एसईई नतिजा प्रकाशनको अन्तिम चरणमा

काठमाडौं/१३ असार – राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको नतिजा प्रकशनको निर्णय बोर्ड बैठकले गर्ने जानकारी दिए ।


उनले भने ‘हामी अन्तिम चरणमा पुगेको कुरा बोर्डका सदस्य सचिवलाई जानकारी गराएको छु । बोर्ड बैठकलाई बोलाउन पनि आग्रह गरेको छु । तर आजै बस्ने नबस्ने वा कति बजे बस्ने जानकारी प्राप्त भएको छैन । सायद आज बस्न सक्छ होला ।’


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्ड बैठक बस्ने बारे निर्णय भई नसकेको बताए । उनले भने ‘हिजोसम्म बोर्ड बैठक बस्ने कुनै निर्णय भएको छैन । आज आफिस खुलेपछि सम्पूर्ण जानकारी लिएर मात्रै निर्णय हुन्छ । नतिजा जस्तो कुरा हचुवामा निकाल्न पनि भएन । आजै बोर्ड बैठक बस्छ भनेर अहिले नै भन्न सक्ने अवस्था रहेन ।’


२०८१ को एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।