काठमाडौँ /१५ बैशाख – शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२५ कार्यक्रम घोषणा गरेको छ । बैशाख १५–२२ गतेसम्म विभिन्न अभियान मूलक कार्यक्रम गरी कार्यसप्ताह मनाईने घोषणा गरेको हो ।
विश्वव्यापी कार्यसप्ताहका अवसरमा आइतवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले विभिन्न कार्यक्रम आयोजना गरेर मनाईन लागिएको जानकारी दिए । उनले विश्वका १५० भन्दा बढी देशहरूमा एकै साथ शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२५ लाई विभिन्न कार्यक्रम आयोजना गरी मनाईने जानकारी दिए ।
अध्यक्ष पहाडीले नेपालमा पनि संविधानको मर्मलाई आत्म साथ गर्दै सार्वजनिक शिक्षालाई थप सुदृढ र बलियो बनाउन विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग गरेका छन् ।
यसैगरी समावेशी शिक्षा र दिगो विकास लक्ष्य ४ लक्ष्यहरूप्रति प्रतिबद्धता पुरा गर्न सबै तहका सरकारले २० प्रतिशत लगानी गर्नुपर्ने माग सहित सार्वजनिक शिक्षा सुदृढीकरणका निमित्त सोमवार काठमाडौँको भृकुटीमण्डपमा नागरिक समाजको प्रभातफेरी तथा रचनात्मक दबाबको आयोजना गरिएको जनाइएको छ ।
कार्यसप्ताहका अवसरमा मंगलबार विद्यालय शिक्षा विधेयक छिटो जारी गर्न मागसहित मंगलबार राजनीतिक दलका प्रमुख सचेतकसँग वकालत तथा पैरवी गर्ने र विभिन्न शैक्षिक सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । साथै प्रदेश र जिल्ला तहमा प्रदर्शन, सरोकारवालासँग नीतिगत बहस पनि हुने भएको छ ।
यस्तो छ एनसिई नेपालको कार्यक्रम, मुख्य मागहरू र अभियानको मुख्य उद्देश्य
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहको मुख्य उद्देश्य स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै राजनीतिक दलहरूलाई सार्वजनिक शिक्षामा सुधार गर्न र यसमा पर्याप्त लगानीका साथै जस्तोसुकै विपत्त तथा परिस्थितिमा पनि निरन्तर सिकाइ तथा बालबालिकाको शैक्षिक अधिकारलाई सुनिश्चित गर्नका लागि रचनात्मक दबाब सिर्जना गरि उक्त सवालमा उनीहरूलाई उत्तरदायी बनाउनु हो ।
अभियानका मुख्य मागहरू
१. संविधानको मर्मलाई आत्मसात् गर्दै सार्वजनिक शिक्षालाई थप सुदृढ र बलियो बनाउने गरी विद्यालय शिक्षा विधेयक तत्काल जारी गरियोस ।
२. आपत्कालीन अवस्था तथा विपत्तमा समेत शिक्षा तथा सिकाईको अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपर्ने अवस्थाको सृजना गर्न कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमगत सुधार तत्काल गरियोस् ।
३. समावेशी शिक्षा र दिगो विकास लक्ष्य ४ लक्ष्यहरूप्रतिको प्रतिबद्धता पुरा गर्न सबै तहका सरकारले शिक्षामा कम्तीमा २० प्रतिशत लगानी गरियोस् ।
४. स्थानीय, प्रदेश र सङ्घीय सरकारहरूले समावेशी र लैङ्गिक उत्तरदायी नीति तथा कार्यक्रम र बजेट व्यवस्था गरियोस् ।
