काठमाडौं/१५ बैशाख – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले लामो समयदेखि शिक्षा क्षेत्रमा देखिएको अन्योलता वार्ता संवाद र प्रतिबद्धताका आधारमा टुङ्गो लगाउनु पर्ने जनाएको छ ।
कक्षा १२ को परीक्षा स्थगन हुनु, सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु, माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण सुरु नहुनु जस्ता घटनाले शिक्षा क्षेत्रमा आगामी दिनमा गम्भीर जटिलता निम्त्याउने जोखिम बढ्दै गएको देखिएको प्यब्सनको ठहर छ ।
प्यब्सनले आज विज्ञप्ति जारी गर्दै शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई लामो समय अनिश्चितताको अवस्थामा राख्नु उपयुक्त नहुने बताउँदै हालको डेडलकलाई यथाशीघ्र अन्त्य गर्न र शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा सम्बन्धित सबै पक्षले जिम्मेवारीपूर्वक पहल गर्न आग्रह गरेको छ ।
‘प्याब्सनले समग्र शिक्षा क्षेत्रको उन्नयन र सुदृढीकरणमा निरन्तर वकालत गर्दै आएको छ । निजी शिक्षाको आफ्नै विशिष्टता, दायित्व र सञ्चालनका विभिन्न पक्षहरू रहे पनि, निजी तथा सामुदायिक दुवै शिक्षा प्रणालीको शैक्षिक सत्र एकैसाथ सञ्चालन हुने भएकाले हालको अन्योल अवस्थाले थप जटिलता सृजना नहोस् भन्ने उद्देश्यले समयमै आवश्यक निर्णय र समायोजन गरिनु आवश्यक छ । यसतर्फ नेपाल सरकारले गम्भीरतापूर्वक कार्यान्वय गर्न जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरी प्याब्सन, शिक्षा क्षेत्रमा देखिएका जटिलतालाई गम्भीरतापूर्वक लिई शिक्षा ऐन तर्जुमा प्रक्रियालाई तीव्र गति प्रदान गर्दै सबै सरोकारवाला पक्षसँग समन्वय गरी निर्दिष्ट र स्थायी समाधानको बाटो पहिचान गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ । साथै शिक्षक महासङ्घलाई पनि आफ्ना जायज मागहरूमाथि विचार गर्दै सहजीकरणका उपायहरू अवलम्बन गरी निकासको बाटो पहिल्याउन प्यब्सनको अनुरोध छ ।




