काठमाडौँ /३० साउन – विद्यालय कर्मचारीहरूको दरबन्दी निर्धारण स्थानीय तहले गर्ने व्यवस्था गर्न लागिएको शिक्षा समिति सचिवालयले जनाएको छ । असहमतिका विषयहरू थाती राखेर विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेखन कार्य सकिएको जानकारी दिँदै विद्यालय कर्मचारीहरूको दरबन्दी व्यवस्थापन र निर्धारणको जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था रहेको जनाएको हो ।
एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन संशोधन सहित पारित गरेर समितिको सचिवालयलाई प्रतिवेदन लेखनको जिम्मा दिइएको थियो । सचिवालयले आइतवार वा सोमवार समितिको बैठक बस्न सक्ने बताउँदै उक्त बैठकमा समितिका सदस्याहरूलाई अध्ययनका लागि प्रतिवेदन वितरण गर्ने जनायो ।
उपसमितिको प्रतिवेदन अनुसार नै विद्यालय कर्मचारीको दरबन्दी कायम गरिने उल्लेख गर्दै कुन विद्यालयमा कस्तो जनशक्ति आवश्यक पर्छ, कति कर्मचारी चाहिन्छ सङ्घीय सरकालाई जानकारी नहुने भएकोले दरबन्दीको निर्धारण स्थानीय तहले गर्ने जनाइएको छ ।
सचिवालयले भन्यो “विद्यार्थीको सङ्ख्या हेरेर, विद्यालयको आवश्यकतालाई स्थानीय तहले अध्ययन गरेर पालिकाले आफू अनुकूल कानुन निर्माण गरेर दरबन्दीको व्यवस्था गर्ने भनिएको छ । तर यसरी कानुन बनाउँदा श्रम सम्बन्धी सङ्घीय सरकारको कानुनले तोकेको न्यूनतम पारिश्रमिक नघट्ने गरी कानुन बनाउनु पर्नेछ ।”
शिक्षकको जसरी विद्यालय कर्मचारीको दरबन्दी नतोकिने, श्रेणी तोकेर नजाने समितिमा सहमति भएको छ । साथै तलबको व्यवस्थापनको सवालमा पनि अहिले सङ्घीय सरकारले दिएको अनुदान रकममा स्थानीय तहले नै थप गरेर व्यवस्थापन गर्नुपर्ने र दरबन्दी अस्थायी/स्थायी भनेर नतोकिएको सचिवालयले जनायो ।



