अन्तर्राष्ट्रिय विद्यार्थीमा कुसोडको नजर : यो वर्ष कम्तीमा ४० जना विद्यार्थी ल्याउने

काठमाडौँ /७ साउन – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले यो वर्ष कम्तीमा ४० जना अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने लक्ष्य रहेको जनाएको छ । त्यसमध्ये करिब २० जना मास्टर्स र पिजिडिई कार्यक्रममा भर्ना भइसकेका जानकारी दिँदै सो लक्ष्य रहेको जनाएको हो ।


स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइटेलले आफ्ना संकिर्णतालाई परिवर्तन नगरी विदेशबाट नेपालमा विद्यार्थी नआउँने र बहुपक्षीय लचकता नहुने विश्वविद्यालयले स्वदेशी तथा विदेशी विद्यार्थीलाई आकर्षित गर्न नसक्ने बताउँदै ४० जना अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने लक्ष्य राखिएको जनाए ।

उनले भने “एसिया, अफ्रिका र युरोपका विद्यार्थी नेपाली विद्यार्थीहरूसँगै बसेर पढाउनुको मजा र चुनौती दुबै छन् । म आफैँले करिब ७ वर्ष अन्तर्राष्ट्रिय वातावरणमा पढ्ने र काम गर्ने अनुभव सँगालेको छु, जसबाट प्राप्त मेरो सिकाइ बहुपक्षीय बनेको छ । हाम्रा पूर्व विद्यार्थीहरूको सहयोग र विश्वासविना यो सम्भव हुने थिएन । आफ्ना संकिर्णतालाई परिवर्तन नगरी विदेशबाट नेपालमा विद्यार्थी आउँदैनन् र बहुपक्षीय लचकता नहुने विश्वविद्यालयले स्वदेशी तथा विदेशी विद्यार्थीलाई आकर्षित गर्न सक्दैन ।”


त्यसैगरी सिकाइ, अनुसन्धान र सामाजिक उत्तरदायित्व बाहेकका विषयमा मात्र ध्यान दिने हाम्रो वर्तमान सामाजिक आख्यान तथा त्यसैको पछि लाग्ने प्रवृत्तिबाट यो सम्भव नहुने उनको भनाई छ । यसका लागि केयू र कुसोड टिम निरन्तर काम गरिरहेको बताए ।