बैशाख १६ गतेबाट पठन-पाठन र विद्यार्थी भर्ना गर्न ललितपुर महानगरपालिकाको आग्रह

ललितपुर/१५ बैशाख – ललितपुर महानगरपालिकाले बैशाख १६ गतेबाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न अनुरोध गरेको छ । विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा शैक्षिक कार्यपात्रोमा असर पर्ने भन्दै सो अनुरोध गरेको हो ।


आज सूचना जारी गर्दै कार्यपात्रो बमोजिम विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु, नगराउनु भनी भएको आदेश बमोजिम यस महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२/०१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ’ सूचनामा भनिएको छ ।


साथै महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याए अवगत गराएको छ ।