पौडी खेल्ने क्रममा २ विद्यार्थीको डुबेर मृत्यु

रूपन्देही/११ साउन – रूपन्देहीको तिलोत्तमा ५ मणिग्रामस्थित शान्ति नमुना माविमा अध्ययनरत २ जना विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।


शनिवार दिउँसो करिब २ बजेको समयमा भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडीको डण्डा खोलामा साथीहरूसँगै पौडी खेल्न गएका ५ जना मध्ये शान्ति नमुना माविका कक्षा ९ मा अध्ययनरत दिनेश न्यौपाने र प्रज्वल अर्यालको डुबेर मृत्यु भएको हो ।


मृत्यु हुनेमा सिद्धार्थ नगरपालिका भैरहवा निवासी अन्दाजी करिब १४÷१५ वर्षीय दिनेश न्यौपाने र प्रज्वल अर्याल रहेको प्रहरीले जनाएको छ । मृतक दुवै जना शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।


पौडी खेल्ने क्रममा डुबेका दुवै जनाको शव पोस्टमार्टमका लागी भैरहवास्थित भीम अस्पतालमा राखिएको र आइतवार मात्र पोस्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ ।


प्रहरीले मृतक दिनेश र प्रज्वलसँगै पौडी खेल्न गएका अन्य ३ जनासँग पनि सोधपुछ गरिरहेको बुझिएको छ । गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुबेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि सम्भव नभएको प्रहरी अनुसन्धानका क्रममा ती बालकहरूले बताएको जनाइएको छ ।