काठमाडौँ /१४ बैशाख – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्दोलनरत शिक्षक र प्रहरी बिच भएको मुठभेड नियोजित देखिएको बताएका छन् । घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वाहरूको चलखेलले दुःखद अवस्था सिर्जना भएको बताएका हुन् ।
उनले शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्ता समेत सकारात्मक दिशामा अघि बढेका वेलामा आज भएको मुठभेड नियोजित नै देखिएको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्
दुःखद घटना र सजगताको खाँचो
शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वहरूको चलखेलले आज दुःखद अवस्था सिर्जना भएछ । घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना ।
शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्ता समेत सकारात्मक दिशामा अघि बढेका वेलामा आज भएको मुठभेड नियोजित नै देखिन्छ । शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षड्यन्त्रका विरुद्धमा महासङ्घको नेतृत्व थप सचेत हुनु पर्दछ ।
सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुबैको दायित्व हो । वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन । दुबै पक्ष गम्भीर ढंगले बार्तमा बसौं र सहमति गरेर मात्र वार्ताबाट उठौं ।



