शैक्षिक रूपान्तरणका लागि शिक्षक अनुसन्धान

काठमाडौं/३१ असार – आजको शिक्षकहरूलाई शैक्षिक अनुसन्धान कर्ताको रूपमा विकास गर्ने प्रक्रिया आधुनिक शिक्षण पेशामा एउटा महत्वपूर्ण क्रान्ति हो । परम्परागत रूपमा शिक्षकहरूलाई केवल ज्ञानको विज्ञ मानिए पनि अहिले उनीहरूको भूमिकामा गहिरो परिवर्तन आएको छ । शिक्षकहरूले कक्षाकोठामा देखिने वास्तविक समस्याहरूलाई अनुसन्धानका माध्यमबाट पहिचान गरी समाधान गर्न सक्ने क्षमता विकास गर्नु आवश्यक छ । सहभागी कार्यमूलक अनुसन्धान (PAR) जस्ता सहकार्यात्मक विधिहरूले शिक्षकलाई अनुसन्धान प्रक्रिया भित्र सक्रिय सहभागी बनाउँछन् र उनीहरूको व्यावहारिक अनुभवलाई आधार बनाएर नयाँ ज्ञानको सिर्जना गर्न प्रेरित गर्छन् । यसले शिक्षकहरूलाई बाह्य सहयोगको अपेक्षा नगरी आफ्नै कक्षा कोठामा नवप्रवर्तन र सुधार गर्न सक्ने अनुसन्धान कर्ता बनाउँछ, जसले शैक्षिक रूपान्तरणमा ठुलो योगदान पु¥याउँछ ।


नेपालको शिक्षा प्रणालीको व्यापक संरचना भित्र शिक्षक अनुसन्धानका मार्गमा थुप्रै चुनौतीहरू रहेका छन् । देशभर ३५,६०१ विद्यालयहरूमा करिब ७३ लाख विद्यार्थीहरू पढिरहेको भएता पनि ग्रामीण–सहरी बीच शैक्षिक पूर्वाधारको ठूलो असमानता, गुणस्तरीय शिक्षकको अभाव, र स्रोतको कमी शिक्षकहरूलाई प्रभावकारी अनुसन्धानमा संलग्न हुनबाट रोक्ने मुख्य कारणहरू हुन् । त्यस्तै, पाठ्यक्रममा सांस्कृतिक सान्दर्भिकता र आलोचनात्मक सोचको कमीले शिक्षक र विद्यार्थीबिच सहकार्य र सक्रिय संलग्नता सीमित पारिरहेको छ । यस्ता चुनौतीहरूलाई सामना गर्दै शिक्षकलाई शैक्षिक अनुसन्धानमा सशक्तीकरण गर्ने काम केवल आवश्यक मात्र नभई शिक्षण–सिकाइ प्रक्रियाको गुणस्तर सुधारका लागि अपरिहार्य छ । यसले मात्र शिक्षकलाई आफ्नो स्थानीय सन्दर्भमा आधारित समाधान खोज्न र सिकाइको वातावरणलाई समृद्ध बनाउन सहयोग पु¥याउँछ ।


शिक्षक अनुसन्धानकर्ताका रूपमा विकासको क्रममा सबै भन्दा ठूलो चुनौती स्रोतको अभाव, समयको कमी र प्रशासनिक समर्थनको अभाव रहेको पाइन्छ । कक्षाकोठामा देखिने समस्याहरूलाई पहिचान गरी स्थानीय बुद्धिमत्ता र सन्दर्भ अनुसार समाधान खोज्न शिक्षकहरूलाई सक्षम बनाउनु पर्दछ । त्यसका लागि सहकार्यमा आधारित अनुसन्धान विधिहरूमा शिक्षकहरूलाई पर्याप्त तालिम र अवसर उपलब्ध गराउनु आवश्यक हुन्छ । यस्तो प्रशिक्षणले शिक्षकहरूको पेसागत विकासलाई मात्र होइन, उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामापनि उल्लेखनीय वृद्धिका साथै शैक्षिक सुधारमा सक्रिय सहभागिता सुनिश्चित गर्छ । समय र स्रोतको अभाव हुँदा पनि शिक्षकहरूलाई अनुसन्धानमा संलग्न गराउने वातावरण निर्माण गर्न प्रशासनिक निकायहरूले सहयोग गर्नुपर्ने हुन्छ ।


