मोरङ/१९ चैत – पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको प्रडु युनिभर्सिटी नर्थवेष्ट, इन्डियानाबिच शिक्षण विधि, अनुसन्धानात्मक तथा प्रशासनिक सहकार्य गर्ने भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया र प्रडु युनिभर्सिटी नर्थवेष्टका इन्टरनेशनल प्रोग्राम एण्ड पार्टनरशिप्स डाइरेक्टर डा.रमेश न्यौपानेले समझदारी पत्रमा हस्ताक्षर गर्दै यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
समझदारी पत्रमा दुवै विश्वविद्यालयका फ्याकल्टी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको आदानप्रदान गर्ने, अनुसन्धान, आविष्कार, सिकाइ तथा शिक्षण विधिहरूमा सहकार्य गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने, प्रशासनिक व्यवस्थापनमा सहयोग गर्ने तथा अङ्ग्रेजी भाषा सिकाइ प्रवर्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ । साथै, विश्वविद्यालयको आवश्यकताअनुसार अनुसन्धानमुखी कार्यहरूमा पनि सहकार्य हुने जनाइएको छ ।
प्रडु युनिभर्सिटी नर्थवेष्टका डाइरेक्टर डा रमेश न्यौपानेले समझदारीमा उल्लिखित विषयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपाल र अमेरिकाबिच शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने योजना रहेको बताए । उनले, आगामी दिनमा ३ वर्ष नेपालमा र २ वर्ष अमेरिकामा अध्ययन गरी ५ वर्षमा अमेरिकी स्नातक तथा स्नातकोत्तर डिग्री प्राप्त गर्न सकिने कार्यक्रम ल्याइने जानकारी दिए । त्यस्तै, १ वर्ष नेपाल र १ वर्ष अमेरिकामा अध्ययन गरी २ वर्षीय स्नातकोत्तर (मास्टर) डिग्री हासिल गर्न सकिने योजनासमेत अघि सारिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. थपलियाले दुवै विश्वविद्यालयका पाठ्यक्रमहरू अध्ययन गरी क्रेडिट ट्रान्सफरको व्यवस्था मिलाइने जानकारी दिए । समझदारी पत्र अनुसार अमेरिकी विद्यार्थी, फ्याकल्टी तथा कर्मचारी नेपाल आएर छोटो अवधिको अध्ययन, तालिम तथा अनुसन्धान गर्न सक्नेछन् भने नेपाली विद्यार्थीहरूले अमेरिका गएर सोहीअनुसारको अध्ययन अवसर प्राप्त गर्ने थपलियाले बताए ।
हिलसाईड कलेज अफ इन्जिनियरिङका प्रबन्ध सञ्चालक गोपीकृष्ण न्यौपानेले यस समझदारी पत्रलाई मूर्तरूप दिन दुई विश्वविद्यालयबिचको सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।



