काठमाडौं/२ बैशाख – राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकहरूको समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न आग्रह गरेको छ । शिक्षकहरूको आन्दोलन प्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै समस्याको समाधान गर्न आग्रह गरेको हो ।
आज विज्ञप्ति जारी गर्दै विद्यालयका शिक्षक शिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुने उल्लेख गर्दै शिक्षकहरूसँग विगतमा नेपाल सरकारले गरेका सम्झौताहरूको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।
‘शिक्षा ऐनलाई समयानुकूल बनाउन, शिक्षा नीतिलाई उत्पादनशील बनाउन तथा यस सम्बन्धमा विगतमा नेपाल सरकारसँग गरिएको सम्झौता कार्यान्वयनको माग राखी नेपाल शिक्षक महासङ्घद्वारा विगत तेह्र दिनदेखि काठमाडौँमा जारी आन्दोलन तथा यसबाट बालबालिकाको शिक्षाको अधिकारमा पर्न गएको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
साथै आयोगले स्थलगत अनुगमन गरिरहेको र आन्दोलन लम्बिदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको जनाएको छ । आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत तेह्र दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको आयोगको भनाई छ ।
‘विद्यालयका शिक्षक शिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै हुन्छ । तर आफ्ना मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो । विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितमा बाधा उत्पन्न हुने देखिएको छ’ आयोगले भनेको छ ।
यसैगरी शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्ताबाट समाधान गरी पठनपाठन सुचारु गर्न, कानून निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई समयसापेक्ष बनाउन एवम् शिक्षकहरूसँग विगतमा नेपाल सरकारले गरेका सम्झौताहरूको कार्यान्वयन गर्न आयोगको आग्रह छ ।



