काठमाडौं/२५ चैत – सेवा र विकासका लागि युवाको समन्वयमा ओरेगन नेपाली समाजले १९ जिल्लाका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ ।
आइतवार पत्रकार सम्मेलन गर्दै सेवा र विकासका लागि युवा संस्थाले अमेरिकामा रहेको नेपालीहरूको संस्था ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा नेपालको विभिन्न जिल्लाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३३ जना विद्यार्थीहरूलाई प्रति व्यक्ति १ सय अमेरिकी डलर रुपैयाँ आर्थिक सहयोग गर्न गइरहेको सेवा र विकासका लागि युवाका कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिए ।
उक्त संस्थाले स्थानीय सरकारको समन्वय र सिफारिसमा माध्यमिक तहमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका, गरिब, दलित, पिछडिएका वर्ग, असहाय विद्यार्थीहरूलाई जनही १ सय डलर दिने घोषणा गरेको हो ।
ओरेगन नेपाली समाजका सल्लाहकार भरत बाँस्कोटाले विगतका वर्षहरूमा व्यक्तिगत समन्वयको आधारमा उक्त छात्रवृत्ति वितरण गर्दै आएकोमा यस वर्षदेखि भने सेवा र विकासका लागि युवाको समन्वयमा ३३ जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न लागिएको बताए ।
यस वर्षबाट सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रम झापा, मोरङ्ग, धनुषाको जनकपुर, सिन्धुली, चितवन, काठमाडौँ, नवलपरासी, रूपन्देही, तनहुँ, गोरखा, रसुवा, नुवाकोट, कास्की, दङ्ग, बाँके, सुर्खेत, कास्की, कैलाली र कञ्चनपुर गरि १९ जिल्लाका २७ वटा सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त छात्रवृत्ति वितरण गर्ने आयोजकले जनाएको छ ।
स्थानीय तह र विद्यालयहरूको समन्वयमा विद्यार्थीहरू छनौट गरि सकेको र यही नयाँ भर्ना वर्ष २०८२ बाटै सबै विद्यालयमा विद्यार्थीले पाउने वापतको छात्रवृत्ति रकम पठाउने प्रबन्ध मिलाइएको कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिए ।