नेपालको शिक्षा प्रणालीमा पूर्वीय र पश्चिमी ज्ञान परम्पराहरूलाई समेटेर समग्र र सान्दर्भिक शिक्षा प्रवाह गर्ने प्रयास भइरहेको छ । यस्तो बहुआयामिक दृष्टिकोणले शिक्षक अनुसन्धानलाई पनि दुवै परम्पराका दृष्टिकोण समेटेर अघि बढाउन आवश्यक हुन्छ । आलोचनात्मक नागरिक शिक्षा र सिर्जनात्मक सिकाइका माध्यमबाट विद्यार्थीहरूलाई जिम्मेवार, चिन्तनशील र सक्रिय नागरिक बनाउने उद्देश्य पूरा गर्न शिक्षकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । शिक्षकहरूले आफ्नो कक्षा कोठालाई जीवित अनुसन्धान क्षेत्रका रूपमा विकास गरेर सिकाइ प्रक्रियामा निरन्तर रूपान्तरण ल्याउन सक्छन्, जसले शिक्षा प्रणालीलाई थप सशक्त र प्रभावकारी बनाउँछ ।


शैक्षिक अनुसन्धानको लोकतन्त्रीकरणले ‘अनुसन्धान सबैका लागि’ भन्ने मूलभूत धारणा स्थापित गर्दछ । यसले औपचारिक प्रमाणपत्र वा उच्च शैक्षिक तहमा आधारित प्रतिबन्ध हटाएर शिक्षकहरूलाई आफ्नै कक्षाकोठा र समुदायमा देखिएका समस्याहरूको समाधान खोज्न सक्रिय बनाउँछ । यस्तो प्रक्रियामा शिक्षक, विद्यार्थी र समुदायबिच सहकार्य अत्यन्तै महत्वपूर्ण हुन्छ, जसले सबै सरोकारवालाहरूलाई अनुसन्धानको सह–अनुभूति र सहभागितामा जोड्दछ । सहभागी कार्यमूलक अनुसन्धान (Participatory Action Research – PAR) विधि यसको उत्कृष्ट उदाहरण हो, जसले शिक्षकलाई केवल अनुसन्धानका विषयवस्तु मात्र नभई सह–अनुसन्धानकर्ताको रूपमा आत्मसात् गराउँछ र उनीहरूको पेसागत स्वायत्तता र नेतृत्वलाई प्रोत्साहित गर्छ ।


PAR विधिको पुनरावृत्त चक्र — योजना बनाउने, कार्यान्वयन गर्ने, अवलोकन गर्ने, रिफ्लेक्स नगर्ने र संशोधन गर्ने — शिक्षकहरूलाई निरन्तर सिकाइ र सुधारको प्रक्रिया भित्र राख्छ । यस चक्रले शिक्षकलाई आफ्ना कक्षा कोठामा देखिएका चुनौतीहरूको व्यावहारिक र सान्दर्भिक समाधान खोज्न सहयोग पु¥याउँछ । शिक्षकहरूले सामना गरेका समस्याहरूलाई विश्लेषण गरी त्यसको समाधानलाई आत्मसात् गर्दै नयाँ अभ्यास र नवप्रवर्तनमा परिणत गर्छन्, जसले समग्र शिक्षण–सिकाइ प्रक्रियालाई गुणात्मक रूपमा सुधार गर्ने बाटो खोल्छ । यस प्रकारको अनुसन्धानले शिक्षालाई मात्र होइन, शिक्षक र विद्यार्थी दुवैलाई सशक्त र सहभागी बनाउने माध्यमका रूपमा कार्य गर्दछ ।


कक्षा केन्द्रित अनुसन्धानमा शिक्षकहरूले स्थानीय वातावरणीय समस्या वा सांस्कृतिक ज्ञानलाई उपयोग गरेर सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउन सक्छन् । उदाहरणका लागि, विज्ञान शिक्षणमा स्थानीय वातावरणीय विषयवस्तुहरू समावेश गर्दा विद्यार्थीहरूलाई विषयको व्यवहारिक पक्षसँग जोड्न सजिलो हुन्छ । त्यस्तै, गणित कक्षामा छोरीहरूको सहभागिता बढाउन विभिन्न शिक्षण रणनीतिहरू विकास गरी परीक्षण गर्न सकिन्छ भने स्थानीय संस्कृतिसँग मेल खाने सिकाइ अभ्यासहरू तयार गरेर विद्यार्थीहरूलाई आफू वरिपरिका परिवेशसँग सम्बन्धित बनाउन सकिन्छ । यस्ता अनुसन्धान प्रश्नहरूले शिक्षणलाई विद्यार्थी–केन्द्रित, सान्दर्भिक र प्रेरणादायी बनाउँछन्, जसले शिक्षकहरूलाई नव प्रयोग गर्न उत्प्रेरित गर्छ र विद्यार्थीहरूको संलग्नता तथा सिकाइ परिणाममा सकारात्मक प्रभाव पार्छ ।


