विद्यालय कर्मचारी द्वारा आन्दोलनको घोषणा, महासङ्घ भित्रका गतिविधि सार्वजनिक गर्ने चेतावनी

काठमाडौँ/१९ बैशाख – सरकार र नेपाल शिक्षक महासङ्घ बिच भएको सहमति विरुद्ध आन्दोलन गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्ले घोषणा गरेको छ । महासङ्घले शिक्षक र विद्यालय कर्मचारीबिच विभेद गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।


राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी महासङ्घ र सरकार बिच गरिएको सहमतिमा विद्यालय कर्मचारीका मागहरू नसमेटिएको र मग पुरा नहुनुमा महासङ्घका केही प्रतिनिधिहरूको भूमिका रहेको परिषद्को जनाएको छ । परिषद्ले महासङ्घ भित्रका गतिविधि र पदाधिकारी बारे सम्पूर्ण विषय सार्वजनिक गर्ने चेतावनी दिएको छ ।


सरकारसँगको वार्तामा नेपाल विद्यालय कर्मचारी परिषद् नेपाल शिक्षक महासङ्घ र नेपाल सरकारलाई बुझाउको संस्थागत धारणाको मर्मानुरुप विपरीत हुने गरी तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्ण रूपमा बेवास्ता गर्दै एकलौटी निर्णय गरेको आरोप छ ।


साथै महासङ्घको नेतृत्वले एकलौटी रूपमा निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने,मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमाबि प्रथम श्रेणीको शिक्षकको तलब ग्रेड, मा.बि. द्वितीय श्रेणीको शिक्षक सरह हुने लगायतका सजातीय सेवा सुविधाजन्य गतिविधिमा तिब्र लबिङ गरेर विद्यालय कर्मचारीलाई सडकमै बिना सूचना छाडिदिएको हुँदा विद्यालय कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएको जानकारी दिए ।


परिषद्ले शिक्षक कर्मचारी बीचको विभेद अन्त्य गर्नुपर्ने, हालसम्मका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गराउनु पर्ने, तलब मान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध हुनुपर्ने, तोकिएकै समयमा शिक्षा ऐन जारी गर्नुपर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउनु पर्ने माग राखेको छ ।
त्यसैगरी बब्बन मिश्रको संयोजनमा १५ सदस्य आन्दोलन परिचालन समिति गठन गरिएको जानकारी दिँदै बैशाख २१ गतेदेखि आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।


बैशाख २१ गते देखि जेठ ३ गतेसम्म हातमा कालो पट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गतेका दिन ७५३ ओटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनका बारेमा जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझाउने, जेठ ७ गते ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र बुझाउने र जेठ ९-१० गते काठमाडौँ स्थित माइतीघर मण्डला देखि सडक आन्दोलनमा सबै उपस्थित हुने घोषणा गरेको छ ।