काठमाडौं/३१ बैशाख – राहत शिक्षकहरूले छुटै समानान्तर राष्ट्रिय समिति गठन गरेका छन् । सरकार र शिक्षक महासङ्घबिच भएको सहमति गलत भएको र नेपाल राहत शिक्षक केन्द्रीय समितिले पेसागत स्थायित्वको नाम दिएर पेशाबाट विस्थापित गराउने रणनीति लिएको आरोप लगाउँदै अर्को समानान्तर कमिटी गठन गरेका हुन् ।
बैशाख २७ गते महोत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेको छ ।
यसैगरी बुधवार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर राहत दरबन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई पेसागत सुनिश्चितता सहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उमेर हदसम्म पेसागत निरन्तरता दिनु पर्ने माग राखेका छन् । यसैगरी शिक्षक सेवा आयोगको खुल्ला परीक्षामा सहभागी हुन चाहने राहत दरबन्दीमा कार्यरत शिक्षकहरूलाई उमेर हद हटाउनु पर्ने उनिहरूले माग गरेका छन् ।
साथै राहत शिक्षकहरूलाई सरुवाको व्यवस्था हुनुपर्ने, दुर्गम भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका ९ बुँदे माग अघि सारेका छन् । समितिको आफूहरूका माग पुरा नभए असार १५ गतेपछि आन्दोलनमा उत्रिने चेतावनी छ ।
नेपाल राहत शिक्षक राष्ट्रिय समितिको नवौं र दशौ पूर्ण बैठकले सर्वसम्मत ‘सम्पूर्ण राहत शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उमेर हदसम्म पेसागत निरन्तरता दिने’ भन्ने निर्णय गरेर उक्त निर्णय लत्याई सरकारसँग बार्तामा जाँदा ‘आन्तरिक परीक्षाद्वारा सफल भए स्थायी हुने र असफल भए गोल्डेन ह्याण्डसेक लिने’ भन्ने विषय राखेको भन्दै अधिकांश राहत शिक्षकहरूले विरोध जनाउँदै छुटै समिति गठन गरेका हुन् ।
यस्ता छन् ९ बुँदे मागहरू
१. राहत दरबन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई पेसागत सुनिश्चितता सहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उमेर हदसम्म पेसागत निरन्तरता दिनु पर्ने ।
२. कार्यरत सम्पूर्ण राहत शिक्षकहरूको विरामी विदाको अभिलेख कायम गरी अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका बखत आर्थिक सुविधा उपलब्ध गराउनु पर्ने ।
३. सरुवाको व्यवस्था हुनु पर्ने ।
४. दुर्गम भत्ताको व्यवस्था हुनु पर्ने ।
५. प्रशासनिक कार्यमा नियुक्तिका आधारमा वरिष्ठता कायम हुनु पर्ने ।
६. औषधि उपचार खर्च सुविधाको व्यवस्था हुनु पर्ने ।
७. शिक्षक सेवा आयोगको खुल्ला परीक्षामा सहभागी हुन चाहने राहत दरबन्दीमा कार्यरत शिक्षकहरूलाई उमेर हद हटाउनु पर्ने ।
८. अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका बखत गोल्डेन ह्याण्डसेकको सुविधा उपलब्ध हुनु पर्ने ।
९. अनिवार्य÷स्वेच्छिक वा विविध कारणले रिक्त हुन आउने राहत कोटालाई स्वतः स्वीकृत दरबन्दीमा रूपान्तरण गरी खुल्ला विज्ञापनको माध्यमबाट पदपूर्ति गरिनु पर्ने ।



