काठमाडौँ /३० साउन – पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति चिरञ्जीवी शर्माले राजनीति प्रतिबद्धता भएमात्रै उच्च शिक्षा सुधार गर्न सकिने बताएका छन् । खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
शर्माले विदेश जानुपर्छ भन्ने प्रोजेक्टका विज्ञहरूबाट बनाइएको संस्कारबाट सबै आएको बताउँदै गुणस्तरीय शिक्षा भएन भन्ने हाम्रो समस्या भएको र यो समस्या समाधानका लागी नेपाली विज्ञहरूले नै नेपालको राष्ट्रिय उदेश्य अनुसार बनाउन आवश्यक रहेको बताए ।
यसैगरी ढुङ्गामुढा, कालोमोसो, बन्दुककोे धाकमा प्राध्यापकलाई नै कुट्नेसम्म हुने गरेको उल्लेख गर्दै यसलाई रोकेर विश्वविद्यालय सुधार गर्न राजनीतिक प्रतिबद्धताको आवश्यक रहेको बताए ।
उनले भने “राजनीतिक प्रतिबद्धता खोई ? हामी उपकुलपति भएर बस्दा बन्दुक ल्याएर छातीमा राख्ने, पेट्रोल खन्याउने, ढुङ्गा कति खाईयो खाईयो, कालोमोसोका कुरै नगरौँ यस्तो गरेर आएपछि राजनीतिक प्रतिबद्धता खोई ? राजनीतिक दलका नेताहरूले प्रतिबद्धता गर्नुहोस विश्वविद्यालयमा प्राध्यापकहरू, कर्मचारी र विद्यार्थीले तालाबन्दी गर्ने, हडताल गर्ने, ढुङ्गा हान्ने, प्राध्यापकलाई कुट्ने जे जे गरेका छन् सबै बन्द हुन्छ ।”
यसरी राजनीतिक प्रतिबद्धता गरेर उपकुलपतिलाई विश्वविद्यालय चलाउन भनिए विश्वविद्यालयका सबै समस्या समाधान हुने उनको दाबी छ ।
यसैगरी पछिल्लो समयमा विश्वविद्यालयको सङ्ख्यामा वृद्धि भएको उल्लेख गर्दै नेपालका विश्वविद्यालयबिच समन्वयमा पनि खाँचो रहेको बताए । एक अर्काका समस्या र अवसरबारे, पाठ्यक्रम बारे, पढाउने विधि बारे समन्वय हुनुपर्नेमा जोड् दिए । साथै अनुसन्धान केन्द्रीत पठनपाठन गर्न सकिए विश्वविद्यालय प्रतिको विश्वास बढ्ने बताए ।



