शिक्षकलाई स्थानीय पालिकाहरूको ताकेता

काठमाडौं/११ बैशाख – आन्दोलनमा रहेका शिक्षकहरूलाई स्थानीय पालिकाहरूले ताकेता गर्न थालेका छन् । नयाँ शैक्षिक सत्रको भर्ना अभियान र पठनपाठनमा असर पर्न थालेको भन्दै विभिन्न पालिकाहरूले विद्यालय फर्कन भन्दै ताकेता गरेका हुन् ।


अहिले देशै भरका शिक्षकहरू विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छन् । सरकारसँग भएका सहमतिहरू सम्बोधन गरेर यही अधिवेशनमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि आन्दोलनमा उत्रिका छन् ।
शिक्षक आन्दोलन चिलरहेकै अवस्थामा नयाँ शैक्षिक सत्र बैशाख २ गतेदेखि सुरु भएको, नतिजा रोकिएको तथा भर्ना अभियान प्रभावित परेको भन्दै विभिन्न पालिकाहरूले पत्र मार्फत शिक्षकहरूलाई विद्यालय फर्कन र पठनपाठन सञ्चालन गर्न आग्रह गरेका छन् ।


यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपाल अभिभावक महासङ्घ लगायतले शिक्षक आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै शिक्षकका जायज मागहरूको सम्बोधन गर्न सरकारसँग आग्रह छ । साथै विभिन्न संघ संस्थाहरूले आन्दोलनको स्वरूप परिवर्तन गरेर विद्यार्थीको पढाईमा ध्यान दिन नेपाल शिक्षक महासङ्घसँग विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।


नेपाल शिक्षक महासङ्घले विद्यालयमा पठनपाठन नगर्न, एसईईका उत्तरपुस्तिका परीक्षण नगर्न र कक्षा १२ को परीक्षामा सहभागी नहुन सबै शिक्षकहरूलाई आग्रह गर्दै विद्यालय शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने अडान राख्दै आएको छ ।
अहिले विद्यालय शिक्षा विधेयक संसदको शिक्षा समितिमा दफावार छलफलमा रहेको छ भने समितिले संसदमा प्रतिवेदन पेस गर्ने बित्तिकै विधेयकमा छलफल गरिने र विद्यालय शिक्षा ऐन ल्याइने सरकारको भनाई छ ।