शिक्षकहरूका केही माग मन्त्रीपरिषद्बाट सम्बोधन गर्ने मन्त्रालयको तयारी

काठमाडौं/७ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरूका केही मागहरू मन्त्रीपरिषद्बाट सम्बोधन गर्ने तयारी गरेको सचिवालयले जनाएको छ । चैत २० गतेदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले आफूहरूका माग सम्बोधन गरेर शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने भन्दै दबाब दिएपछि मन्त्रीपरिषद्बाट सम्बोधन गर्ने तयारी गरिएको हो ।


यस अघि शिक्षा मन्त्रालयले शिक्षकहरूलाई वार्तामा आउन पटक पटक आग्रह गर्दै आएको थियो । तर शिक्षकहरू अनौपचारिक छलफलमा मन्त्रालयसँग बसेको बसेको र आफूहरूका माग बारे जानकारी दिएको, तत्काल सम्बोधन हुनुपर्ने विषयको अवगत गराइएको जनाउँदै आएको छ । शिक्षकहरूले मन्त्रालयबाट गर्न सकिने निर्णय तत्काल गर्नुपर्ने, मन्त्रीपरिषद्बाट सम्बोधन गर्ने विषयलाई सम्बोधन गर्नु पर्ने अडान राख्दै आएका छन् ।


शिक्षामन्त्री भट्टराईले अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग जोडिएका विषयहरूमा पनि निरन्तर छलफल गरेर सहमति जुटाइ सकिएको उल्लेख गर्दै तत्काल मन्त्रालयले गर्नुपर्ने निर्णयमा माग पुरा गर्न तयार रहेको बताउँदै आएकी छन् । साथै बजेटसँग जोडिएका विषयहरू पनि आगामी बजेटबाट सम्बोधन हुने उनको भनाई छ ।


शिक्षा मन्त्रालयले शिक्षकहरूको स्वास्थ्य उपचारको सन्दर्भमा स्वास्थ्य मन्त्रालयलाई फाइल पठाइ सकिएको र त्यसमा अर्थको सहमति लिएर कार्यान्वयन गर्न तयार रहेको, सामाजिक सुरक्षा कोषमा लैजान सहमत भएको, राहत शिक्षकहरूको सञ्चित विदा कायम गर्ने र विदाको रकम निकासा गरिने, दुर्गम भत्ता उपलब्ध नभएको भए उपलब्ध गराईने, मर्यादाक्रम कायम गर्न र ग्रेड समायोजन गर्न सम्बन्धित मन्त्रालयसँग सहमति भएको, इसिडि शिक्षक र विद्यालय कर्मचारीहरूको न्यूनतम १७ हजार ३०० पारिश्रमिक तोकिएपनि बनाइए पनि कतिपय पालिकाहरूले रकम नदिएको गुनासो आएकोले अर्थ मन्त्रालय, नगरपालिका, गाउँपालिका महासङ्घ र नेपाल शिक्षक महासङ्घसँग बसेर सहमति गराउने लगायतका विषय निर्णय गर्न तयार रहेको जनाएको छ ।


सचिवालयका अनुसार आज मन्त्रीपरिषद्को बैठक बस्ने कुनै एकिन नभएको र भोलिको नियमित बैठकमा मन्त्रालयले निर्णय गर्न सक्ने शिक्षकका मागहरू मन्त्रीपरिषद्बाट सम्बोधन गरेर जाने तयारी भएको र बाँकी मागहरू ऐनबाट सम्बोधन गरिने जनाएको छ ।