शिक्षकहरूले कक्षाकोठा अवलोकन, विद्यार्थी कार्य विश्लेषण, डायरी लेखन, विद्यार्थी अन्तर्वार्ता, तथा तुलना जस्ता विविध अनुसन्धान विधिहरू अपनाएर आफ्ना शिक्षण अभ्यासको मूल्याङ्कन गर्न सक्छन् । यी विधिहरूले शिक्षकलाई सिकाइ प्रक्रियाका सफलताहरू र चुनौतीहरूलाई गहिरोसँग बुझ्न मद्दत पु¥याउँछन् र सुधारका लागि आधार तयार पार्छन् । अनुसन्धानबाट पहिचान गरिएका समस्याहरूको समाधान गर्न शिक्षकहरूले नव प्रयोगहरू विकास गरी कक्षाकोठामा लागु गरि तिनको प्रभाव सहकर्मीहरूसँग साझा गरेर समष्टिगत शिक्षण सुधारको संस्कृति प्रवर्धन गर्न सक्छन । यसरी शिक्षक, विद्यार्थी र समुदायबिचको सहकार्यले स्थानीय सन्दर्भ अनुकूल शिक्षण अभ्यासलाई व्यापक बनाउने सम्भावना बढाउँछ ।


यद्यपि, सहभागी कार्यमूलक अनुसन्धानको कार्यान्वयनमा समयको अभाव, स्रोतको कमी, प्रशासनिक समर्थनको अभाव र परम्परागत सोच जस्ता चुनौतीहरू अवश्य देखिएका छन् । तर यी बाधाहरूलाई कम गर्न सहयोगात्मक सञ्जालहरूको स्थापना, एकीकृत दृष्टिकोणको अङ्गीकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीहरूको विकास, र सानोतिना उपलब्धिहरूको उत्सव मनाउने रणनीतिहरू प्रभावकारी साबित हुन सक्छन् । कार्यमूलक अनुसन्धानले शिक्षकहरूमा आलोचनात्मक आत्मचिन्तनको संस्कृतिलाई प्रोत्साहित गर्दै सहकार्यमा आधारित सिकाइका अवसरहरू सिर्जना गर्दछ । यसले शिक्षकलाई पेसागत स्वायत्तता प्रदान गर्ने मात्र नभई नवप्रवर्तनको नेतृत्व गर्न समेत सशक्त बनाउँछ । PAR को माध्यमबाट थुप्रै शिक्षकहरूले आफ्ना शिक्षण दृष्टिकोणहरूलाई प्रश्न गर्न, सहकर्मीहरूसँग मिलेर समाधान खोज्न र आफ्नो अनुभवलाई शैक्षिक सम्मेलनहरूमा प्रस्तुत गर्न सक्षम भएका छन्, जसले उनीहरूको पेसागत आत्मविश्वास र अनुसन्धानकर्ताको पहिचान दुवैमा वृद्धि गरेको छ ।


सहभागी कार्यमूलक अनुसन्धान सञ्चालित भईरहेका विद्यालयहरूमा विद्यार्थी संलग्नता र समावेशी कक्षाकोठाको विकासमा कार्यमूलक अनुसन्धानले अत्यन्तै सकारात्मक प्रभाव पारेको छ । PAR विधिको प्रयोगबाट धेरै विद्यालयहरूका कक्षा गतिविधिहरूमा विद्यार्थीहरूको सहभागिता दर उल्लेखनीय रूपमा बढेको छ, जसले उनीहरूलाई परियोजनाको नेतृत्व गर्न, निर्णय प्रक्रियामा सहभागी हुन र सिकाइको दिशा निर्धारण गर्न सक्षम बनाएको छ । विविध पृष्ठभूमिका विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्न विविध सिकाइ शैलीहरूलाई समायोजन गर्न सकिने लचिलो वातावरण निर्माण भएको छ, जसले समावेशी शिक्षण अभ्यासलाई सशक्त बनाएको छ । साथै, विद्यार्थी अनुपस्थितिको दर घटेको देखिन्छ, जुन सक्रिय सिकाइ, व्यक्तिगत सम्बन्ध र सामाजिक उत्तरदायित्वको विकाससँग प्रत्यक्ष सम्बन्धित छ ।