५. आपत्कालीन अवस्थाबाट सबैभन्दा प्रभावित सीमान्तकृत समूहहरू हुने सम्भावना रहन्छ । तसर्थ उक्त समूह तथा समुदायको लागि सचेतना अभिवृद्धि गर्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरियोस् ।
६. सार्वजनिक शिक्षाका लागि हाल भैरहेको लगानीको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न र स्थानीय सरकारहरूले शिक्षामा खर्चिने गरी विनियोजन भएको रकमको सही सदुपयोग भएनभएको अनुगमन गरी प्रभावकारी बनाउने संयन्त्र निर्माण गरी कार्यान्वयन गरियोस् ।
७. सबै नागरिकलाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गर्न आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पिछडिएका वर्ग र अपाङ्गता भएका बालबालिकाहरूको सिकाई आवश्यकता सम्बोधन हुने गरी समावेशी शिक्षाको व्यवस्था गरियोस् ।
यस वर्षको शिक्षाको लागि विश्वव्यापी कार्य सप्ताहको अवसरमा सम्पन्न गरिने कार्यक्रम तथा गतिविधिहरु
१. केन्द्रीय तहका कार्यक्रमहरू
क) अभियानका क्रियाकलापको बारेमा जानकारी दिने र अन्तरक्रिया गर्ने उदेश्यले पत्रकार सम्मेलन (२०८२ वैशाख १४ गते आइतवार)
ख) सार्वजनिक शिक्षालाई थप बलियो र सुदृढ बनाउन दबाब दिने उदेश्यले नागरिक समाजको प्रभातफेरी तथा रचनात्मक दबाब । (२०८२ वैशाख १५ गते सोमवार)
ग) विद्यालय शिक्षा विधेयकलाई छिटो जारी गर्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग वकालत तथा पैरवी । (२०८२ वैशाख १६ गते मंगलबार)
घ) रेडियो सन्देश प्रवाह तथा जानकारीमूलक पोस्टहरूका साथै सामाजिक सञ्जालको प्रयोग । (२०८२ वैशाख १५ देखि २२ निरन्तर)
ङ) विभिन्न शैक्षिक सरोकारवालाहरूको उपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रम । (२०८२ वैशाख) ।
२. प्रदेश तथा जिल्ला तहमा सचेतीकरण तथा पैरवी
क) सार्वजनिक शिक्षा सुदृढीकरण तथा शिक्षा अधिकार सुनिश्चितताको निमित्त नागरिक समाजको प्रदर्शन । ( २०८२ वैशाख १५ गते सोमवार)
ख) स्थानीय शिक्षा सरोकारवालाहरूसँग शिक्षामा लगानी, विपदमा शिक्षा, विद्यालय शिक्षा क्षेत्र योजनाको स्थानीयकरण तथा शिक्षाका विभिन्न समसामयिक विषयमा नीतिगत बहस । (२०८२ वैशाख १५ देखि २२)
(ग) शिक्षाका विभिन्न मुद्धाहरूका बारेमा जानकारीमूलक पोस्टहरूका साथै सामाजिक सञ्जालको प्रयोग । (२०८२ वैशाख १५ देखि २२ )
(घ) “मैले चाहेको शिक्षा“ विषयमा विद्यार्थीद्वारा स्थानीय सरकारलाई पत्र लेखन अभियान । (२०८२ वैशाख १५ देखि २२)
(ङ) स्थानीय सरकार तथा प्रदेश सरकारलाई विद्यार्थीले लेखेका पत्रहरू हस्तान्तरण । (२०८२ वैशाख २२ गते सोमवार)
च) अधिकारमुखी शिक्षा ऐनको सुनिश्चितता तथा विपदमा शिक्षा विषयसम्बन्धी रेडियो जिङ्गल्स प्रसारण । ( २०८२ वैशाख १५ देखि २२)
छ) विद्यालय भर्ना अभियान कार्यक्रममा रचनात्मक सहभागिता । (२०८२ वैशाख १५ देखि २२)
ज) चित्रकला, सडक नाटक जस्ता कलात्मक तथा रचनात्मक कार्यक्रमहरू । (२०८२ वैशाख १५ देखि २२)



