काठमाडौँ/३० असार – माउण्ट भ्यू इन्टिच्युट अफ ल एण्ड टेक्नोलोजी (टेक ल कलेज) आयोजना गरेको “फ्यूचर अफ लिगल स्टडिज इन नेपाल“ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कानुनी क्षेत्रका विज्ञ, शिक्षाविद् र विद्यार्थीहरूको सहभागीतामा कार्यक्रम आयोजना गरिएको थियो ।
राजर्षिजनक विश्वविद्यालयका मानविकी तथा कानुन संकायका डीन प्रा. डा. नरेन्द्र कटवालले यस्ता खालका सेमिनार तथा अन्तरक्रियाले नेपालको कानुनी शिक्षा र अनुसन्धानको दिशा निर्धारण गर्न मद्दत गर्ने बताए । यसले नेपालका कानुनी क्षेत्रलाई प्रविधिमैत्री, प्रभावकारी र समावेशी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अर्का वक्ता डा. तारानाथ घिमिरेले मानविकी र कानुनबिच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै मानविकीले मानव जीवन, समाज र संस्कृतिको गहिरो बुझाइ दिन्छ भने कानुनी अध्ययनले तिनलाई व्यावहारिक रूपमा लागु गर्न मद्दत गर्ने बताए ।
“विद्यार्थीहरूले मुख्य पाठ्यक्रम र अभ्यासमूलक विषयवस्तुहरूमा विशेष ध्यान दिनुपर्छ । नेपालको कानुन व्यवसायी परिषद्ले निर्धारण गरेको खाकालाई आधार मान्दै, राजर्षिजनक विश्वविद्यालयले अभ्यासमुखी शिक्षालाई प्राथमिकता दिएको छ“ सहायक डीन समीप घिमिरेले भने ।
माउण्ट भ्यू कलेजका प्रिन्सिपल गोपीकृष्ण न्यौपानेले कलेजमा उच्च गुणस्तरको शिक्षा प्रदायक वातावरण र आवश्यक सुविधाहरू उपलब्ध गराएको जानकारी दिए । यसले विद्यार्थीहरूलाई अध्ययनमा सहजता र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्दछ“ उनले भने ।
यसैबिच, नेपाली न्याय प्रणालीमा लामो अनुभव भएका न्यायाधीश मणीराम न्यौपानेले व्यावहारिक जीवनमा कानुनी ज्ञानको अत्यधिक महत्व रहेको बताउँदै व्यवहारिक अभ्यास र जीवनका यथार्थ परिस्थितिहरूलाई पनि ध्यान दिनु आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने “वकालत र न्यायिक सेवामा मैले देखेको छु कि, कलेजमा गरेको पढाइ मात्र होइन, व्यवहारिक अभ्यास र जीवनका यथार्थ परिस्थितिहरूलाई पनि ध्यान दिनु आवश्यक छ । जिम्मेवार नागरिक र जिम्मेवार कानुनी व्यवसायी बन्नु नै समाजमा न्याय कायम गर्नको लागि अनिवार्य सर्त हो ।“