समुदाय स्तरमा पनि सहभागी कार्यमूलक अनुसन्धानले दिगो विकास र पर्यावरणीय सचेतनालाई अभिवृद्धि गरेको छ । विद्यालयहरूमा स्थानीय बगैँचाबाट उत्पादन गरिएका अर्गानिक खाद्य सामग्री प्रयोगमा ल्याउने अभ्यासले न केवल पोषणमा टेवा दिएको छ, तर स्थानीय स्रोतको सदुपयोग मार्फत आत्मनिर्भरता र जिम्मेवार व्यवहार पनि विकास गरेको छ । अभिभावकहरूको विद्यालय गतिविधिमा सहभागिता बढ्नु समुदायमा शिक्षा प्रतिको लगाव र स्वामित्वको सूचक हो । यसले विद्यालयलाई मात्र औपचारिक शिक्षाको स्थल होइन, स्थानीय विकास र सामाजिक जागरणको केन्द्रको रूपमा रूपान्तरण गर्न मद्दत पु¥याएको छ ।


शिक्षकहरूले आफ्ना अनुसन्धान अभ्यासहरूलाई नीतिगत तहमा प्रभावकारी बनाउने प्रयास मार्फत स्थानीय तथा राष्ट्रिय शिक्षा नीतिमा सुधारको माग अघि सारिरहेका छन् । कक्षाकोठामा सङ्कलित प्रमाणहरू र अनुभवहरूलाई नीति निर्माता समक्ष पु¥याउने प्रयासले शिक्षाका वास्तविक आवश्यकताहरू उजागर गर्दछ, जसले निर्णय प्रक्रियालाई सन्दर्भानुकूल बनाउँछ । शिक्षक सञ्जाल र समुदायहरूको सहकार्यले यस्ता अभ्यासलाई दीर्घकालीन र व्यापक बनाउने सम्भावना बढाउँछ, जसले सामाजिक र शैक्षिक रूपान्तरणको प्रक्रियालाई थप गतिशील र प्रभावकारी बनाउँछ ।


शैक्षिक अनुसन्धानको लोकतान्त्रिकरणले शिक्षकहरूबिच सहकार्यात्मक समुदाय निर्माणको आधार तयार गर्छ, जसले विभिन्न सामाजिक, सांस्कृतिक र भौगोलिक सन्दर्भमा कार्यरत शिक्षकहरूलाई ज्ञान, अनुभव र प्रेरणाको साझा मंचमा जोड्दछ । यसले अनुसन्धानलाई केन्द्रीकृत संस्थागत संरचनाको सीमा भन्दा बाहिरल्याई वास्तविक कक्षा कोठाको आवश्यकता र समाधानमा केन्द्रित बनाउँछ । नेपाल जस्ता विविधताले भरिएको मुलुकमा यस्तो सहकार्यात्मक अनुसन्धान संस्कृति विकास हुनु अझ महत्वपूर्ण हुन्छ, जहाँ शिक्षक समुदायले परस्पर सिकाइ, परावर्तन, नवप्रवर्तन र सुधारको साझा यात्रामा सामेल हुने अवसर प्राप्त गर्छ । अन्तर्राष्ट्रिय रूपमा पनि शिक्षक नेतृत्वमा आधारित अनुसन्धानको यो अभ्यास नयाँ दृष्टिकोणको वाहक बन्दै छ ।


अन्ततः शिक्षामा दीर्घकालीन रूपान्तरण सम्भव बनाउन शिक्षकहरूले आफ्नै कक्षाकोठा र समुदायमा आधारित समस्या समाधान गर्ने, नवीन शिक्षण अभ्यास विकास गर्ने, र त्यसलाई पुनरावलोकन र परिमार्जन मार्फत निरन्तर सुधार गर्दैलैजाने प्रक्रिया आत्मसात गर्न आवश्यक हुन्छ । यसका लागि शिक्षकलाई अनुसन्धान कर्ता बन्न आवश्यक स्रोत, समय, आत्मविश्वास र सहकार्य वातावरण उपलब्ध गराउनु पर्छ । अब शिक्षा प्रणालीलाई ‘विज्ञ भनाउदाहरु’को एकाधिकारबाट मुक्त गर्दै अभ्यासमा आधारित अनुसन्धाताको संस्कृतिले मार्ग निर्देशन गर्नु पर्दछ । यसरी कक्षा आधारित अनुसन्धान मार्फत शिक्षकहरू शिक्षा प्रणालीलाई सशक्त, सान्दर्भिक र दिगो बनाउने अभियानमा सहभागी हुनेछन् । यो अभियानमा सबै सरोकारवालाहरू शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्माता र समाजले हातेमालो गर्नुपर्ने समय आइसकेको छ । यही बाटो शिक्षाको साँचो रूपान्तरणको यात्रा हो ।


(लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)