शिक्षक र सरकारबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता (यस्ताछन् ९ बुँदा)

काठमाडौँ /१७ बैशाख – नेपाल शिक्षक महासङ्घ र सरकारबिचको सहमति भएको छ । सहमतिमासँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । तर पक्षीकरणको आन्दोलन भने नरोकिने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।


यस्ता छन् ९ बुँदा
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।


२. अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी करार, साविक उमावि, शैक्षिक अनुदान प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सुविधा हुने र सो बापतको रकम सेवाबाट अलग हुँदा एकमुस्ट रूपमा प्रदान गर्ने ।


३. प्रारम्भिक बालविकास कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने ।


४. आगामी अब २०८२/८३ बाट स्थायी शिक्षक मध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम प्रदान गर्ने ।


५. स्थायी तथा अस्थायी प्रकृतिको कोटा (राहत, अस्थायी, करार, साविक उमावि साविक , प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।


६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।


७. नेपाल सरकारको मर्यादा क्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।


८. नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।


९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने ।