इसिडी शिक्षकलाई माथिल्लो तहमा जान आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्छ : रेखा शर्मा

काठमाडौँ /१५ असार – सांसद रेखा शर्माले इसिडी शिक्षकहरूलाई माथिल्लो तहमा जानका लागि आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने व्यवस्था विद्यालय शिक्षा ऐनमा राख्नुपर्ने धारणा व्यक्त गरेकी छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा उनले सो प्रस्ताव राखेकी हुन् ।


उनले विद्यालय शिक्षा सम्बन्धी ऐन प्रारम्भ भए पछि इसिडी शिक्षकमा कक्षा १२ पास गरेका मात्र नआई स्नातक गरेका पनि आउन सक्ने भएकोले ऐन प्रारम्भ भएपछि नियुक्ति लिने योग्यता पुगेका शिक्षक माथिल्लो तहमा जानका लागि आन्तरिक प्रतिस्पर्धा गर्न पाउनु पर्ने व्यवस्था ऐनमा नै राखेर जान सकिने धारणा व्यक्त गरिन ।


त्यसैगरी ऐन प्रारम्भ भएपछि राज्यको कोषबाट सेवा सुविधा लिने कर्मचारी, जनप्रतिनिधि र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्दा राम्रो हुने बताइन ।