काठमाडौँ /१२ असार – सङ्घीय संसदअन्तर्गत आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
विद्यालय शिक्षा सम्बन्धी ऐन ल्याउने सन्दर्भमा छलफल गर्नुपर्ने र सहमति गर्ने विषयहरू करिब करिब सकिएको बताइएको छ । विवादित विषय मिलाउन र विधेयकलाई समयमै पेस गर्न समिति अन्तर्गतको समन्वय तथा परामर्श उपसमितिलाई क्रियाशील बनाइएको छ ।
यस भन्दा अगाडिको उपसमितिले बुझाएको प्रतिवेदन र त्यसपछि सहमति हुन नसकेका विषयमा समन्वय तथा परामर्श उपसमितिले गरेका सहमतिसहित विधेयकलाई अन्तिम रूप दिन आज छलफल हुने जनाइएको छ ।
उपसमितिले टुङ्ग्याएका विषयमा समितिका सबै सदस्यहरू बिच विवाद नभए तोकिएकै मितिमा प्रतिनिधि सभामा विधेयक पठाउने तयारी समितिको रहेको छ ।



