२१२ औँ भानुजयन्तीमा एपेक्स लाइफ स्कुलको स्रष्टा सम्मान डा.व्रतराज आचार्यलाई

काठमाडौं/२७ असार – एपेक्स लाइफ स्कुलमा उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय छन्दोबद्ध कवितावाचन प्रतियोगिता सम्पन्न भएको छ । एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा सो कार्यक्रम विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।


२१२औँ भानु जयन्तीको अवसरमा आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगितामा २२ वटा स्कुलको सहभागिता रहेको थियो । सो कार्यक्रममा रातोबङ्गला स्कुलकी छात्रा गार्गी थापाले प्रथम स्थान, काठमाडौं प्रज्ञान कुञ्ज स्कुलका छात्र अवसर सुवेदीले द्वितीय स्थान, पाठशाला स्कुलकी छात्रा प्रियान्सी बुढाथोकीले तृतीय स्थान हासिल गरे भने रिलायन्स इन्टरनेशनल स्कुलकी छात्रा आलिया खड्का र आई जोसेफ स्कुलकी छात्रा भावना बरालले सान्त्वना पुरस्कार प्राप्त गरे ।


छन्दोबद्ध कविता वाचन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र तथा नगद पुरस्कार वितरण प्रदान गरिएको थियो । साथै निर्णायकको भूमिकामा बलराम दाहाल, प्रभाती किरण, भवानी खतिवडाले निर्वाह गरेका थिए ।


विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरूले विभिन्न छन्दमा कविता वाचन गरेर कार्यक्रम थप रोचक बनाए ।


विशेष स्रष्टा सम्मान तथा पुरस्कार र प्रमाण पत्र वितरणको औपचारिक कार्यक्रमको सभापतित्व एपेक्स लाइफ स्कुलका अध्यक्ष सुवास न्यौपानेले गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार प्रा.डा. व्रतराज आचार्यले दीप प्रज्ज्वलन गरी कार्यकमको औपचारिक समुद्घाटन गरेका थिए । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको तस्बीरमा टीका तथा माल्यार्पणगरी कार्यक्रमलाई अगाडि बढाइएको थियो । गणेश बन्दना कक्षा ३ का विद्यार्थीहरुले सामूहिक प्रस्तुति गरेर कार्यक्रमकलाई रोचक बनाए ।

उक्त कार्यकममा विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सुवास न्यौपानेले विशिष्ट साहित्यकार तथा विद्वान प्रा. डा.व्रतराज आचार्यलाई नगद पुरस्कार र सम्मानपत्र सहितको दोसल्ला ओढाएर सम्मान गरे ।


मन्तव्यको क्रममा सम्मानित व्यक्तित्व प्रा.डा.व्रतराज आचार्यले एपेक्स लाइफ स्कुलले नेपाली भाषालाई जगेर्ना गर्ने उद्देश्य राखेकाले आफू अत्यन्तै खुसी भएको र विद्यालयको नाम एपेक्स जस्तै चुचुरोमा चुम्न सकोस् भन्दै धन्यवाद व्यक्त गरे । स्कुलमा संस्कृत भाषा पढाइ हुने गरेको थाहा पाउँदा नेपाली भाषालाई अब्बल बनाउने अभियानमा लागेको महसुस गरेको बताए ।


त्यसैगरी भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छुले एपेक्स लाइफ र भानु प्रतिष्ठानको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा प्रा.डा.व्रतराज आचार्यलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।


विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सुवास न्यौपानेले भानुभक्तलाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु रहेको बताउँदै भानुभक्तको जन्म जयन्ती अर्थात यो भाषा उत्सवलाई नेपालमा मात्र नभएर हङ्कङ, वर्मा भुटान, दार्जिलिङ्, सिक्किम आसाम, अमेरिका, युरोप र अष्ट्रिलियामा समेत नेपाली भाषीहरुले भव्यताका साथ भानुलाई सम्मान गर्ने गरेको बताए ।


उनले नेपाली साहित्यका धु्रवतारा, एकताका सुत्रधार, एकताका प्रतीक नेपाली भाषालाई नयाँमोड दिएर भानुभक्त नेपाली भाषीको लागि सदा अमर रहेन धारणा व्यक्त गरे । ‘उनका भाषागत संवेदनशीलता, सरलता, मौलिकता, लालित्यतामा ओज अभिव्यक्ति पाइने बताए । भानुजयन्तीलाई मनाउनुको सार्थकता त्यतिबेला मात्र हुनेछ, जतिबेला हामीले यस भानुजयन्तीलाई भाषा, साहित्य, संस्कृति, रीतिरीवाज र यसका मूल्य मान्यता भावनात्मक रुपमा जोड्न सक्नेछौँ ‘उनले भने ।


भानु प्रतिष्ठानका अध्यक्ष डा.नवराज लम्सालले नेपाली भाषा, नेपाली आमा र नेपाली माटोलाई विशेष सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा साहित्यकारहरू देवु लुइटेल, दिलकार्की, देबी बराल, सविता बराल, इन्दिरा दाहालले रचना वाचन गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।


हरेक वर्ष भनु जयन्तीका असरमा एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानले नेपाली भाषा साहित्य क्षेत्रमा विशिष्ट योगदान गर्ने स्रष्टाहरुलाई सम्मान गर्दे आएको छ । साथै विद्यालयका शिक्षक चण्डिका भेटवालले कार्यकम संचालन गरेकी थिइन ।