विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकका माग पुरा गर्नुपर्छ : प्रचण्ड

काठमाडौ/२४ चैत-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकका माग पुरा गर्नुपर्नेमा जोड् दिएका छन् । आफ्नो माग पूरा नभएसम्म सडक नछाड्न शिक्षकहरूलाई सुझाव दिँदै जरुरी पर्यो भने विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकको माग पुरा गर्ने कुरामा आफूहरू अगाडी बढ्ने बताएका हुन् ।


आज (आइतवार) नेवाः मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरूको माग सम्बोधन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सुरूवाती दिनदेखि नै उल्टो बाटोमा हिँडिरहेको उल्लेख गर्दै अधिवेशन धकेलेर अध्यादेश ल्याउने अनौठोतान्त्रिक निरङ्कुश काम गरेको अहिले हतार हतार सदन अन्त्य गरेका आरोप लगाए ।


सदन सुरु हुनेभन्दा ६ दिन पहिला अध्यादेश ल्याएको र शिक्षकहरू सडकमा आउने तयारी थाहा पाएपछि सदन बन्द गरेको उनको भनाई थियो । उनले भने ‘सहमति अनुसार ऐन समितिमा छलफल छ र उपसमितिसम्म पुगेको छ । म यो सरकारलाई के भन्न चाहन्छु भने छिटो भन्दा छिटो संसदको अधिवेशन बोलाएर विधेयकहरू प्रक्रियामा लाग्नु पथ्र्यो, छ दिन अगाडी ६ वटा अध्यादेश ल्याउँछ, पुरै उल्टो, अधिवेशन बोलाउनु पर्दैन अधिवेशन धकेलेर अध्यादेश ल्याउने अनौठातान्त्रिक निरङ्कुश काम गरेको अहिले हतार हतार सदन अन्त्य गर्न परेकै थिएन ।’


उनले शिक्षकको विधेयक माथि छलफल गरिदिएर तुरुन्तै छोटो बाटो गरेर त्यसलाई पारित गरेर शिक्षकको माग पुरा गर्न सकिनेमा त्यसो नगरी हतार हतार सदन अन्त्य गरेका कारण शिक्षकहरूलाई सडकमा आउन बाध्य पारेको बताए ।


‘म शिक्षक साथीहरूलाई बधाई भन्न चाहन्छु तपाईहरूलाई हामी छोड्दैनौ भन्नु भएको छ म तपाईहरूलाई भन्न चाहन्छु जबसम्म तपाईहरूको माग पुरा हुँदैन तपाईहरू नचुक्नुहोस्, प्रतिपक्षको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्यो भने विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकको माग पुरा गर्ने कुरामा हामी अगाडी बढ्छौ । म प्रतिपक्षसँग आग्रह गर्छु र छलफल गर्ने मेरो विचार छ । शिक्षकहरूलाई यति धेरै सताउने काम सरकारले नगरोस यसको परिणाम धेरै ठुलो हुन सक्छ’ उनले भने ।