर्न, पर्याप्त शैक्षिक सामाग्री उपलब्ध गराउन, शिक्षकहरूलाई तालिमको व्यवस्था गर्न, अभिभावक शिक्षालाई महत्व दिन, प्राविधिक शिक्षामा पालिका लाग्न, सामुदायिक र निजी विद्यालय बिचको विभेदलाई कम गर्न, आईटीका लागि लगानी बढाउन र व्यवहारिक शिक्षामा ध्यान दिनुपर्ने लगायतका सुझाब दिएका थिए ।


साथै पालिका भित्रका विद्यालयहरूमा विज्ञापन गरेर खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने तयारीमा रहेको बताए । सामुदायिक विद्यालय सुधारका लागि पालिकाको शिक्षा नीति निर्माण गरेर क्षमता र योग्यताका आधारमा प्रधानाध्यापक छनोट गरिने उनको भनाई छ । विद्यालय शिक्षा सुधार गर्ने दायीत्व प्रधानाध्यापकहरु नै रहेको उल्लेख गर्दै त्यसका लागि प्रतिवद्धता गरेर लाग्न समेत आग्रह गरे । उनले नीति बनाउने सवालमा, बजेट उपलब्ध गराउने सवालमा आफू तयार रहेको बताए ।


उनलेले भने शिक्षकहरुको क्षमता छ । उहाँहरु आफ्नो क्षेत्रमा विज्ञ हुनुहुन्छ । तर, आफूसँग भएको जुन क्षमता हो, त्यो क्षमतालाई कसरी प्रयोग गर्ने नगर्ने सवालमा अल्छीपना वा हेलचक्रयाई गरिएका कारण पनि भनेजति उपलब्धी हासिल गर्न सकेका छैनौं ।