विद्यालय तहदेखिनै उद्यमशीलता बारे सिकाउन आवश्यक रहेको विज्ञहरूको भनाई

काठमाडौँ /१२ असार – विद्यालय शिक्षा देखिनै बालबालिकाहरूलाई उद्यमशीलता बारे सिकाउन आवश्यक रहेको विज्ञहरूले बताएका छन् । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले आयोजना गरेको उद्यमशीलता पाठ्यक्रम सामग्री विकास सम्बन्धी छलफल कार्यक्रममा सो कुरा बताएका हुन् ।


काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइटेलले उद्यमशीलता नाफामूलक वा सामाजिक जेसुकै भएपनि त्यसको सम्भाव्यता खोज्न सक्नुपर्ने र स्रोतको सीमितता थाहा पाउनुपर्ने बताए ।


उनले पछिल्लो समय विद्यालय शिक्षाबाटै कमाउनुपर्छ भन्ने सवालमा बुझाउन खोजिएपनि विद्यार्थीले कक्षा १२ पछि नै पैसा कमाउन खोजेको देखिएको तर त्यसलाई उद्यमशीलता मान्न नसकिने तर्क गरे । साथै रिसोर्स भनेको पैसा मात्रै नभई शिक्षा पनि भएको बताउँदै विद्यालय तहदेखिनै विद्यार्थीलाई व्यवस्थापन गर्ने बारे सिकाउन सकिए त्यसले उद्यमशीलताका लागि उत्प्रेरणा हुने उनको भनाई थियो ।


विश्वविद्यालय अनुदान आयोगको तर्फबाट बोल्दै नरोत्तम अर्यालले नेपालमा सबै भन्दा ठुलो इनोभेशन र उद्यमशीलता शिक्षामा रहेको उल्लेख गर्दै बालबालिकालाई सानै देखिनै उद्यमशीलता माईनसेप बनाउँदै लग्न सकिए पछि गएर उनिहरूले सफलता प्राप्त गर्न सक्ने धारणा व्यक्त गरे । शिक्षा, तालिम र इनोभेशनसँगै हुनुपर्ने बताउँदै नेपालको अवस्थामा उद्यमशीलताले जे जे माग्छ शिक्षाले त्यसैलाई मारेको र त्यसले व्यक्तिलाई फेल गराईरहेको तर हाम्रो शिक्षाले फेल हुने अवसर नै नदिएको उनको भनाई थियो ।


प्रा.डा.धनपति सुवेदीले उद्यमशीलता सम्बन्धी पाठ्यक्रम निर्माण विभिन्न चरणमा विकास गरिने बताउँदै यस कार्यक्रमले व्यवसायमा लागेका, केही व्यवसाय गर्न मन भएका तर अलमलमा परेका वा आफ्नो व्यवसायलाई अझै राम्रो गर्न खोजेका व्यक्तिहरूलाई मार्ग निर्देश र सहजिकरणको भूमिका खेल्न सक्ने बताए । छलफलमा विभिन्न क्षेत्रका २७ जना उद्यमीहरूको सहभागिता रहेको थियो ।