ह्वाइट हाउसको करियर काउन्सेलिङ : विषय छनोटमा सहज भएको विद्यार्थीको भनाई

काठमाडौँ /२१ असार – शुक्रवार बिहान ८ बजेदेखि नै काठमाडौँको पुतली सडकमा रहेको हिमालयन ह्वाइट हाउस इन्टरनेशल कलेजमा विद्यार्थीहरू खचाखच थिए । कलेजका विद्यार्थीहरूले आफूले निर्माण गरेका विभिन्न सामग्रीहरू, पढाईसँगै सिकेका सिपबाट निर्माण गरिएका वस्तुहरू फरक फरक स्टलमा प्रदर्शनमा राखेका थिए । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू विभिन्न स्टलको अवलोकन गर्दै नेपालको उच्च शिक्षा र ह्वाइट हाउस इन्टरनेशल कलेजमा भएका कार्यक्रमका बारेमा परामर्श लिइरहेका देखिन्थे ।


कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई केन्द्रित गर्दै कलेजले करियर काउन्सेलिङ कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीहरू उच्च शिक्षाका बारेमा जानकारी लिन कलेजमा आएका थिए । असार २०, २१ र २२ गते तीनसम्म सञ्चालन गरिने उत्त काउन्सेलिङ बिहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई विश्वविद्यालयका कार्यक्रमका बारेमा बुझन सहज होस भन्ने उदेश्यले करियर काउन्सेलिङ कार्यक्रम राखिएको कलेजले जनाएको छ ।


कलेजकै प्राङ्गणमा आयोजना गरिएको तीन दिने करियर काउन्सिलिङ कार्यक्रममा कलेजकै विद्यार्थीहरूले कक्षा १२ पछिको शिक्षा, करियर र अवसरका बारेमा अवलोकनमा आएका विद्यार्थीहरूलाई बुझाईरहेका थिए । उनिहरूले कलेजमा भएका कार्यक्रमका बारेमा बुझाउने मात्रै काम गरेनन् पढाई सँगै आफूले सिकेको सिपलाई स्टल मार्फत विद्यार्थीका अगाडी प्रस्तुत गरे ।


काउन्सिलिङ कार्यक्रममा उच्च शिक्षाका बारेमा बुझ्न कीर्तिपुरबाट आएका दुई विद्यार्थीले नेपालका विश्वविद्यालयमा भएका कार्यक्रमका बारेमा आफुहरूलाई जानकारी नभएको र उक्त कार्यक्रममा आएपछि धेरै कुरा बुझेन पाएको बताए । साथीहरूको आग्रहमा काउन्सिलिङ कार्यक्रममा बुझ्न आएको बताउँदै नेपालका विश्वविद्यालयमा पनि राम्रा कार्यक्रम रहेको कुरा थाहा पाउँदा खुसी लागेको र करियर निर्माणका सवालमा परामर्श लिएको बताए । उनिहरूले आफुहरू विदेश जाने सोच बनाए पनि कार्यक्रममा आएर परामर्श लिएपछि नेपालमै पढ्ने योजना बनाएको जानकारी दिए ।


कक्षा १२ पछि उच्च शिक्षामा कुन क्षेत्रमा जाने, कुन विषय पढ्ने, नेपालका विश्वविद्यालयमा भएका कार्यक्रम कस्ता छन् लगायतका विषयमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कलेजका प्रधानाध्यापक तोया नारायण पौडेलले बताए । कलेजमा पढिरहेका विद्यार्थीले के सिके, कस्तो पढे भन्ने विषयमा पनि प्रदर्शनी गरिएको र यसले नेपालको उच्च शिक्षा पनि उत्कृष्ट छ भनेर बुझाउन सकिएको उनको भनाई छ ।


कलेजका विजनेस डेभलपमेन्ट डाइरेक्टर अनिल अधिकारीले अघिल्लो वर्षदेखि यो कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिँदै कक्षा १२ सकेर बसेका विद्यार्थीलाई नेपालमै पढ्नका लागि परामर्श दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । तीन दिन सम्म सञ्चालन गरिने कार्यक्रममा ३ हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा रहेको उनको भनाई छ । कार्यक्रममा विएचएम पढेका विद्यार्थीले फुड प्रदर्शन गर्नुका साथै फुड फेस्ट र म्युजिकल कार्यक्रमको आयोजना गरिएको छ ।


यसैगरी कार्यक्रममा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ इन म्यानेजमेन्टमा सञ्चालित १२ वटा फरक–फरक कार्यक्रमको बारेमा विद्यार्थीलाई परामर्श दिइएको छ । कलेजले बीएचएम, बीबीए, बीआइटी सिभिल इन्जिनियरिङ, बायोटेक, बायोमेडिकल लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।